• २०८३ जेष्ठ २३ गते शनिवार

लाङ्टाङ ट्रेल रनमा मिलन र अञ्जली प्रथम

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ २३, रसुवा । रसुवा–नुवाकोट पर्यटन समाजको आयोजनामा शनिबार सम्पन्न लाङ्टाङ ट्रेल रन: पुरुषतर्फ सोलुखुम्बुका मिलन कुलुङ राई र महिलातर्फ काठमाडौंकी अञ्जली गुरुङ प्रथम भएका छन् । ‘लाङ्टाङ ट्रेल रन’ (दोस्रो संस्करण) अन्तर्गत लाङ्टाङको क्याङजिनबाट सुरु भएको ३२ किलोमिटर दूरीको उक्त दौड प्रतियोगितामा २ घण्टा १६ मिनेट ४३ सेकेन्ड दूरी पूरा गरी सोलुखुम्बु महाकुलुङ गाउँपालिका–४ का मिलन कुलुङ राई प्रथम भएका छन् ।

२ घण्टा १८ मिनेट ४७ सेकेन्ड दूरी पूरा गरी जुम्ला जिल्ला कनसुन्दरी गाउँपालिका–१ का धीरबहादुर बुढा दोस्रो भएका छन् । तेस्रो हुनेमा पाँचथर जिल्ला फिदिम नगरपालिका–१४ का विसाल राईले उक्त दूरी २ घण्टा २० मिनेट २ सेकेन्डमा पार गर्दै तेस्रो स्थान हासिल गरेका छन्।

महिलातर्फ ४ घण्टा ४५ मिनेट ३ सेकेन्डमा काठमाडौँ दक्षिणकाली नगरपालिका–९ की अञ्जली गुरुङ प्रथम भएकी छन्। नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका–७ की सुरक्षा तामाङ ४ घण्टा ५९ मिनेट ५३ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो भएकी छन् । अस्ट्रियाकी अन्ना लेनाले ५ घण्टा ९ मिनेट १४ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो स्थान हासिल गरेकी छन् । ट्रेल रनमा विजेता धावकहरू महिला तथा पुरुष दुवैतर्फ क्रमश: प्रथम, दोस्रो र तेस्रो हुनेले १ लाख, ७५ हजार र ५० हजार नगद सहित प्रमाणपत्र र ट्रफी प्राप्त गर्न सफल भएका छन् ।

ट्रेल रनका लागि विदेशीसहित १०० भन्दा बढी धावकहरू सहभागी भएको आयोजक रसुवा–नुवाकोट पर्यटन समाजले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस