असार २, रौतहट । रौतहटको गरुडामा मंगलबार अपरान्ह टिपर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय गरुडाका अनुसार आज (असार २ गते) अपरान्ह अन्दाजी ४ः४५ बजेको समयमा गरुडा नगरपालिका वडा नं. ४ स्थित गरुडाबाट चिनी मिलतर्फ जाने भित्री सडक खण्डमा दुर्घटना भएको हो । गरुडाबाट जाँदै गरेको ना २८ प ७२५९ नम्बरको मोटरसाइकल र म.प्र.०३–००१ क २५१६ नम्बरको टिपर एक आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार रौतहटको कटहरिया नगरपालिका वडा नं. ६ फतेपुर बस्ने २० वर्षीय शेख सोहेल गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि बेटर नेपाल हस्पिटल गरुडा पठाइए पनि चिकित्सकले बेलुकी ५ः०० बजे मृत घोषणा गरेका थिए । मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ ।
यस्तै, दुर्घटनामा परि मोटरसाइकल चालक गरुडा नगरपालिका वडा नं. ८ जिगडंिया बस्ने २२ वर्षीय शेख आशिक मध्यम घाइते भएका छन् । उनको दायाँ कुम र हातमा चोट लागेको छ । मोटरसाइकलमै पछाडि सवार सोही स्थानका ३ वर्षीय बालक मो. कमरानको टाउकोमा सामान्य चोट लागेको छ । घाइते दुवैको बेटर नेपाल हस्पिटल गरुडामा उपचार भइरहेको छ ।
घटनास्थल इलाका प्रहरी कार्यालय गरुडाबाट करिब २ किलोमिटर दक्षिण पर्दछ । घटना लगत्तै प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
प्रहरीले दुर्घटनामा संलग्न टिपर, मोटरसाइकल र टिपर चालक रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ५ बस्ने ४३ वर्षीय धर्मलाल चौधरीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।