वैशाख २१, काठमाडौं । बैंककस्थित नेपाली दूतावासले कम्बोडियामा बसिरहेका नेपाली नागरिकलाई लक्षित गर्दै महत्वपूर्ण सूचना जारी गरेको छ । दूतावासका अनुसार विभिन्न उद्देश्य, विशेषगरी पर्यटक बनेर कम्बोडिया पुगेका केही नेपाली नागरिक भिसा अवधि सकिएपछि पनि त्यहीँ बसिरहेको जानकारी प्राप्त भएको भन्दै केही नेपाली अवैधानिक रूपमा सञ्चालन भइरहेका अनलाइन ठगी केन्द्रमा संलग्न रहेको सूचनासमेत आएको दूतावासले जनाएको छ ।

दूतावासले अनलाइन ठगी अन्तरदेशीय अपराध भएकाले त्यसमा संलग्न हुनेलाई कडा सजाय हुने चेतावनी दिएको छ । कम्बोडिया सरकारले हालै लागू गरेको नयाँ कानुनअनुसार यस्तो कसुरमा संलग्न व्यक्तिलाई पाँच लाख अमेरिकी डलरसम्म जरिवाना र आजीवन कैदसम्मको सजाय हुन सक्ने व्यवस्था गरिएको छ। त्यस्तै, यस्ता अवैध केन्द्रहरू बन्द गर्ने र संलग्न व्यक्तिलाई पक्राउ गर्ने अभियान पनि तीव्र बनाइएको छ ।
दूतावासले नेपाली नागरिकलाई भिसा अवधिभन्दा बढी समय नबस्न, कुनै पनि गैरकानुनी गतिविधिमा संलग्न नहुन र यदि संलग्न भइसकेको भए तत्काल त्यस्ता काम छाडेर नेपाल फर्कन आग्रह गरेको छ ।
यसका साथै, उच्च तलब र आकर्षक सुविधाको लोभमा पर्यटकीय भिसामा कम्बोडिया वा अन्य देशमा रोजगारीका लागि नजान पनि अनुरोध गरिएको र वैदेशिक रोजगारीमा जानुअघि सम्बन्धित निकायसँग सम्पर्क गरी रोजगारको आधिकारिकता पुष्टि गर्न र श्रम स्वीकृति लिएर मात्र विदेश जान दूतावासले सुझाएको छ ।
नेपाल फर्कन सहजीकरण गर्ने उद्देश्यले कम्बोडियामा रहेका नेपालीको विवरण संकलन भइरहेको जनाउँदै दूतावासले अनलाइन फाराम भरी सहयोग गर्न आग्रह गरेको छ ।
साथै परिवारका सदस्य, आफन्त वा चिनेजानेका कोही व्यक्तिहरू श्रम स्वीकृति बिना लामो समयदेखि कम्बोडियामा बसिरहेका छन् वा समस्यामा परेका छन् भने त्यसबारे जानकारी दूतावास वा परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागमा दिन पनि आग्रह गरिएको छ ।
दूतावासले कम्बोडिया पुर्याउने व्यक्तिविरुद्ध नेपाल फर्केपछि वा त्यहीँबाट समेत नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिन समेत सबैलाई अनुरोध गरेको छ ।