• २०८३ जेष्ठ २२ गते शुक्रवार

गैर कानुनी तवरले महिलाहरूलाई कुवेत, ओमान लगायतका देशमा पठाउने ६ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ २२, काठमाडौं । गैर कानुनी तवरले महिलाहरूलाई कुवेत, ओमान जस्ता देशहरूमा पठाउने कार्यम संलग्न रहको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने संखुवासभा घर भएका ४६ वर्षीय आशिष भन्ने केदार बहादुर खड्का, ग्लोरी वर्ल्ड होलिडेज ट्राभल्सका संचालक काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ जोरपाटी बस्ने गुल्मी घर भएका ४४ वर्षीय राम बहादुर क्षेत्री, ग्लोरी वर्ल्ड होलिडेज ट्राभल्समा कार्यरत काठमाडौं महानगरपालिका-८ गुहेश्वरी बस्ने सिन्धुपाल्चोक घर भएका ४५ वर्षीय ईश्वर न्यौपाने, प्रविण टुर्स एण्ड ट्राभल्सका संचालक भक्तपुर सूर्यविनायक नगरपालिका-४ दधिकोट बस्ने सप्तरी घर भएका ४२ वर्षीय प्रकाश साह, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ पिपलबोट बस्ने मोरङ घर भएका ५२ वर्षीय कुमार उराउ र काठमाडौं महानगरपालिका-९ भिमसेनगोला बस्ने खोटाङ घर भएका ४७ वर्षीय पशुपति राई रहेका छन् ।

गैर कानुनी तवरले पीडित महिलाहरूलाई ललाई फकाई प्रलोभनमा पारी कुवेत, ओमान, युएई जस्ता देशहरूमा घरेलु कामदारको रूपमा पठाउने कार्यमा संलग्न व्यक्तिहरूले सिनामंगलमा भेला जम्मा भई विशेष योजना बनाइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले केदार बहादुर खड्काको घर तलासी गर्दा स्रोत नखुलेको नगद ३१ लाख ८० हजार रूपैयाँ समेत बरामद गरेको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस