पौष २ काठमाडौँ । राष्ट्रियसभाका १८ सदस्यका लागि पुस २० गते उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । निर्वाचन आयोगले माघमा ९ गते हुने निर्वाचनका लागि पुस २० गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको लागि समय तोकेको हो ।

निर्वाचन आयोगले सार्वजनिक गरेको राष्ट्रियसभा निर्वाचन कार्यतालिकामा पुस १७ गते मतदाता नामावली प्रकाशन गरिने उल्लेख छ।
१८ गते प्रकाशित मतदाता नामावली उपर दाबी विरोध पेस गर्ने र १९ गते उजुरी उपर छानविन गरी अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका आयोगले तय गरेको छ ।
माघ २० गते उम्मेदवारी दिएका उम्मेदवारको दाबी विरोधलगायतका प्रक्रिया पूरा गरेर २५ गते अन्तिम नामावली प्रकाशित गर्ने आयोगले बताएको छ। त्यसैदिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका आयोगको छ। राष्ट्रियसभाका सदस्य निर्वाचन गर्न ७ सय ५३ स्थानीय तहका प्रमुख र उपप्रमुख तथा ५ सय ५० प्रदेशसभा सदस्य मतदाता हुन्छन्। स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ र प्रदेशसभा सदस्यको मतको भार ४८ तोृकिएको छ।
राष्ट्रियसभामा नेकपाका ८, कांग्रेसका ७, राजपाका २ र समाजवादीका १ सांसदको कार्यकाल २१ फागुनमा सकिँदैछ। त्यस्तै सरकारबाट राष्ट्रियसभामा मनोनित भई वर्तमान सरकारका अर्थमन्त्री रहेका युवराज खतिवडाको पनि २१ फागुनमै म्याद सकिँदैछ। संविधानले राष्ट्रियसभामा सदस्य रिक्त हुनुभन्दा ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ।
२१ फागुनमा नेकपाबाट हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपालीको कार्यकाल सकिँदैछ। त्यस्तै राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, मुख्य सचेतक सरिता प्रसाईंको समेत कार्यकाल सकिँदैछ। त्यस्तै कांग्रेसबाटै विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रपसाद उपाध्याय र धनकुमारी खतिवडाको कार्यकाल सकिँदैछ।
राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादवको म्याद सकिन लागेको छ। भने समाजवादीका रामप्रित पासवानले पनि दुई वर्षे कार्यकाल गुजार्दैछन्।