जेठ २७, काठमाडौं । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसदमा संसदको नियमावली पालना नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सभामुख अर्याललाई बोल्न पाउने अधिकारलाई सुनिश्चित गर्न आग्रह गर्दै नियमावली अनुसार चल्न आग्रह गरे । उनले प्रधानमन्त्रीलाई रुलिङ गरेर संसदमा ल्याउन आग्रह गर्दै सभामुख अर्याललाई सिमानाको विषय गम्भीर भएको बताए । उनले प्रधानमन्त्रीले संसदमा आएर आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने माग दोहोराएका छन् । सीमा भन्दा ठुलो विषय बजेट नहुने भन्दै भूगोलको विषयमा सत्ता पक्ष र प्रतिपक्ष एक हुनुपर्ने बताए । यसअघि संसदमा बोल्न नदिएको भन्दै श्रम संस्कृति पार्टीले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए । विपक्षी दलका काँग्रेस, एमाले, नेकपा र राप्रपालाई बोल्न दिए पनि सभामुखले श्रम संस्कृतिलाई बोल्न समय दिएका थिएनन् । श्रम संस्कृति पार्टीको लगातार नाराबाजी गरेपछि सभामुखले श्रम संस्कृति पार्टीलाई बोल्न समय दिएका थिए ।
२- नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रधानमन्त्रीले सीमा बारे दिएको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीले दिएको स्पष्टीकरण अस्वीकार गरेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले नेता बादलले सीमा बारेमा प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म आफुहरुको विरोध जारी राख्ने बताउदै अन्य सबै सांसदहरुलाई पनि विरोध जारी राख्न आग्रह गरेका छन् । उनले यस समस्याको समाधान रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टीका प्रधानमन्त्रीलाई अभिव्यक्ति सच्याउन निर्देशन दिनुपर्ने समेत बताएका छन् । उनले देशको स्वाधिनता प्रमुख विषय भएको भन्दै यो विषय समाधान नभएसम्म अन्य विषयमा प्रवेश गर्न नसक्ने आफुहरुको स्पष्ट धारणा रहेको बताए । प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले नेता बादलले प्रधानमन्त्रीले संसदमा सीमा बारे दिएको अभिव्यक्ति र रास्वपा सभापति रवि लामिछानेले भारतमा दिएको ‘विगतका ब्यागेज बोगेर अगाडी बढ्न चाहदैनौं’ भन्ने अभिव्यक्तिबाट समस्या शुरु भएको बताउदै अहिलेको संकटको समाधान प्रधानमन्त्री, रास्वपा सभापति र सभामुखसँग रहेको बताए ।
३- नेपाली काँग्रेसका संसदीय दलका नेता भिष्मराज आङदेम्बे आफुहरुले अब संसदमा प्रधानमन्त्रीलाई नखोज्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै आङदेम्बेले प्रधानमन्त्रीलाई संसद नचाहिएपनि प्रतिपक्षलाई संसद चाहिने भन्दै अब आफुले संसदमा प्रधानमन्त्री नखोज्ने बताएका हुन् । उनले भने- ‘म प्रधानमन्त्रीलाई संसदमा अब खोज्दिन, प्रधानमन्त्री कुनै दिन छापामार शैलीमा आएर उदण्डता मच्याईदिनु होला भन्ने डर छ ।’ उनले प्रधानमन्त्रीले संसदमा नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिएकै हो भन्दै यसमा जति रफ्फु लगाएपनि सत्य यहि भएको बताए । उनले प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिदा पनि सत्ता पक्षका सांसदले टेबुल ठोकेर समर्थन गरेको उल्लेख गर्दै त्यो घटना आफ्नो जीवनकै पीडादायक क्षण भएको बताएका थिए ।
४- प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको सीमा बारेको अभिव्यक्ति बारे परराष्ट्रमन्त्री शिशिर खनालले स्पष्टीकरण दिएका छन् । प्रतिनिधि सभामा स्पष्टीकरण दिदै मन्त्री खनालले प्रधानमन्त्रीले बोलेको विषय क्रस बोर्डर र दश गाजा अतिक्रमणसँग सम्बन्धित रेहेको बताएका छन् । उनलेले नेपालले भारतको सीमा मिचेको आशयमा अभिव्यक्ति नदिएको स्पष्ट गरेका छन् । उनले नेपालले लिपुलेकको विषयमा भारतलाई पठाएको कुटनीतिक नोटका विषयमा भारतले पनि कुटनीतिक नोटमार्फत नै जवाफ दिएको बताउदै कुटनीतिक माध्यमबाट नै समाधान गर्न दुवै देश प्रतिबद्ध रहेको बताए । मन्त्री खनालले प्रधानमन्त्रीले बेलायतको प्रसंग उल्लेख गरेको विषय मध्यस्थताका लागि नभएर सुगौली सन्धि लगायतका विषयमा रेफेरेन्स आवश्यक परेमा बेलायतसँग रहेका ऐतिहासिक दस्ताबेज लिन सकिने प्रसंगमा उल्लेख गरेको उल्लेख गरेका छन् । उनले सरकारले नेपाल र भारतको सीमा विवादमा बेलायत या कुनै तेस्रो मुलुकलाई मध्यस्थता आफुहरुले नचाहेको स्पष्ट गरेका छन् ।
५- भारतको अफगानिस्तानविरुद्ध हुने एकदिवसीय सिरिज सुरु हुनुअघि भारतीय टोलीलाई ठूलो झट्का लागेको छ । टोलीका प्रमुख अलराउन्डर हार्दिक पाण्ड्या ताजा चोटका कारण तीन खेलको सम्पूर्ण सिरिजबाट बाहिरिएका छन् । यसअघि विराट कोहली पनि अफगानिस्तान सिरिजबाट बाहिरिएका थिए । भारतीय क्रिकेट नियन्त्रण बोर्डको उत्कृष्टता केन्द्रमा गरिएको फिटनेस परीक्षणका क्रममा पाण्ड्याको तिघ्राको मांसपेशीमा चोट रहेको जनाइएको छ । उनी यसअघि इन्डियन प्रिमियर लिगका क्रममा लागेको ढाडको समस्याबाट निको हुने प्रक्रियामा रहेका थिए । भारतीय सञ्चारमाध्यमहरूका अनुसार फिटनेस परीक्षणका क्रममा पाण्ड्याले पूरा १० ओभर बलिङ गरेका थिए । सोही क्रममा उनको तिघ्राको मांसपेशीमा समस्या देखिएको बताइएको छ । चिकित्सकीय टोलीले उनको पूर्ण रूपमा निको हुन कम्तीमा तीन साताको पुनर्स्थापना प्रक्रिया आवश्यक पर्ने जनाएको छ । भारत र अफगानिस्तानबीचको तीन खेलको एकदिवसीय सिरिज जुन १४ देखि धर्मशालामा सुरु हुनेछ । दोस्रो खेल जुन १७ मा लखनउमा तथा तेस्रो खेल जुन २० मा चेन्नईमा खेलाइने तालिका छ । पाण्ड्याको अनुपस्थितिले भारतीय टोलीको सन्तुलनमा असर पर्ने अनुमान गरिएको छ । उनी ब्याटिङ र बलिङ दुवै विभागमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । हालै उनलाई भारतीय टी- २० टोलीबाट विश्राम दिइएको थियो ताकि उनी एकदिवसीय क्रिकेटमा केन्द्रित हुन सकून् । भारतीय टोली व्यवस्थापन र छनोट समितिले सन् २०२७ को एकदिवसीय विश्वकपलाई लक्ष्य बनाएर योजना बनाइरहेको छ र पाण्ड्यालाई त्यस योजनाको महत्वपूर्ण सदस्यका रूपमा हेरिएको छ । अफगानिस्तानविरुद्धको सिरिजपछि अर्को महिना इङ्ग्ल्यान्डविरुद्ध पनि तीन खेलको एकदिवसीय सिरिज खेलिने छ । भारतीय टोली र बोर्डले पाण्ड्या समयमै फिट भएर मैदानमा फर्किने अपेक्षा गरेका छन् ।
६- फिलिपिन्समा आएको विनाशकारी भूकम्पपछि उद्धार तथा राहत कार्य तीव्र रूपमा जारी रहेको छ । तर लगातार आइरहेका परकम्पका कारण उद्धार कार्यमा ठूलो कठिनाइ भइरहेको छ । फिलिपिन्स ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानका अनुसार भूकम्पपछि हालसम्म २१ सय भन्दा बढी परकम्प मापन गरिएका छन् । तीमध्ये केहीको तीव्रता ६.४ सम्म पुगेको बताइएको छ । निरन्तर आइरहेका परकम्पका कारण थप क्षति र जोखिम बढ्दै गएको अधिकारीहरूले जनाएका छन् । ताजा विवरण अनुसार भूकम्पमा परी कम्तीमा ४५ जनाको ज्यान गएको छ भने करिब ६३० जना घाइते भएका छन् । अझै १७ जना बेपत्ता रहेको र उनीहरूको खोजी कार्य जारी रहेको छ । भूकम्पको सबैभन्दा बढी प्रभाव जनरल सान्तोस सहर र आसपासका सराङ्गानी, दक्षिण कोटाबातो र दाभाओ अक्सिडेन्टल क्षेत्रमा परेको बताइएको छ । आज आंशिक रूपमा भत्किएको एक किराना भवनमा खोजी कार्यका क्रममा शक्तिशाली परकम्प आएको थियो । त्यसपछि उद्धारकर्मीहरू तुरुन्तै बाहिर निस्कन बाध्य भएका थिए । अधिकारीहरूका अनुसार भवनलाई सुरक्षित नगरी उद्धार कार्य पुनः सुरु गर्न नसकिने अवस्था छ । लगभग २५ हजार मानिस अहिले पनि विस्थापित भएर सरकारी राहत शिविरमा बसिरहेका छन् । धेरै मानिस मानसिक आघातका कारण घर फर्किन