आज वि.सं. २०८२ वैशाख २९ गते सोमवार तदनुसार ई. सं. २०२५ मई १२ तारिख, सिद्धार्थ नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु, कलिगत ५१२६, शाके १९४७, नेपाल सं. ११४५, किरातवर्ष ५०८४, मञ्जुश्री वर्ष २८६१, हिजरी सं. १४४६, चन्द्रोदय : साँझ ०६:१० बजे र चन्द्रास्त : पूर्णिमा भएकाले रातभरि चन्द्रास्त हुँदैन, सूर्योदय : बिहान ०५:१९ बजे र सूर्यास्त : साँझ ०६:४३ बजे, वैशाख शुक्लपक्ष (वछलाथ्व) पूर्णिमा तिथि, बेलुका ०९:३५ बजेसम्म, त्यसपछि प्रतिपदा तिथि, स्वाती नक्षत्र, बिहान ०६:०१ बजेसम्म, त्यसपछि विशाखा नक्षत्र, चन्द्रमा तुला राशिमा, मध्यरात्रीपछि ०१:५८ बजेसम्म, त्यसपछि बृश्चिक राशिमा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
पुराना साथीभाइसँग भेटघाटको कार्यक्रम बन्नसक्छ । निजी वा आन्तरिक सम्बन्धलाई उजागर गरी सार्वजनिक तुल्याउने यो सही समय हो । आज घरपरिवारका भावना र इच्छाहरूको ख्याल राख्नु ठीक हुन्छ । पदप्रतिष्ठामा अभिबृद्धि हुनेछ, सबैले सम्मान गर्नेछन्, समयमै कार्य सम्पन्न हुनाले मन हलुका र आनन्दित बन्नेछ, पारिवारिक सुखको योग बनेको छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
फाइदा हुने र लाभमूलक क्षेत्रमा मनको आकर्षण रहनेछ । शरीर स्वस्थ रहनुका साथै गरेको कर्मफलका रूपमा धनको वर्षा नै हुने सङ्केत देखिन्छ । स्वास्थ्यक्षेत्र, काठपात, ढुंगागिट्टी, मिलमेसिनरी र ढुवानीसम्बद्ध कारोबारीले आयस्रोत बढाउन सक्नुहुन्छ, तर कार्यक्षेत्रमा विभिन्न चुनौती र सङ्घर्ष झेल्दै काम गर्नुपर्ने हुन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
पढाइप्रति दिलचस्पी जाग्नेछ, रचनात्मक समय हो, विज्ञानप्रविधिको कुनै क्षेत्रमा वा अनुसन्धान गर्ने छात्रछात्राहरूले केही गर्नसक्ने राम्रो समय छ । अनुभव वा ज्ञानको कमीलाई हटाउन सकिने छ, आर्थिक शुभताको विशेष समाचार प्राप्त हुनेछ । केही समय घरपरिवार र सन्ततिको जिम्मेबारीमा बित्नसक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
विश्वासको सङ्कट देखापर्न सक्छ, ससाना कुरामा विवाद हुने भय छ । एकआपसमा कुनै पनि कुरा नलुकाउनु होला । कार्यक्षेत्रमा सन्तोषजनक परिस्थिति नै देखिन्छ, तर घरपरिवारमा कुनै स्वास्थ्यगत समस्या देखा पर्नसक्छ, सम्पर्क राखी खैखबर बटुल्नु ठीक हुन्छ । व्यवहारिक कारणले कारोबारमा बाधा हुनसक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
दाम्पत्य जीवनमा नयाँ आयाम थपिने छ, पुराना साथीभाइ र सहयोगीहरूसँग अप्रत्यासित भेटघाट हुनसक्छ । बहुप्रतीक्षित अभिलाषाको पूर्ति हुने समय छ । अरुका समस्यामा दौडधूप गर्नुपर्ने समय छ, यसरी सहयोग गर्ने हुँदा अध्ययनमा बाधा पुग्नसक्छ, तर पनि सन्तुष्टि प्राप्त हुने दिन हो । पेसा वा कार्यक्षेत्रप्रतिको व्यवहारिक दृष्टिकोणले तपाईलाई आर्थिक रूपमा समृद्ध बन्न मद्दत गर्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
