जेठ २, काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानकी बहिनी अलिमा खानले इस्लामाबाद उच्च अदालतमा रिट निवेदन दायर गरेकी छन् । पाकिस्तानी मिडियाका अनुसार अलिमा खानले इमरान खानलाई अदियाला जेलमा लामो समयदेखि एक्लै राखिएको भन्दै त्यसलाई चुनौती दिएकी हुन् ।

उनले यसलाई गैरकानुनी र आधारभूत मानव अधिकारको उल्लङ्घन भएको दाबी गरेकी छन् । पाकिस्तानको डन अखबारका अनुसार उनले यो निवेदन बिहीबार उच्च अदालतमा दर्ता गरेकी हुन् । निवेदनमा ७४ वर्षीय इमरान खानलाई एक्लै राख्ने कुनै पनि अदालतले सजाय नदिएको उल्लेख गरिएको छ । चाहे त्यो अल-कादिर ट्रस्ट मुद्दा होस् वा तोशाखाना मुद्दा, कुनै पनि फैसलामा एकान्त कारावासको आदेश नभएको दाबी गरिएको छ ।
इमरान खान २०२३ अगस्ट ५ देखि लगातार जेलमा रहेका छन्। उनलाई सुरुमा तोशाखाना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि लाहोरस्थित निवासबाट पक्राउ गरिएको थियो ।
त्यसयता उनी रावलपिन्डीस्थित अदियाला जेलमा सजाय भोगिरहेका छन्।