पौष, ४ काठमाडौँ । प्रमुख विपक्षी नेपाली कांग्रेस संसदको हिउँदे अधिवेशनको सुरुवात आफ्नै अध्यक्षतामा गर्ने उपसभामुख डा.शिवमाया तुम्बाहम्फेको चाहनामा बाधक नबन्ने भएको छ ।

उपसभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठकमा जाने निर्णय कांग्रेसले गरेको छ । यसअघि उपसभामुखले बैठकको सुरुवात गर्ने सन्दर्भमा कांग्रेसले नियमावलीको कुरा ल्याएको थियो । तर संविधानमा सभामुखको अनुपस्थितिमा उपसभामुखले बैठक सञ्चालन गर्ने भन्ने व्यवस्था रहेकाले कांग्रेसले यसमा ‘पोजिशन’ नलिने सचेतक पुष्पा भुसालले बताइन् ।
उपसभामुख डा.तुम्बाहम्फेले शुक्रबार दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएकी छन् । नेकपा स्रोतका अनुसार, शुक्रबार संसद् अधिवेशनको सुरुवात गरेपछि तुम्बाहम्फेले राजीनामा दिनेछिन् । नेकपाले सभामुख कसलाई बनाउने भन्ने निर्णय अहिलेसम्म गरेको छैन ।