डराइरहेका छन् । सरकारी विवरण अनुसार भूकम्पले तीन हजार एक सयभन्दा बढी घर, २९ सडक, ११ पुल र सयभन्दा बढी सरकारी भवनमा क्षति पुर्याएको छ । जनरल सान्तोसको अन्तर्राष्ट्रिय विमानस्थल पनि क्षतिग्रस्त भएको छ र अनिश्चितकालका लागि बन्द गरिएको छ । तर राहत सामग्री र सरकारी उडानहरूलाई भने अनुमति दिइएको छ । यसैबीच, भूकम्पपछि समुद्री क्षेत्रमा पनि जोखिम देखिएको थियो । उठेका ठूलो छालका कारण केही मानिस बगाएको र केही अझै बेपत्ता रहेको बताइएको छ । तटरक्षक बलले केहीको उद्धार गरेको छ भने बाँकीको खोजी जारी छ । विशेषज्ञहरूका अनुसार यो भूकम्प कोटाबातो ट्रेन्च क्षेत्रमा भएको भूगर्भीय गतिविधिका कारण आएको हो र यो पछिल्ला दशकहरूमा फिलिपिन्समा आएका सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक मानिएको छ ।
७- नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज बुधबार नेप्से २.५७ अंकले बढेर २७३६.१७ विन्दुमा पुगेर रोकिएको छ । आज ३५६ कम्पनिका ९२ लाख ८३ हजार ३२६ कित्ता शेयर ४ अर्ब २९ करोड ७४ लाख ६४ हजार ३२७ मा कारोबार भएको थियो । आज लगानी, जीवन बीमा, माइक्रो फाइनान्स, निर्जीव बीमा, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी कालिन्चोक हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ भने सोपान फार्मा र अपोलो हाइड्रोको शेयर १४.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी प्रभु बैंक डिभेन्चरको ८.७१ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको २८ करोड बराबरको कारोबार भएको छ भने सप्तकोशी विकास बैंकको २० करोड २७ लाख बराबरको कारोबार भएको छ ।
८- मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल विकास समितिले एमसीसीअन्तर्गतको रातमाटे सबस्टेशन, नयाँ दमौली सबस्टेशन तथा २९७ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माण कार्य औपचारिक रूपमा शुभारम्भ भएको छ । अमेरिकाबाट प्राप्त ५५ करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९.७० करोड अमेरिकी डलर लगानीमा यो परियोजना अघि बढाइएको हो । यसले उच्चस्तरीय विद्युत् प्रसारण पूर्वाधार निर्माण गर्दै देशको ऊर्जा प्रणालीलाई सुदृढ बनाउने लक्ष्य राखिएको छ । यो परियोजनाअन्तर्गत तीन वटा ४०० केभी क्षमताका सबस्टेशन र करिब ३१५ किलोमिटर प्रसारण लाइन निर्माण हुनेछन् । यसले राष्ट्रिय विद्युत् प्रसारण सञ्जाललाई बलियो बनाउने, लाइन अवरोध घटाउने र घरायसी तथा औद्योगिक विद्युत् आपूर्तिलाई अझ भरपर्दो बनाउने अपेक्षा गरिएको छ । यसैगरी, यो पूर्वाधारले नेपाललाई क्षेत्रीय विद्युत् बजारमा सक्रिय रूपमा सहभागी हुन सहयोग गर्ने पनि बताइएको छ । आज सुरु गरिएको २९७ किलोमिटर प्रसारण लाइन अन्तर्गत लप्सीफेदी–रातमाटे–नयाँ हेटौंडा, रातमाटे–नयाँ दमौली र नयाँ दमौली–नयाँ बुटवल खण्ड समावेश छन् । नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले यस परियोजनाले नेपालमा भरपर्दो बिजुली आपूर्ति सुनिश्चित गर्ने र उद्योग तथा कृषि क्षेत्रमा उत्पादन वृद्धि गर्न सहयोग गर्ने बताए । एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन फ्रान्सिस्कोले यसले नेपालको ऊर्जा क्षेत्रलाई दीर्घकालीन रूपमा सुदृढ बनाउने धारणा राखेका थिए । नेपाल विद्युत् प्राधिकरणका कार्यवाहक कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले यो आयोजना राष्ट्रिय प्रसारण सञ्जाल विस्तारको महत्वपूर्ण हिस्सा भएको बताए । एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले यो परियोजना नेपालको ऊर्जा पूर्वाधार विकासमा कोशेढुंगा सावित हुने उल्लेख गरे । निर्माण कार्य चार वटा निर्माण कम्पनीमार्फत अघि बढाइनेछ । परियोजना सम्पन्न भएपछि यी सबस्टेशनहरू देशकै उच्च क्षमताका सबस्टेशनमध्ये पर्नेछन् । यसले दीर्घकालीन ऊर्जा माग पूरा गर्न र आर्थिक वृद्धिलाई गति दिन महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ ।
९- झुट्टा विवरण पेस गरी नागरिकता बनाएको आरोपमा दाङको राजपुर गाउँपालिका–४ का वडाध्यक्षसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही वडाका वडाध्यक्ष रामेश्वर यादव (रामेश्वर अहिर), वडा सचिव राजेश कुमार कहार, तत्कालीन कार्यालय सहायक मीना चौधरी र राजपुर गाउँपालिका–४ का आलम जोल्हा रहेका छन् । प्रारम्भिक अनुसन्धानका क्रममा नागरिकता प्राप्त गर्न अयोग्य गैरनेपाली नागरिक आलम जोल्हालाई स्वर्गीय सनाउल्ला जोल्हाको छोरा देखाई गैरकानुनी रूपमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउने प्रक्रियामा संलग्न रहेको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१०- दक्षिण अफ्रिकामा फेरि एकपटक सामूहिक गोलीकाण्डको घटना भएको छ । गौतेङ प्रान्तस्थित जोहानेसबर्गको पूर्वी क्षेत्रमा रहेको क्लिभल्यान्ड इलाकाको जम्पर्स अनौपचारिक बस्तीमा अज्ञात आक्रमणकारीहरूले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । प्रहरीका अनुसार आक्रमणकारीहरू सेतो रङको टोयोटा क्वान्टम सवारीमा घटनास्थल पुगेका थिए। उनीहरू बस्तीमा दुई फरक मार्गबाट प्रवेश गरी विभिन्न स्थानमा गोली प्रहार गरेका थिए। गोलीबारीपछि उनीहरू सोही सवारी प्रयोग गरी फरार भएका थिए । अधिकारीहरूले घटनामा १० जनाभन्दा बढी व्यक्ति संलग्न रहेको आशंका गरेका छन्। घटनापछि प्रहरीले व्यापक खोजी अभियान सुरु गरेको भए पनि हालसम्म कसैलाई पक्राउ गर्न सकेको छैन । प्रहरीले घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ। आक्रमणको उद्देश्यबारे भने अहिलेसम्म कुनै आधिकारिक पुष्टि भएको छैन । दक्षिण अफ्रिका लामो समयदेखि हिंसात्मक अपराधको समस्यासँग जुधिरहेको छ। त्यहाँ औसतमा दैनिक करिब ६० वटा हत्याका घटना दर्ता हुने गरेका छन्। यस्तो अवस्थामा भएको पछिल्लो सामूहिक गोलीकाण्डले देशको सुरक्षा अवस्थामाथि थप चिन्ता बढाएको छ।
११- नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि उठेका आरोपबारे संसदीय छानबिन हुनुपर्ने बताएकी छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै झाँक्रीले अर्थमन्त्री वाग्ले विगतदेखि नै राज्यका महत्वपूर्ण निकायमा रहेर काम गरेको व्यक्ति भएकाले वर्तमान विवादमा उनको भूमिकाबारे निष्पक्ष छानबिन आवश्यक रहेको उल्लेख गरेकी छन् । उनले राष्ट्रिय योजना आयोगको सदस्य तथा उपाध्यक्षका रूपमा काम गरिसकेका वाग्ले राज्य प्रणालीभित्रका गतिविधिबारे जानकार रहेको भन्दै विगतमा विपक्षमा रहँदा बजेट र आर्थिक अनियमितताका विषयमा उनले उठाएका प्रश्नहरू स्मरण गर्न आग्रह गरेकी छन् । उनले अर्थमन्त्रीमाथि प्रश्न र आरोप उठिसकेको अवस्थामा सम्बन्धित व्यक्तिले आफैं छानबिन गराउने नभई संसद् वा संसद्ले गठन गरेको समितिमार्फत स्वतन्त्र र निष्पक्ष अनुसन्धान हुनुपर्ने धारणा व्यक्त गरेकी छन् । उनले भनेकी छन्- ‘तपाईंमाथि आरोप लागेको छ, तपाईंमाथि नै प्रश्न उठेको छ। त्यसैले तपाईंमाथि छानबिन हुनुपर्छ। तर त्यो छानबिन तपाईंले गराउने होइन, संसद् वा संसद्ले बनाएको समितिले गर्नुपर्छ ।’ झाँक्रीले अरू व्यक्तिले गरेको आर्थिक अनियमितता वा संगठित अपराधलाई गम्भीर रूपमा हेरिने तर अर्थमन्त्रीकै हैसियतमा भएका भनिएका गतिविधिलाई ‘नयाँ अभ्यास’ वा ‘यस्तै हुँदै आएको हो’ भन्दै बेवास्ता गर्न नमिल्ने बताएकी छन् ।
१२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशन स्थगित भएको छ । मंगलबार हेटौडामा उद्घाटन सत्र भएको अधिवेशनमा आज मतदान शुरु भएपछि विवाद हुदा अधिवेशन स्थगित भएको हो । निर्वाचन मण्डलले अनियमितता गरेको आरोप लगाउदै विरोध शुरु भएपछि अधिवेशन स्थगित भएको बताइएको छ । केन्द्रीय निर्वाचन आयोगले मतपत्रमा देखिएका केही त्रुटि सच्याउन र मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्न प्रक्रिया स्थगित गरिएको जानकारी दिएको छ । करिब ४०० जनाको समायोजन सूचीमा देखिएका उजुरी र विवादहरूको उचित सम्बोधन गर्न प्रक्रिया रोकिएको केन्द्रीय निर्वाचन आयोगले बताएको छ । बागमती प्रदेशको नेतृत्वका लागि निवर्तमान सभापति अच्युतम लामिछाने, उत्सव अर्याल, हरि खत्री र कृष्णमान शाक्य प्रतिस्पर्धामा छन् ।
१३- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गर्ने तयारीमा महत्त्वपूर्ण प्रगति भएको छ । विश्वस्तरीय वायुसेवा कम्पनी फ्लाइ दुबईले आगामी सन् २०२६ सेप्टेम्बर २३ देखि दैनिक उडान सञ्चालन गर्ने अनुमति पाएको हो । उच्चस्तरीय सुरक्षा, सुरक्षित सञ्चालन र प्राविधिक निरीक्षण सम्पन्न भएपछि उक्त सेवा सञ्चालनको बाटो खुलेको हो । यससँगै पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुने आधार तयार भएको बताइएको छ । फ्लाई दुबईको टोलीले केही दिनअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी निरीक्षण गरेको थियो। पोखरा महानगरका नगर प्रमुख धनराज आचार्यले यो निर्णयलाई पोखराको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने ऐतिहासिक अवसरका रूपमा लिएका छन् । उनका अनुसार यसले पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधि विस्तार र काठमाडौँ केन्द्रित हवाई चाप घटाउन सहयोग गर्नेछ । उनले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्ने ऐतिहासिक यात्रामा सबैको साथ, सहयोग र शुभेच्छा आवश्यक रहेको बताएका छन् । करिब २२ अर्ब ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ को जनवरी १ मा उद्घाटन गरिएको भएपनि हाल आन्तरिक उडानमा मात्र सीमित रहेको छ ।
१४- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य तोलाको १० हजार १ सयले घटेर तोलाको २ लाख ९१ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख १ हजार ९ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १८० रुपैयाँले घटेर तोलाको ४७४० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४९२५ मा कारोबार भएको थियो ।
१५- नेपालले महिला एशिया कपमा छनौट हुन असफल भएको छ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप प्रतियोगिताको क्वाटरफाइनलमा नेपाल थाइल्याण्डसँग पराजित भएसँगै नेपाली महिला क्रिकेट टिम एशिया कपमा छनौट हुन असफल भएको हो । क्वाटरफाइनलमा नेपाल थाइल्याण्डसँग ५६ रनले पराजित भएको हो । थाइल्याण्डले दिएको १३१ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ७४ रन मात्र बनाएको हो । यसअघि पहिला ब्याटिंग गरेको थाइल्याण्डले २० ओभरमा ४ विकेट गुमाउदै १३० रन बनाएको थियो । त्यस्तै सेमिफाइनलमा पुगेसँगै थाइल्याण्ड एशिया कपमा पुगेको छ । त्यस्तै आजै सम्पन्न अर्को खेलमा हङकङले जापानलाई ४१ रनले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ र एशिया कपमा छनौट भएको छ ।
१६- पाकिस्तानले अफगानिस्तानको डुरान्ड सीमारेखा नजिकका विभिन्न प्रान्तमा हवाई आक्रमण गरेको छ । तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले पाकिस्तानी सेनाले अफगान हवाई क्षेत्र उल्लङ्घन गर्दै केही तस्बिर सार्वजनिक गर्दै मंगलबार र बुधबारको मध्यरातमा पाकिस्तानी सेनाले अफगानिस्तानको कुनार, खोस्त र पक्तिका प्रान्तमा रहेका सर्वसाधारणका घरमा बमबारी गरेको बताएका छन् । उनका अनुसार उक्त आक्रमणमा ११ बालबालिका, एक महिला र एक वृद्धको मृत्यु भएको छ। साथै १४ जना महिला र बालबालिका घाइते भएका छन् । तालिबान सरकारका प्रवक्ताले घटनालाई ‘मानवताविरुद्धको अपराध’ तथा ‘आक्रामक कार्य’को संज्ञा दिँदै कडा निन्दा गरेका छन् । घटनाबारे पाकिस्तान सरकारले भने समाचार सार्वजनिक हुँदासम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । पछिल्ला केही महिनायता तालिबान सरकार र पाकिस्तानबीचको सम्बन्धमा तनाव बढ्दै गएको छ। यसै वर्षको मार्च महिनामा पाकिस्तानले अफगानिस्तानभित्र एक केन्द्रमा आक्रमण गरेको बताइएको थियो। अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघीय सहायता नियोगका अनुसार उक्त आक्रमणमा कम्तीमा २६९ जनाको मृत्यु भएको पुष्टि भएको थियो। वास्तविक मृतक संख्या अझ बढी हुन सक्ने पनि नियोगले जनाएको थियो । पाकिस्तानले लामो समयदेखि अफगानिस्तानको तालिबान सरकारमाथि आफ्नो भूमिमा हुने आतङ्कवादी गतिविधिलाई प्रोत्साहन दिएको आरोप लगाउँदै आएको छ। तर तालिबान सरकारले ती आरोपहरू निरन्तर अस्वीकार गर्दै अफगानिस्तानको भूमि कुनै पनि देशविरुद्ध प्रयोग हुन नदिने अडान दोहोर्याउँदै आएको छ ।
१७- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा देखिएका त्रुटी सच्याइएको स्पष्ट गरेका छन् । बुधबार अर्थसमितिको बैठकमा बोल्दै अर्थमन्त्री डा. वाग्लेले आर्थिक विधेयकमा ५-६ वटा कुरा सच्याएको र सांसद्लाई विधेयकसँगै जानकारी गराइएको स्पष्ट गरेका हुन् । उनले अर्थमन्त्रीलाई बदनाम गराउन संगठित गिरोह लागेको दाबी गर्दै सवारी साधन नियमित प्रक्रियामा आएकाले कर छलेको भनेर बीवाईडी भनेर गलत प्रचार भइरहेको गुनासो गरे । आर्थिक विधेयक सच्याइएको विषय सांसदलाई नै दिएको बताउँदै आफू र आफ्नो टिमबाट सूचना चुहावट नभएको दाबि गरेका छन् । उनले आफूमाथि लागेको आरोप प्रथम दृष्टिमै खण्डित रहेको बताउदै आर्थिक विधेयक र करमा विषयमा प्रकाशन भएका विषयप्रति अर्थमन्त्री डा. वाग्ले सञ्चारमाध्यमप्रति आक्रोश व्यक्त गरेका छन् । अर्थमन्त्री वाग्लेआफुले उत्कृष्ट बजेट ल्याएको दाबि गर्दै बदनाम गर्न सकिन्छकी भनेर प्रयास गरिरहेको धारणा राखेका थिए ।
१८- पृथ्वीबाट करिब ४०० किलोमिटर माथि विगत २५ वर्षदेखि मानव जातिको सबैभन्दा ठूलो अन्तरिक्ष प्रयोगशालाका रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र अब आफ्नो अन्तिम चरणमा पुगेको छ। अमेरिकी अन्तरिक्ष निकाय नासाले सन् २०२८ देखि प्रक्रिया सुरु गर्दै सन् २०३० भित्र यसलाई सुरक्षित रूपमा पृथ्वीमा खसाल्ने योजना सार्वजनिक गरेको छ। यसका लागि नासाले करिब एक अर्ब अमेरिकी डलर अर्थात् झण्डै ९ हजार ५०० करोड रुपैयाँ बराबरको योजना तयार गरेको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रले आफ्नो निर्धारित आयु पूरा गरिसकेको छ। यसको सञ्चालन अवधि पटक–पटक थपिए पनि पछिल्ला वर्षहरूमा विभिन्न प्राविधिक समस्या देखिन थालेका छन्। केन्द्रलाई सुरक्षित राख्न हरेक वर्ष अर्बौं रुपैयाँ खर्च हुने भएकाले नासाले अब आफ्ना स्रोतसाधन चन्द्रमा र मंगल ग्रहसम्बन्धी अभियानमा केन्द्रित गर्ने निर्णय गरेको हो। यही कारण केन्द्रलाई सम्मानजनक र सुरक्षित रूपमा अवकाश दिने योजना बनाइएको छ। करिब ४ लाख ५० हजार किलोग्राम तौल रहेको अन्तरिक्ष केन्द्रलाई सिधै पृथ्वीतर्फ खस्न दिइने छैन । सन् २०२८ आसपासदेखि यसलाई कक्षामा कायम राख्ने प्रक्रिया क्रमशः बन्द गरिनेछ। त्यसपछि विशेष अन्तरिक्षयानको सहयोगमा केन्द्रलाई नियन्त्रित रूपमा पृथ्वीको वायुमण्डलतर्फ धकेलिनेछ। वायुमण्डलमा प्रवेश गरेपछि अधिकांश भाग घर्षणका कारण जलेर नष्ट हुनेछ । यद्यपि केही ठूला टुक्रा पृथ्वीमा खस्न सक्ने सम्भावना रहेकाले नासाले दक्षिण प्रशान्त महासागरको एक सुनसान क्षेत्र छनोट गरेको छ । वायुमण्डलमा नजलेका अवशेषहरू त्यही समुद्री क्षेत्रमा खस्ने गरी योजना बनाइएको छ । नासाका अनुसार अन्तरिक्ष केन्द्रलाई दक्षिण प्रशान्त महासागरस्थित ‘पोइन्ट निमो’ क्षेत्रमा खसालिनेछ । यो क्षेत्र पुराना अन्तरिक्ष केन्द्र, उपग्रह तथा अन्य अन्तरिक्षीय फोहोर व्यवस्थापनका लागि विश्वभर परिचित स्थान हो । यहाँ मानिसको बसोबास छैन र जहाजको आवागमनसमेत निषेध गरिएको छ। सन् १९७१ यता करिब ३०० प्रकारका अन्तरिक्षीय अवशेष यही क्षेत्रमा खसालिएको बताइएको छ, जसमा अधिकांश अमेरिकी र रुसी अन्तरिक्ष सामग्री रहेका छन् । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रले दिनमा १६ पटक पृथ्वीको परिक्रमा गर्छ। यो पृथ्वीबाट करिब ४०० किलोमिटर उचाइमा सञ्चालनमा रहेको छ। यसको निर्माण र सञ्चालनमा हालसम्म करिब ९ लाख ५० हजार करोड रुपैयाँ बराबर खर्च भइसकेको छ। नोभेम्बर २००० देखि यसमा निरन्तर मानव उपस्थिती कायम रहेको छ । अमेरिका, रूस, युरोप, जापान र क्यानडाको संयुक्त परियोजनाका रूपमा निर्माण गरिएको यस केन्द्रमा अन्तरिक्ष यात्रीका लागि आवश्यक सबै सुविधा उपलब्ध छन्। यहाँ एकपटकमा ६ देखि ८ जना अन्तरिक्ष यात्री करिब ६ महिनासम्म बस्न सक्छन्। हालसम्म १९ देशका २५० भन्दा बढी अन्तरिक्ष यात्रीले यस केन्द्रको भ्रमण गरिसकेका छन्। अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रको अवकाशसँगै अब निजी क्षेत्रद्वारा सञ्चालित नयाँ अन्तरिक्ष केन्द्रहरूको युग सुरु हुने अपेक्षा गरिएको छ। नासाको सहकार्यमा विभिन्न निजी कम्पनीहरूले आफ्ना अन्तरिक्ष केन्द्र निर्माण गरिरहेका छन्। यसैबीच चीनले आफ्नो अन्तरिक्ष केन्द्र सञ्चालनमा ल्याइसकेको छ भने भारतीय अन्तरिक्ष अनुसन्धान संस्थानले सन् २०३५ सम्म आफ्नै अन्तरिक्ष केन्द्र स्थापना गर्ने लक्ष्यसहित काम गरिरहेको छ ।
१९- पर्यटन राजधानी पोखरा, भरतपुर र लुम्बिनीबिच पर्यटन प्रवर्द्धन तथा विकासका लागि ‘सिल्भर ट्रयाङ्गल’ अवधारणामा सहकार्य गर्ने समझदारी भएको छ । संयुक्त रूपमा पर्यटन प्रवर्द्धन, एकीकृत पर्यटन प्याकेज विकास, वार्षिक ट्राभल मार्ट आयोजना तथा अन्तरप्रदेशीय पर्यटन कनेक्टिभिटी विस्तारमा सहकार्य गर्ने समझदारी भएको हो । पोखरा महानगरपालिकाद्धारा सञ्चालित पोखरा भ्रमण वर्षको संयोजनमा आयोजित कार्यक्रममा पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्र सेन अधिकारी तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजनले हस्ताक्षर गरेका हुन् । समझदारीअनुसार तीनै पक्षले वार्षिक नीति, योजना तथा बजेटमा ‘सिल्भर ट्रयाङ्गल’ अवधारणालाई समावेश गर्नेछन् । सहकार्यको नेतृत्व तथा समन्वय प्रत्येक वर्ष पालैपालो रूपमा तीनै स्थानीय तहले गर्ने व्यवस्था गरिएको छ । समझदारी पत्रमा प्रत्येक वर्ष पालैपालो रूपमा ‘सिल्भर ट्रयाङ्गल पर्यटन मेला ट्राभल मार्ट’ आयोजना गर्ने, आवश्यकता अनुसार व्यवसायदेखि–व्यवसाय बीटूबी तथा जीटूजी बैठक सञ्चालन गर्ने र संयुक्त रूपमा पर्यटन प्रवर्द्धन तथा बजार विस्तार अभियान सञ्चालन गर्ने उल्लेख छ । नगर प्रमुख आचार्यका अनुसार पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर एकीकृत पर्यटन प्याकेज विकास गरिनेछ । तीनै गन्तव्यको प्रचारका लागि संयुक्त ब्रोसर, भिडियो तथा डिजिटल सामग्री उत्पादन र वितरण गरिने छ । प्रत्येक सहरमा अन्य दुई सहरका प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी दिने डिजिटल सूचना बोर्ड स्थापना समेत गरिने आचार्यले बताए । भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्र सेन अधिकारीले उक्त सहकार्यलाई दीर्घकालीन पर्यटन विकास, सांस्कृतिक संरक्षण तथा अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनको महत्त्वपूर्ण कदमका रूपमा लिएको बताए । सिल्भर ट्रयाङ्गललाई जोड्न संयुक्त लोगो, क्यालेन्डर र यातायात सञ्चालनका लागि व्यवसायीसँग सहकार्य गर्ने बताए । लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख हरिजनले तीन वटै गन्तव्य स्थललाई जोड्ने गरी आगामी नीति कार्यक्रममा प्राथमिकता दिने समझदारी ऐतिहासिक भएको बताइन् । पर्यटन व्यवसायी, होटेल, ट्राभल एजेन्सी तथा स्थानीय समुदायबिच सहकार्य र सञ्जाल विस्तार गर्ने, सांस्कृतिक, शैक्षिक तथा पर्यटन आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने र पर्यटन प्रवर्द्धनका लागि स्थानीय, प्रदेश तथा सङ्घीय सरकार, नेपाल पर्यटन बोर्ड तथा विकास साझेदार संस्थासँग संयुक्त समन्वय गर्ने विषय पनि समझदारी पत्रमा समावेश गरिएको छ ।
२०- अमेरिकाले गए राति इरानमाथि हवाई आक्रमण गरेको छ । अमेरिकी केन्द्रीय कमान्डले होर्मुज जलडमरूमध्य नजिक अमेरिकी अपाचे हेलिकोप्टर खसालिएको घटनाको जवाफस्वरूप उक्त कारबाही गरिएको जनाएको छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गस्तीमा रहेको अमेरिकी एएच–६४ अपाचे हेलिकोप्टर इरानले खसालेको दाबी गरेका थिए । यद्यपि हेलिकोप्टरका दुवै चालक सुरक्षित रहेको उनले बताएका छन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिका यस आक्रमणको जवाफ दिन बाध्य भएको उल्लेख गरेका थिए । उता इरानका विदेशमन्त्री अब्बास अर्घचीले इरानी सेनाले प्रत्येक आक्रमणको प्रतिकार गर्ने चेतावनी दिएका छन् । उनले अमेरिका सुरक्षित रहन चाहन्छ भने आफ्नो क्षेत्रबाट बाहिरिनुपर्ने बताएका छन् । हेलिकोप्टर दुर्घटनाबारे भने फरक–फरक दाबी सार्वजनिक भएका छन् । एक अमेरिकी अधिकारीका अनुसार अपाचे हेलिकोप्टर इरानी ड्रोनसँग ठोक्किएपछि दुर्घटनाग्रस्त भएको थियो । घटनाको अनुसन्धान जारी रहेको जनाइएको छ । यसबीच इरानको इस्लामिक रिभोल्युसनरी गार्डले बहराइनमा तैनाथ अमेरिकी नौसेनाको पाँचौं बेडामाथि ड्रोन आक्रमण गरेको दाबी गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार दक्षिणी इरानमा अमेरिकाले गरेको आक्रमणको जवाफस्वरूप उक्त कारबाही गरिएको हो । इरानी रिभोल्युसनरी गार्डका अनुसार अमेरिकाले जास्क, सिरिक र केश्म द्वीपका विभिन्न सैन्य तथा रणनीतिक स्थानहरूमा आक्रमण गरेको थियो । ती आक्रमणमा सिरिकको बेमानी क्षेत्रमा रहेको सञ्चार टावरमा क्षति पुगेको तथा दुईवटा पानी ट्याङ्की नष्ट भएका छन् । इरानले अमेरिकी सैन्य कारबाही जारी रहे थप कडा जवाफ दिने चेतावनी दिएको छ । दुवै पक्षबीचको तनाव र टकराव अझै समाप्त नभएको इरानी रिभोल्युसनरी गार्डले जनाएको छ । यद्यपि बहराइनस्थित अमेरिकी पाँचौं बेडामाथि ड्रोन आक्रमण भएको दाबीलाई अमेरिकी सेनाले अहिलेसम्म पुष्टि गरेको छैन । बहराइनमा तैनाथ अमेरिकी पाँचौं बेडालाई पश्चिम एसियामा अमेरिकाको सबैभन्दा महत्वपूर्ण नौसैनिक तैनाथीमध्ये एक मानिन्छ । यसले फारसी खाडी, अरब सागर तथा होर्मुज जलडमरूमध्यलगायत रणनीतिक समुद्री क्षेत्रको निगरानी गर्दै आएको छ । इरानको मेहर समाचार संस्थाका अनुसार दक्षिणी बन्दरगाह सहर बन्दर अब्बास र नजिकै रहेको क्वेश्म आइल्याण्डमा विभिन्न विस्फोटका आवाज सुनिएका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार विस्फोटका आवाज सुनिएपछि सुरक्षा निकायहरू उच्च सतर्कतामा राखिएका छन् । यद्यपि ती विस्फोटको कारणबारे तत्काल स्पष्ट जानकारी सार्वजनिक भएको छैन । बन्दर अब्बास र केश्म द्वीप होर्मुज जलडमरूमध्य नजिक अवस्थित छन् । यो जलमार्ग विश्वको सबैभन्दा महत्वपूर्ण तेल ढुवानी तथा समुद्री व्यापार मार्गमध्ये एक मानिन्छ ।