• २०८३ जेष्ठ ४ गते सोमवार

आत्महत्या : समाजको मौन पीडा र संवेदनाको प्रश्न ! 

खिमराज गिरी  पढ्न लाग्ने समय : ३ मिनेट

नेपालजस्तो समाजमा आत्महत्या केवल एउटा व्यक्तिगत निर्णय होइन, यो समाज, परिवार, राज्य, कार्यस्थल र मानवीय सम्बन्धहरूको गहिरो असफलताको संकेत पनि हो। पछिल्लो समय दार्जुला जिल्लाका प्रधानाध्यापक बलदेब धामीको दुःखद घटना सामाजिक सन्जालबाट पढियो र यसले फेरि एउटा गम्भीर प्रश्न उठाएको छ— आखिर किन एक जिम्मेवार, मेहनती र समाजप्रति समर्पित व्यक्ति यस्तो अन्तिम निर्णय लिन बाध्य हुन्छ ?

बताइन्छ, उनी विद्यालयमा राम्रो काम गरिरहेका थिए। तर केही व्यक्तिहरूको दुस्ट्याइँ, आरोप, मानसिक दबाब, अपमान र चरित्रमाथिको आक्रमणले उनलाई यति कमजोर बनायो कि अन्ततः आफ्नी श्रीमती र दुई बालबालिकासँग माफी माग्दै उनले जीवन त्यागे भनेर लेखिर्को छ । यो केवल एउटा व्यक्तिको मृत्यु होइन, एउटा परिवारको सपना, बालबालिकाको भविष्य र समाजको नैतिकताको पनि मृत्यु हो।

आज समाजमा आत्महत्याका कारणहरू धेरै छन्। गरिबी, बेरोजगारी, पारिवारिक तनाव, असफल प्रेम, सामाजिक अपमान, मानसिक रोग, ऋणको भार, राजनीतिक दबाब, कार्यस्थलको अन्याय, सामाजिक सञ्जालको विषाक्तता र चरित्र हत्या जस्ता कुराले मानिसलाई भित्रभित्रै तोड्दै लगिरहेको छ। मानिस बाहिर हाँसिरहेको देखिए पनि भित्र कति पीडा बोकेको छ भन्ने कुरा धेरैलाई थाहा हुँदैन।

विशेषगरी नेपालजस्तो समाजमा “मान्छेले सहनुपर्छ”, “पुरुष रोइदिनु हुँदैन”, “इज्जत जोगाउनुपर्छ” भन्ने मानसिकताले धेरैलाई आफ्ना पीडा लुकाउन बाध्य बनाउँछ। जब पीडा बोल्न पाउँदैन, त्यो एकदिन विस्फोट बन्छ। कतिपय मानिस सहयोग खोज्न चाहन्छन् तर समाजले “कमजोर” भनेर हेर्छ। परिणामतः उनीहरू एक्लिँदै जान्छन्।

शिक्षक, पत्रकार, सुरक्षाकर्मी, कर्मचारी, राजनीतिज्ञ वा कुनै पनि जिम्मेवार पदमा रहेका व्यक्तिहरूमाथि हुने मानसिक दबाब अझ खतरनाक हुन्छ। एउटा आरोप, एउटा अफवाह, एउटा सामाजिक अपमानले वर्षौंदेखि बनाएको प्रतिष्ठा भत्काइदिन सक्छ। अहिले सामाजिक सञ्जालमा बिना प्रमाण कसैलाई पनि गाली गर्ने, अपमान गर्ने, ट्रोल गर्ने प्रवृत्ति बढेको छ। शब्दले पनि हत्या गर्छ भन्ने कुरा समाजले बुझ्न सकेको छैन।

आत्महत्या रोक्न केवल कानुन पर्याप्त हुँदैन, संवेदनशील समाज चाहिन्छ। परिवारले आफ्ना सदस्यको भावना बुझ्नुपर्छ। विद्यालय, कार्यालय र समाजमा मानसिक स्वास्थ्यबारे खुला बहस हुनुपर्छ। कसैको व्यवहार अचानक बदलियो भने “नाटक गरिरहेको छ” भनेर होइन, “के समस्या छ ?” भनेर सोध्ने संस्कार चाहिन्छ।

राज्यले पनि मानसिक स्वास्थ्य सेवामा पहुँच बढाउनुपर्छ। गाउँगाउँमा परामर्श सेवा, हेल्पलाइन, मनोवैज्ञानिक सहयोग र जनचेतना कार्यक्रम आवश्यक छन्। विद्यालयमा पढाइसँगै जीवन जिउने कला, तनाव व्यवस्थापन र भावनात्मक शिक्षासमेत सिकाउन जरुरी छ।

सबैभन्दा ठूलो कुरा, हामीले मानिसलाई सम्मान गर्न सिक्नुपर्छ। कसैको चरित्र हत्या गरेर, झुट्टा आरोप लगाएर वा मानसिक यातना दिएर आफू ठूलो भइँदैन। एउटा व्यक्तिलाई निरन्तर अपमान गर्दा ऊ कति भित्रसम्म भाँचिन्छ भन्ने कुरा बाहिरबाट देखिँदैन।

बलदेब धामीजस्ता घटनाले समाजलाई झस्काउनुपर्छ। आत्महत्या गर्ने व्यक्ति कमजोर होइन, कहिलेकाहीँ अत्यधिक पीडा बोकेको व्यक्ति हुन्छ, जसले अन्तिम क्षणसम्म संघर्ष गरिरहेको हुन्छ। त्यसैले कसैलाई दोषारोपण गर्नु अघि उसको पीडा बुझ्ने प्रयास गरौँ।

मानिसलाई बाँच्नका लागि केवल खाना र पैसा मात्र होइन, माया, सम्मान, विश्वास र सुन्ने कान पनि चाहिन्छ। जब समाजले यी कुरा दिन छोड्छ, तब कतिपय मानिस जीवनबाटै हार मान्न पुग्छन्।

Sharing

प्रतिक्रिया दिनुहोस