जेठ २७, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश कुमार हमालले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्ति राष्ट्रहित र नेपालको भू–अखण्डता विरुद्ध रहेको आरोप लगाउँदै परराष्ट्रमन्त्रीको स्पष्टीकरण आफ्नो दललाई स्वीकार्य नभएको बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राष्ट्रिय स्वाभिमान, भू–अखण्डता र सीमाका विषयमा संसदभित्र विभाजित भएर छलफल गर्नुपरेको अवस्थाप्रति दुःख व्यक्त गरे।
उनले भने, ‘आज हामी राष्ट्रिय स्वाभिमान, हाम्रो भू–अखण्डता र सिमानाको सन्दर्भमा यहाँ छलफल गर्न बाध्य भएका छौं। यो विभाजित भएर छलफल गर्ने विषय होइन। छातीमा नेपालको नक्साको लोगो लगाएर संसदभित्र उपस्थित भएका हामी राष्ट्रियताको सम्बन्धमा प्रश्न गर्नुपर्दा भावुक भएका छौं।’
सांसद हमालले नेपाल र नेपालीहरू राष्ट्रियता, सीमा र स्वाभिमानका विषयमा कहिल्यै विभाजित नभएको उल्लेख गर्दै प्रधानमन्त्रीले गत जेठ १७ गते संसदको रोष्ट्रमबाट दिएको अभिव्यक्तिमाथि आपत्ति जनाए।
उनले भने, ‘गएको १७ गते यही रोष्ट्रमबाट मेरो प्रधानमन्त्रीले राष्ट्रविरोधी तथा नेपालको भू–अखण्डताविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिनुभयो। ‘नेपालले पनि भारतको धेरै ठाउँमा सीमा मिचेको रहेछ’ भन्ने कुरा एउटा प्रधानमन्त्रीले भन्न सक्छ? कुनै पनि नेपालीले यस्तो भनेको छैन।’
हमालले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अभिन्न भू–भाग भएको दोहो¥याउँदै अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले प्रभावकारी कूटनीतिक पहल गर्नुपर्ने बताए।
उनले भने, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भू–भाग हो। हामी यो अतिक्रमित भूमि फिर्ता चाहन्छौं। हामीले भनेको त कूटनीतिक प्रयास गर्नुस् न प्रधानमन्त्रीज्यू। सीमारेखामा कैयौं संरचनाहरू निर्माण भइरहेका छन्, घरजग्गाहरू कायम रहेका छन्। तथ्य र तथ्यांक धेरै छन्, यथार्थहरू धेरै छन्।’
प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘क्रस बोर्डर होल्ड’ सम्बन्धी विषयसँग जोडेर दिइएको स्पष्टीकरणप्रति पनि उनले असन्तुष्टि जनाए।
उनले प्रश्न गर्दै भने, ‘नेपालले भारतको सीमा धेरै ठाउँमा मिचेको छ भन्ने विषय क्रस बोर्डर होल्डको विषयसँग मिल्छ? त्यस्तो स्पष्टीकरणले के हामीले हाम्रो आत्मसम्मान र राष्ट्रिय गौरव बचाउन सक्छौं?’
सांसद हमालले परराष्ट्रमन्त्रीले दिएको स्पष्टीकरण प्रधानमन्त्रीको अभिव्यक्तिलाई ढाकछोप गर्ने प्रयास मात्र भएको दाबी गर्दै आफ्नो दलका तर्फबाट उक्त स्पष्टीकरण अस्वीकार गरिएको जानकारी गराए।
‘म परराष्ट्रमन्त्री ज्यूको ढाकछोप गर्ने स्पष्टीकरण छ मेरो दलको तर्फबाट उहाँको परराष्ट्रमन्त्री ज्यूको स्पष्टीकरण अस्विकार गरेको जानकारी गराउन चाहान्छौं।,’ उनले भने ।