विश्व बालश्रम विरुद्धको दिवस !
यसको बिरुद्वमा लाग्न शुभकामना यहाँहरु सवैमा !
हरेक वर्ष जुन १२ मा मनाइने विश्व बालश्रम विरुद्धको दिवस बालबालिकाको अधिकार, शिक्षा, स्वास्थ्य र उज्ज्वल भविष्यको पक्षमा विश्वव्यापी सचेतना फैलाउने दिन हो आज । यो दिवस सन् २००२ देखि International Labour Organization द्वारा मनाउन थालिएको हो ।

बालश्रम गरिबी, अशिक्षा, बेरोजगारी, सामाजिक असमानता र कमजोर कानुनी कार्यान्वयनको परिणाम हो । आज पनि विश्वभर लाखौं बालबालिका विद्यालयको कक्षाकोठामा होइन, खेतबारी, कारखाना, होटल, घरेलु श्रम तथा जोखिमपूर्ण काममा संलग्न हुन बाध्य छन् । विश्वस्तरमा करोडौं बालबालिका श्रममा संलग्न रहेको तथ्यांकले मानव सभ्यतामाथि गम्भीर प्रश्न खडा गरेको छ । यसवारेमा गम्भीर तरिकाले सरोकारवालाको ध्यान जान जरुरी छ ।
विशेषगरि दक्षिण एधिया र नेपालजस्ता विकासोन्मुख देशहरूमा बालश्रम अझै चुनौतीको विषय बनेको छ । आर्थिक अभाव, परिवारको कमजोर अवस्था, ग्रामीण क्षेत्रको पछौटेपन र अवसरको कमीका कारण धेरै बालबालिका शिक्षा छाडेर श्रम बजारमा प्रवेश गर्न बाध्य हुन्छन् । यसले उनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकासमा नकारात्मक असर पार्छ । बालश्रमले बालबालिकाको वर्तमान मात्र होइन, राष्ट्रको भविष्य पनि कमजोर बनाउँछ ।
बालश्रम अन्त्य गर्नु सरकारको मात्र दायित्व होइन । परिवार, विद्यालय, सञ्चारमाध्यम, निजी क्षेत्र र सम्पूर्ण समाजको साझा जिम्मेवारी हो । प्रत्येक बालबालिकाले शिक्षा, सुरक्षा, खेलकुद र सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सके मात्र समुन्नत र सभ्य समाज निर्माण सम्भव हुन्छ ।
“बालश्रम होइन, बालअधिकार सुनिश्चित गरौं । शिक्षा, अवसर र संरक्षणमार्फत प्रत्येक बालबालिकाको सुनौलो भविष्य निर्माण गरौं ।” भन्ने नारालाइ आत्मसाथ गरौं ।