वैशाख २३, काठमाडौं । अमेरिकाले हर्मुज जलडमरूमध्यमा फसेका जहाज उद्धार गर्न सुरु गरेको ‘प्रोजेक्ट फ्रीडम’ असफल बनेको छ । सोमबार सुरु गरिएको उक्त अभियान मंगलबार राति नै बन्द गरिएको हो । अभियानका क्रममा अमेरिका केवल तीन वटा जहाज सुरक्षित रूपमा बाहिर निकाल्न सफल भएको जनाइएको छ ।

यसबीच इरानले अमेरिकी युद्धपोतलाई हर्मुज क्षेत्रमा प्रवेश गर्न नदिन गोली प्रहार गरेको थियो । जवाफमा अमेरिकाले इरानका साना डुंगाहरू डुबाएको दाबी गरेको छ । यस घटनाले दुई देशबीचको युद्धविराम झनै जोखिममा परेको छ ।
फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्वपछि हर्मुज क्षेत्रमा जहाज आवतजावत लगभग ठप्प भएको छ । हाल खाडी क्षेत्रमा करिब १ हजार ५५० व्यापारिक जहाज फसेका छन्, जसमा करिब २२ हजार ५०० नाविक रहेका छन् । आपूर्ति घट्दै जाँदा नाविकहरूको शारीरिक र मानसिक अवस्थाबारे चिन्ता बढेको छ ।
अमेरिकी केन्द्रीय कमान्डका अनुसार उक्त अभियानमा मार्गनिर्देशित क्षेप्यास्त्र बोकेको युद्धपोत, १०० भन्दा बढी हवाई तथा समुद्री विमान, ड्रोन र करिब १५ हजार सैनिक परिचालन गरिएको थियो । कमान्डर एडमिरल ब्राड कूपरका अनुसार ८७ देशका जहाज उक्त क्षेत्रमा फसेका छन् र विभिन्न जहाज कम्पनीसँग सम्पर्क गरेर आवतजावत पुनः सञ्चालन गर्ने प्रयास गरिएको थियो ।
अभियानको सुरुवातमा अमेरिका जहाजहरूलाई प्रत्यक्ष सैन्य सुरक्षा दिएर बाहिर निकाल्ने वा ननिकाल्ने स्पष्ट थिएन । धेरै विज्ञहरूले अमेरिका प्रत्यक्ष सुरक्षा दिनेभन्दा पनि हवाई सुरक्षा, ड्रोन तथा क्षेप्यास्त्र आक्रमणबाट बचाउने रणनीतिमा केन्द्रित हुने अनुमान गरेका थिए ।
ट्यांकर कम्पनीहरूको संगठनका एक अधिकारीले अभियानका लागि पर्याप्त समन्वय नभएको बताएका छन्, जसका कारण जहाज मालिकहरूमा सुरक्षाबारे चिन्ता बढेको थियो ।
विज्ञहरूका अनुसार यो अभियान अत्यन्त जोखिमपूर्ण र तनाव बढाउने कदम थियो। केही जहाज बाहिर निकाल्न सफल भए पनि त्यो केवल अस्थायी राहत मात्रै हुने र दीर्घकालीन समाधानका लागि थप ठूला कदम आवश्यक पर्ने उनीहरूको भनाइ छ।