बोलीमा विशेष बल छ, मौखिक अभिव्यक्ति वा कलाको क्षेत्रमा अझ सफल भइने छ । सानो प्रयासले भाग्य र भविष्य सपार्न सकिन्छ । मानसम्मान, इज्जत र प्रतिष्ठा बढ्ने दिन हो, तर पनि भौतिक सुख र आनन्दको चिन्ताले सताउन सक्छ । हाँके÷ताकेको उपलब्धि प्राप्त हुने, तर महत्त्वाकाङ्क्षा बढिरहने परिस्थिति रहेको छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
शीघ्र धनार्जन गर्ने उपाय अवलम्बन गर्दा विचार पुर्याउनु राम्रो हुन्छ । प्रत्यक्ष अनुभूतिमा आधारित कुरामा मात्र विश्वास गर्नुपर्ने दिन हो । कार्यस्थल र घरपरिवारमा खुसी र उमङ्गको वातारवरण रहेको छ । आर्थिक मन्दी चल्दैछ भने नयाँ रणनीति कार्यान्वयन गर्नुहोस्, सफलता पाउन सक्नुहुन्छ । नयाँ ठाउँमा घुम्न जाने वा कुनै नयाँ काम प्रारम्भ गर्ने समय छ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
बजेटलाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्छ, कुनै योजनामा लगानी गर्ने मनस्थितिमा हुनुहुन्छ भने त्यसका सबल र दुर्बल पक्षमा पनि चिन्तन गर्नुहोला, नसोचिकन काम गरेमा षड्यन्त्रको खाडलमा पनि पर्न सकिन्छ । चुनौती र जोखिम झेल्ने समय भएकाले टार्न सकिने ठाउँ छ भने काम स्थगित गरी दिमागी उलझन घटाउनु तथा विश्राम लिनु जाती हुन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पदोन्नति हुने वा विशेष जिम्मेवारी पाउन सकिने समय हो, कामविशेषले कतै काजमा जाने वा देश÷विदेशको यात्रामा निस्कने संयोग जुरेको छ । लाभमूलक काममा दौडधूप गर्नुपर्दा आपसी समन्वयमा कमजोरी देखा पर्नेछ, तर अनुराग र वाक्पटुताद्वारा परिस्थिति सहज बनाउन सकिने छ । विशिष्ट व्यक्तिको सामीप्य पाउन सकिने छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
लेखन÷प्रकाशनको काम, परामर्श सेवा, लेखा सेवा, कन्सल्टेन्सी, वकालत, शेयर मार्केट, कम्प्यूटरसम्बद्ध काम वा वाणीप्रधान कामबाट फाइदा लिने दिन हो । कामको चटारो परेको समय छ, ससाना कुरामा पनि आफै नखटी पार लाग्दैन, आत्मसम्मान झल्कने दिन हो, नेतृत्व र निर्णय फलदायी हुनेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
धार्मिक÷सामाजिक काममा समय दिनुपर्दा बाहिर अलमलिने दिन हो, तर पनि आफ्नो कामप्रतिको लगनशीलताका कारण कारोबारमा कुनै प्रभाव पर्नेछैन । धार्मिक÷सामाजिक काममा खट्नुपर्दा घरायसी कामको बोझ बढ्ने दिन हो, तर पनि सबैको प्रशंसा बटुल्न पाउँदा आनन्दित र सन्तुष्ट बन्ने समय छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सहकर्मीहरूसँग समन्वय गरी अघि बढ्ने समय हो, याद राख्नुपर्छ, आज दबाब वा करकापमा गरेको कामले भविष्यमा धोका हुनसक्छ । मनमा चिन्ता र निराशा बढ्ने दिन हो, त्यस्ता चालचलन र व्यवहारप्रति आफूलाई सजग राख्नुपर्छ, जसले लवमेटको गुनासो बढ्ने गर्दछ ।