जेठ ८, काठमाडौं । नर्वेका मुख्य प्रशिक्षक स्टाले सोलबाकेनले क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकामा हुने विश्वकपका लागि २६ सदस्यीय टोली घोषणा गरेका छन् । नर्वे सन् १९९८ मा फ्रान्समा भएको विश्वकपपछि पहिलो पटक पुनः विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा फर्किएको हो । समूह ‘आई’ मा रहेको नर्वेले फ्रान्स, इराक र सेनेगलसँग प्रतिस्पर्धा गर्नेछ ।

टोलीमा म्यानचेस्टर सिटीका स्टार फरवार्ड इर्लिङ हालान्ड र आर्सनलका कप्तान तथा मिडफिल्डर मार्टिन ओडेगार्ड मुख्य आकर्षण बनेका छन् । हालान्डसँगै आक्रमण पङ्क्तिमा एट्लेटिको म्याड्रिडका स्ट्राइकर अलेक्जेन्डर सोरलोथ पनि रहेका छन् ।
त्यस्तै, विङ्गर एन्टोनियो नुसा र लगातार अवसर सिर्जना गर्ने जुलियन रियर्सनको उपस्थितिले नर्वेको आक्रमण थप बलियो बनेको छ । प्रशिक्षक सोलबाकेनले फ्रान्स, इराक र सेनेगलविरुद्ध प्रतिस्पर्धा गर्न सक्ने सन्तुलित टोली तयार पारेका छन् ।
विश्वकप टोलीमा स्थान बनाउन नसक्ने खेलाडीमध्ये २१ वर्षीय बोलोनियाका रक्षक एइभिन्ड हेलान्ड र टुलुजका मिडफिल्डर आरोन डोनम रहेका छन् । यी दुवैले युरोपेली छनोट चरणमा नर्वेको सफल यात्रामा योगदान दिएका थिए ।
नर्वेको विश्वकप टोली
गोलरक्षक : ओर्जान हास्कयोल्ड न्यालान्ड, एगिल सेल्भिक र सान्डर ताङ्भिक ।
डिफेन्डर: क्रिस्टोफर भासबाक आजेर, फ्रेड्रिक ब्योर्कान, हेनरिक फाल्चेनर, सोन्ड्रे लाङ्गास, टोर्ब्योर्न हेग्गेम, मार्कस होल्मग्रेन पेडर्सेन, जुलियन रियर्सन, डेभिड मोलर वोल्फे र लियो ओस्टिगार्ड ।
मिडफिल्डर: थेलोनियस आसगार्ड, फ्रेड्रिक आउर्सनेस, प्याट्रिक बेर्ग, सान्डर बेर्गे, ओस्कार बोब, येन्स पेट्टर हाउगे, एन्टोनियो नुसा, आन्द्रेयास स्केल्डेरुप, मोर्टेन थोर्स्बी, क्रिस्टियन थोर्स्टभेट र मार्टिन ओडेगार्ड ।
फरवार्ड : इर्लिङ हालान्ड, योर्गेन स्ट्रान्ड लार्सेन र अलेक्जेन्डर सोरलोथ ।