• २०८३ जेष्ठ २ गते शनिवार

अमेरिकी ग्यास स्टेशनको प्रणालीमा साइबर आक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ २, काठमाडौं । अमेरिकाका विभिन्न राज्यमा रहेका ग्यास स्टेशनहरूको प्रणालीमा साइबर आक्रमण भएको खुलासा भएको छ । अमेरिकी अधिकारीहरूले यस घटनामा इरानसँग सम्बन्धित ह्याकरहरूको संलग्नता हुन सक्ने आशंका गरेका छन् । यद्यपि आक्रमणबाट ठूलो क्षति भने नभएको बताइएको छ । सिएनएनको रिपोर्टअनुसार ह्याकरहरूले अटोमेटिक ट्यांक गेज प्रणालीलाई निशाना बनाएका थिए। यी प्रणाली ग्यास स्टेशनका इन्धन ट्यांकमा रहेको तेलको मात्रा निगरानी गर्न प्रयोग गरिन्छ ।

रिपोर्टमा धेरै प्रणाली इन्टरनेटमा पासवर्ड सुरक्षाबिनै खुला अवस्थामा रहेको र त्यसैको फाइदा उठाएर ह्याकरहरू प्रवेश गर्न सफल भएको उल्लेख गरिएको छ । केही घटनामा ह्याकरहरूले डिस्प्लेमा देखिने विवरण परिवर्तन गर्न सफल भए पनि वास्तविक इन्धनको मात्रा भने प्रभावित नभएको बताइएको छ ।

अमेरिकी अधिकारीहरूका अनुसार हालसम्म यसबाट कुनै भौतिक क्षति नभए पनि यदि ग्यास चुहावटजस्ता समस्या लुकाइयो भने ठूलो जोखिम उत्पन्न हुन सक्ने चिन्ता बढेको छ। अधिकारीहरूले इरानले यसअघि पनि अमेरिका भित्रका ग्यास तथा पानीसँग सम्बन्धित प्रणालीहरूलाई निशाना बनाएको भन्दै इरान मुख्य शंकाको घेरामा रहेको बताएका छन् ।

तर अनुसन्धान निकायहरूले पर्याप्त डिजिटल प्रमाण नपुगेकाले जिम्मेवार पक्षको पहिचान निश्चित रूपमा गर्न कठिन हुन सक्ने जनाएका छन् । रिपोर्टमा अमेरिका–इजरायल र इरानबीचको तनाव र युद्धको अवस्थाबीच इरान समर्थित साइबर आक्रमणहरू बढ्दै गएको उल्लेख गरिएको छ ।

यसअघि पनि इरानसँग सम्बन्धित ह्याकरहरूमाथि अमेरिकी तेल तथा ग्यास साइट, पानी आपूर्ति प्रणाली, मेडिकल उपकरण कम्पनी स्ट्राइकर तथा एफबीआई निर्देशक काश पटेलको इमेल ह्याक गरेको आरोप लाग्दै आएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस