• २०८३ जेष्ठ २४ गते आइतवार

विश्वकपका लागि इरानका सहयोगी कर्मचारी र अधिकारीले अझै पाएनन् अमेरिकी भिसा

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ २४,  काठमाडौं ।   इरान र इजरायलबीच तनाव जारी रहेकै बेला इरानी राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूले अमेरिका प्रवेशका लागि भिसा प्राप्त गरेका छन् । तर टोलीका केही सहयोगी कर्मचारी र अधिकारीहरूले भने अझै अमेरिकी भिसा नपाएको भन्दै इरानले अमेरिकामाथि विभेदपूर्ण व्यवहार गरेको आरोप लगाएको छ ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार फुटबल महासंघका महासचिव हेदायत मोम्बेनी, उपाध्यक्ष मेहदी मोहम्मद नबीसहित १४ जना अधिकारी तथा सहयोगी कर्मचारी अझै भिसाको प्रतीक्षामा छन् ।

इरानी फुटबल महासंघले यस अवस्थाले टोलीलाई समान अवसर नदिएको दाबी गर्दै यो विषय अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) समक्ष उठाउने जनाएको छ ।

यता अमेरिकी अधिकारीहरूले भने सबै खेलाडी, प्रशिक्षक, प्रशिक्षण टोलीका सदस्य तथा केही सहयोगी कर्मचारीलाई भिसा जारी गरिएको बताएका छन् । तर केही आवेदनहरू भने स्वीकृत नभएको उनीहरूको भनाइ छ ।

इरानी टोली हाल टर्कीको अन्ताल्या क्षेत्रमा प्रशिक्षण गरिरहेको छ । त्यहाँबाट टोली मेक्सिको जाने तयारीमा रहेको बताइएको छ ।

फिफा विश्वकप २०२६ जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुनेछ। पहिलो पटक तीन देशको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा ४८ टोली सहभागी हुनेछन् ।

इरान समुह जी मा बेल्जियम, इजिप्ट र न्यूजील्याण्डसँग रहेको छ । इरानले विश्वकपमा पहिलो खेल जुन १५ मा न्यूजील्याण्डसँग खेल्दैछ भने दोस्रो खेल जुन २१ मा बेल्जियमसँग र तेस्रो खेल इजिप्टसँग जुन २६ मा खेल्ने तालिका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस