• २०८३ बैशाख २४ गते बिहिवार

साउदी अरबले अमेरिकालाई हवाई क्षेत्र प्रयोग गर्न दिन अस्वीकार गरेको खुलासा

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

वैशाख २४, काठमाडौं । साउदी अरबले अमेरिकी सैन्य अभियानका लागि आफ्नो हवाई क्षेत्र र हवाई अड्डा प्रयोग गर्न अनुमति दिन अस्वीकार गरेपछि अमेरिकाले होर्मुज जलडमरूमध्यमा सुरु गरेको ‘प्रोजेक्ट फ्रिडम’ अभियान रोक्न बाध्य भएको दाबी गरिएको छ ।

अमेरिकाले मे ४ मा होर्मुज जलडमरूमध्यमा जहाजहरूको आवागमन सुरक्षित बनाउन भन्दै ‘प्रोजेक्ट फ्रिडम’ सुरु गरेको थियो । तर, अभियान सुरु भएको एक दिनमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई रोक्न आदेश दिएका थिए । त्यसबेला ट्रम्पले पाकिस्तानको आग्रहपछि अभियान स्थगित गरिएको बताएका थिए ।

तर अहिले सार्वजनिक विवरणअनुसार साउदी अरबको असहयोगका कारण अमेरिकापछि हट्नुपरेको दाबी गरिएको छ । अमेरिकी सञ्चारमाध्यम एनबिसी न्युजका अनुसार साउदी अरबले उक्त अभियानमा सहभागी अमेरिकी लडाकु विमानलाई आफ्नो हवाई क्षेत्र र हवाई अड्डा प्रयोग गर्न अनुमति दिएको थिएन ।

अमेरिकी अधिकारीलाई उद्धृत गर्दै सार्वजनिक गरिएको विवरणमा ट्रम्पले अचानक सामाजिक सञ्जालमार्फत अभियान घोषणा गरेपछि खाडी क्षेत्रका अमेरिकी सहयोगी देशहरू चकित परेको उल्लेख छ । साउदी नेतृत्व यस कदमबाट असन्तुष्ट बनेको र ट्रम्पले साउदी युवराज मोहम्मद बिन सलमानसँग छलफल गरे पनि सहमति जुट्न नसकेको जनाइएको छ ।

रिपोर्टअनुसार अमेरिकाले दुई दिनमा केवल तीन वटा जहाज मात्रै सुरक्षित रूपमा पार गराउन सकेको थियो । त्यसपछि ट्रम्प प्रशासनले अभियान रोक्ने निर्णय गरेको बताइएको छ ।

होर्मुज क्षेत्रमा सैन्य अभियान सञ्चालन गर्न अमेरिकालाई क्षेत्रीय देशहरूको सहयोग आवश्यक पर्ने बताइएको छ । लडाकु विमान, इन्धन भर्ने ट्यांकर र सहयोगी विमान सञ्चालनका लागि साउदी अरब, जोर्डन, कुवेत र ओमान जस्ता देशको अनुमति आवश्यक पर्ने जनाइएको छ । यस्तो सहयोगबिना जहाजहरूको सुरक्षा सुनिश्चित गर्न कठिन हुने अमेरिकी अधिकारीहरूको भनाइ छ ।

यसैबीच अन्य सहयोगी देशहरू पनि अभियान घोषणाका लागि पूर्ण रूपमा तयार नरहेको उल्लेख गरिएको छ । ट्रम्पले अभियान सुरु भएपछि मात्रै कतारका अमिर सँग संवाद गरेका थिए । एक पश्चिम एसियाली कूटनीतिज्ञका अनुसार अमेरिकाले पहिले अभियान घोषणा गरेको र त्यसपछि मात्रै ओमानसँग समन्वय सुरु गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस