• २०८३ जेष्ठ २२ गते शुक्रवार

ट्रम्प भन्छन्- इरानले परमाणु हतियार राख्न नपाउनेनै मुख्य शर्त हो, मोजतबा खामेनेईसँग भेट सक्छु

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ २२, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र अमेरिकाबीच जारी युद्धविराम तथा कूटनीतिक प्रयासका क्रममा इरानका सर्वोच्च नेता मोजतबा खामेनेईसँग भेट हुन सक्ने संकेत दिएका छन् । उनले सम्झौता भएमा भेटलाई सम्मानजनक रूपमा लिन आफू तयार रहने बताएका हुन् ।

ओभल कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, उनीसँग भेट्ने मेरो खास इच्छा छैन, तर आवश्यक परे भेट्न सक्छु । यदि इरानसँग कुनै समझदारी भयो भने यस्तो भेट सम्भव छ र त्यसमा मलाई आपत्ति हुँदैन ।

ट्रम्पले सम्भावित भेटलाई पूर्ण सम्मानका साथ आयोजना गरिने पनि बताएका छन् । उनले खामेनेईलाई केही क्षेत्रमा राम्रो प्रतिष्ठा भएका व्यक्तिका रूपमा व्याख्या गरे । तर उनले आफ्नो बारेमा पनि धेरैले गलत टिप्पणी गर्ने गरेको भन्दै त्यसलाई तुलना गरेका थिए ।

इरानसँगको सम्भावित सम्झौतामा मुख्य सर्त इरानले परमाणु हतियार राख्न नपाउने विषय हुने ट्रम्पले दोहोर्‍याए । उनले अमेरिकाले इरानको संवर्धित युरेनियम भण्डारमाथि नियन्त्रण गर्न सक्ने विकल्प रहेको पनि बताए । यद्यपि अहिले त्यसको आवश्यकता नरहेको उनको भनाइ छ । साथै, इरानले युरेनियम संवर्धन रोकिसकेको र अमेरिकी अधिकारीहरूले त्यसको निगरानी गरिरहेको दाबी उनले गरे । होर्मुज क्षेत्र छिट्टै सबैका लागि खुला हुने पनि उनले उल्लेख गरे ।

यसैबीच ट्रम्प प्रशासनले क्युबाका राष्ट्रपति मिगुएल डियाज कानेल, उनकी पत्नी र केही उच्च अधिकारीमाथि नयाँ प्रतिबन्ध लगाएको छ । अमेरिकाले क्युबा सरकारमाथि दबाब बढाउने उद्देश्यले यो कदम चालेको हो । क्युबाले भने यसलाई आफ्नो सार्वभौमिकतामाथिको हस्तक्षेप भन्दै कडा आपत्ति जनाएको छ ।

त्यस्तै, अमेरिका र भारतबीच अन्तरिम व्यापार सम्झौताबारे वार्ता जारी छ । अमेरिकी प्रतिनिधिमण्डल हालै भारत भ्रमणमा रहेको थियो र चार दिनसम्म चलेको छलफल सम्पन्न भएको छ । भारतको वाणिज्य मन्त्रालयले वार्ता सकारात्मक र व्यावहारिक भएको जनाएको छ । दुवै पक्षले व्यापार र आर्थिक सम्बन्ध अझ मजबुत बनाउने तथा दुवै देशलाई समान लाभ हुने समझदारीमा पुग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस