जेठ १६, काठमाडौं । फाइनलमा पुगेसँगै थाइल्याण्ड महिला क्रिकेटतर्फ एशियन गेम्समा छनौट भएको छ । थाइल्याण्डले आज सेमिफाइनलमा चीनलाई ८४ रनले पराजित गरेर फाइनलमा पुगेसँगै जापानमा हुने एशियन गेम्समा छनौट भएको हो ।

थाइल्याण्डले दिएको १३८ रनको लक्ष्य पछाएको चीनले १९.५ ओभरमा अल आउट हुदै ५३ रन बनाएको थियो । यसअघि थाइल्याण्डले २० ओभरमा ३ विकेट गुमाउदै १३७ रन बनाएको थियो ।
अब दोस्रो सेमिफाइनलमा केहीबेरमा नेपाल र मलेसिया खेल्दैछन् । यस खेलको विजेता पनि एशियन गेम्समा छनौट हुने छ भने पराजित हुने देश तेस्रो स्थानका लागि चीनसँग खेल्ने छ ।
यस प्रतियोगिताबाट शिर्ष तीन देश एशियन गेम्समा छनौट हुने छन् । एशियन गेम्समा जापान आयोजकको रुपमा छनौट भएको छ भने आइसीसीका पूर्ण सदस्य भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका सिधै छनौट भएका छन् । एशियन गेम्सको महिला क्रिकेट प्रतियोगितामा कुल ८ देशले भाग लिदैछन् ।