• २०८३ जेष्ठ ७ गते बिहिवार

सर्लाहीमा पत्रकारलाई धम्कि दिएको आरोपमा एक जना चिकित्सक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ७, सर्लाही । पत्रकारलाई धम्की दिएको आरोपमा प्रहरीले एक जना चिकित्सकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका–१० स्थित स्तुती सौम्य हेल्थ केयरका सञ्चालक डा. गुणेश्वर झा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार बख्तियार अलीलाई समाचार लेखेको विषयलाई लिएर पटक पटक धम्की दिएको आरोपमा झालाई पक्राउ गरिएको हो ।

पत्रकार अलीले गत फागुन ५ गते स्तुती सौम्य हेल्थ केयरमा उपचारका क्रममा विष्णु गाउँपालिका–६ निवासी ३ महिनाका अभि बैठाको मृत्यु भएको घटनाबारे समाचार तयार गरेका थिए । समाचार सार्वजनिक भएपछि डा.झाले समाचार हटाउन दबाब दिने, फोन तथा सामाजिक सञ्जालमार्फत गालीगलौज र धम्की दिने गरेको आरोप छ । धम्की र दबाब बढेपछि पत्रकार अलीले नेपाल पत्रकार महासंघलाई जानकारी गराएका थिए । त्यसपछि नेपाल पत्रकार महासंघ सर्लाही शाखा र मधेश प्रदेश समितिले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाप्रति ध्यानाकर्षण भएको जानकारी दिँदै दोषी उपर कडा कारवाहीको माग गरेका थिए ।

महासंघले कुनै समाचारप्रति असन्तुष्टि भए कानुनी प्रक्रिया अपनाउन सकिने भए पनि पत्रकारलाई धम्क्याउने र दबाब दिने कार्य प्रेस स्वतन्त्रताविरुद्ध भएको जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस