• २०८३ बैशाख २० गते आइतवार

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १५ मिनेट

वैशाख २०, काठमाडौं । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- सरकारले बागमती र यसका सहायक नदी किनारका जोखिमपूर्ण सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने क्रममा हालसम्म १८ सय १६ परिवार सरकारको सम्पर्कमा आएका छन् । आफूलाई सुकुम्बासी दाबी गर्दै कुल १८ सय १६ परिवारका ७ हजार ७८९ जना सरकारको सम्पर्कमा आएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । त्यस्तै होल्डिङ सेन्टरमा सम्पर्कमा आएकामध्ये ७९४ जनालाई सरकारद्वारा व्यवस्थित होल्डिङ सेन्टरहरूमा स्थानान्तरण गरिएको छ भने स्वेच्छिक व्यवस्थापनअन्तर्गत दशरथ रंगशालास्थित स्क्रिनिङ सेन्टरमा आएका बाँकी व्यक्तिहरूले भने हालका लागि आफ्नै पहलमा आवासको व्यवस्था गर्ने भन्दै बाहिरिएका छन् । सरकारले हाल कीर्तिपुरस्थित राधास्वामी सत्संघ भवन, नयाँ बसपार्क र माछापोखरी क्षेत्रका होटलहरू, भक्तपुरस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र र बोडेस्थित कृषि तालिम केन्द्रलाई होल्डिङ सेन्टरको रुपमा प्रयोग गरेको छ ।

२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अधिकार सम्पन्न प्राधिकरण गठन गरेर अव्यवस्थित र सुकुम्बासी समस्या समाधान गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ । पार्टी कार्यालयमा आइतबार बसेको रास्वपाको सचिवालय बैठकले उक्त सुझाव दिने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए। उनका अनुसार उक्त प्राधिकरणले अव्यवस्थित र सुकुम्बासीहरूको पहिचान गर्ने, लगत संकलन गर्ने र आगामी चैत मसान्तसम्म कम्तीमा ७५ प्रतिशतको व्यवस्थापन गर्नुपर्ने सुझाव दिइएको छ । रास्वपाले आफ्नो निर्णयमा भनेको छ: मुलुकभर विद्यमान अव्यवस्थित बसोबासलाई सम्बोधन गर्न सरकारले चाँडै नै यस सम्बन्धी अधिकार सम्पन्न प्राधिकरण गठन गरी वास्तविक भूमिहीनहरूको समस्या समाधान गर्न जोड दिएको हुनाले विभिन्न त्रासको शंकामा नपर्न अनुरोध गर्दै असुरक्षित रूपमा बस्न बाध्यहरुलाई सुरक्षित गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको प्राथमिकता रहेको र राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रको बुँदा नम्बर ८२ मा नै यसलाई व्यवस्थित गर्ने कुरा उल्लेख भएकाले असुरक्षित रूपमा बसोबास गर्दै आउनुभएका भूमिहीन सुकुम्बासी नागरिकहरूको हकमा बाहेक अन्यहरूमा प्राधिकरणको प्रतिवेदन पूर्व कुनै पनि कारबाही अगाडि नबढ्ने कुराको जानकारी गराउँदै सरकारलाई सोही अनुरुप गर्न सुझाव दिने । साथै स्थानीय सरकारहरूले आफ्नो क्षेत्राधिकारको प्रयोग गरी संरचनाहरू भत्काइरहेको सन्दर्भलाई समेत ध्यानमा राखी स्थानीय सरकारलाई पनि यही मर्म अनुरुप व्यवस्थापन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले अनुरोध गर्ने ।

३- राधास्वामी सत्संत व्यास आश्रममा सञ्चालित होल्डिङ् सेन्टरमा भएका बालबालिकाहरुलाई संस्थागत विद्यालयहरुमा आवासीय सुविधासहित निःशुल्क नियमित अध्ययनको व्यवस्थाका लागि महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, निजी तथा संस्थागत विद्यालयका संघसंगठनका पदाधिकारीहरुसँग छलफल गरेकी छन् । राष्ट्रिय सभा गृहमा भएको छलफलमा प्याब्सन र एनप्यासनका केन्द्रीय, जिल्ला र महानगर स्तरीय समितिका पदाधिकारी सहभागी थिए । डंगोलले भनिन्- ‘नदी किनाराका अव्यवस्थित बस्ती खाली गर्ने क्रममा अहिले कीर्तिपुर स्थित राधास्वामी सत्संग आश्रममा रहेका बालबालिकाहरुलाई आवास सुविधा सहित निःशुल्क अध्ययन गराउन हामीले यस्तो सुविधा भएका निजी तथा संस्थागत विद्यालयहरुबाट सहयोगको अपेक्षा गरेका छौँ । मलाई थाहा छ । तपाईँहरुले यावत प्रश्न छन् । हामीसँग ती प्रश्नहरुको जवाफ खोजीरहनु भएको छ । हामी ती प्रश्नको जवाफ दिन्छौँ । तर, अहिले प्रश्नभन्दा माथि उठेर काम गर्नु पर्ने बेला हो । अव्यवस्थित बस्तीबाट होल्डिङ सेन्टरमा राखिएका बालबालिकाहरुको शिक्षाका लागि हामी सबैले मिलेर काम गरौँ । उनीहरुलाई नियमित विद्यालय जाने अवसर प्रदान गरौँ । हामी मिलौँ र बालबालिकाको सर्वोत्तम हितमा काम गरौँ ।’ संस्थागत सामाजिक उत्तरदायित्व र मानवताका दृष्टिले सहकार्य अगाडि बढाउन कार्यवाहक प्रमुखको अनुरोध थियो । उनको प्रस्तावमा प्याव्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी, एनप्याब्सनका अध्यक्ष सुवास न्यौपाने, प्याव्सनका महासचिव आ. वि. कटुवाल, एनप्याब्सनका महासचिव प्रकाश खड्काले वर्तमान अवस्थामा महानगरपालिकाले बालबालिकाको शिक्षाका लागि सहकार्यका लागि अघि सारेको तत्परताले आफूहरुलाई पनि जिम्मेवार बोध गराएको उल्लेख गरे । छलफलमा काठमाडौँ जिल्ला प्याब्सनका अध्यक्ष नवराज भट्ट, उपाध्यक्ष सूर्य भण्डारी, काठमाडौँका जिल्ला अध्यक्ष अमृत खड्का, काठमाडौँ महानगर प्याब्सनका अध्यक्ष गगनसिंह ऐर, एनप्याब्सन महानगर समितिका अध्यक्ष नवराज पाण्डे सहभागी थिए । कार्यवाहक प्रमुखको प्रस्तावका विषयमा प्याब्सन र एनप्याब्सनको बैठक बसेर आफूहरुले पूरा गर्नु पर्ने दायित्वका विषयमा महानगरपालिकालाई खवर गर्ने अधिकारीहरुले जनाएका छन् ।

४- युएईले जारी आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गतको सिरिजमा ओमानलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा युएईले ओमानलाई ५४ रनको फराकिलो अन्तर्गतले पराजित गरेको हो । युएईले दिएको ३०९ रनको लक्ष्य पछाएको ओमानले निर्धारित ४७ ओभरमा अल आउट हुदै २५४ रन बनाएको थियो । ओमानका लागि जितेन रामानन्दीले अविजित ९१ रन बनाए भने हमाद मिर्जाले ८३ रन बनाएका थिए । यसअघि पहिला ब्याटिंग गरेको युएईले ४७ ओभरमा ८ विकेट गुमाएर ३०८ रन बनाएको थियो । युएईका लागि हरर्प्रित सिंहले ७७, मुहमद शहदादले ७४, अडीब उस्मानीले ७२ र अर्यांश शर्माले ५० रन बनाएका थिए । यो जितपछि युएईको २४ खेलमा १४ अंक भएको छ र अंक तालिकामा पुछारमा रहेको छ । त्यस्तै ओमानको २७ खेलमा ३१ अंक रहेको छ र हाल तेस्रो स्थानमा रहेको छ । अब सिरिज अन्तर्गत नेपाल र ओमानबीचको खेल मंगलबार हुदैछ ।

५- राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएका छन् । आइतबार राष्ट्रपति पौडेलले यसअघि पनि संघीय संसद्का दुवै सदनले पारित गरेको विधेयक फिर्ता गरेकै कारण देखाएर अहिले पनि फिर्ता गरेको बताइएको छ । सरकारले संबैधानिक परिषदमा प्रधानमन्त्रीसहित तीन जनाको उपस्थितिमा निर्णय गर्नसक्ने व्यवस्था गरेर अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरिएको थियो ।

६- राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेका छन् । राष्‍ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । यस अघि राष्ट्रपति पौडेलले सरकारले सिफारिस गरेका स्वास्थ्य विज्ञान प्रतिष्‍ठान, सार्वजनिक पदाधिकारीको पदमुक्ति, विश्‍वविद्यालयसम्बन्धि, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन), सहकारी सम्बन्धी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका थिए । अब सरकारले सिफारिस गरेका अध्यादेश मध्ये संबैधानिक परिषदसम्बन्धि अध्यादेश भने जारी गर्न बाँकी रहेको छ । स्रोतका अनुसार राष्ट्रपति पौडेलले सो अध्यादेश फिर्ता गर्ने सम्भावना रहेको छ ।

७- इरानमा जेलमा बन्द मानवअधिकार अभियन्ता नरगिस मोहम्मदीको स्वास्थ्य अवस्था अचानक गम्भीर बनेपछि उनलाई राम्रो उपचार सुविधा भएको स्थानमा सार्न माग गरिएको छ । उनका परिवारजन तथा नोबेल शान्ति पुरस्कार समिति दुवैले यस्तो माग गरेका हुन् । शुक्रबार उनका परिवारले ५४ वर्षीया मोहम्मदीलाई उत्तर–पश्चिमी इरानको जेलबाट स्थानीय अस्पतालमा लगिएको जानकारी दिएका छन्। परिवारले यो कदम ढिलो गरी अन्तिम समयमा चालिएको प्रयास भएको टिप्पणी गरेको छ । नर्वेमा रहेका उनका दाजुले बीबीसीसँग कुरा गर्दै मोहम्मदीको रक्तचाप निकै तीव्र रूपमा घटेको र स्थिर बनाउन कठिन भइरहेको बताएका छन् । मोहम्मदी सन् २०२३ की नोबेल शान्ति पुरस्कार विजेता हुन् । उनलाई गत डिसेम्बरमा सरकारी अधिकारीहरूको आलोचना गरेको आरोपमा पक्राउ गरिएको थियो । गत महिना उनका दाजु हामिदरेजा मोहम्मदीले उत्तर-पश्चिमी इरानको जञ्जान जेलमा उनी अचेत अवस्थामा भेटिएको र सम्भवतः हृदयघात भएको बताएका थिए । उनले पुरानो मुटु, फोक्सो र रक्तचापसम्बन्धी समस्या हुँदाहुँदै पनि जेल प्रशासनले अस्पताल लैजान अस्वीकार गरेको आरोप लगाएका छन् । नरगिस मोहम्मदी फाउन्डेसनले उनको स्वास्थ्य अत्यन्त गम्भीर बनेपछि जञ्जान प्रान्तको अस्पतालमा सारिएको जनाएको छ । उक्त संस्थाका अनुसार उनलाई १४० दिनसम्म मनपरी हिरासतमा राख्दै विशेष स्वास्थ्य सेवा नदिइएको थियो । फाउन्डेसनका अनुसार मोहम्मदीलाई अहिलेसम्म विभिन्न समयमा १३ पटक पक्राउ गरिएको छ भने उनलाई कुल ३१ वर्षको जेल सजाय र १५४ कोडाको सजाय सुनाइएको छ ।

८- अभिनेता दयाहाङ राईले सरकारप्रति व्यंग्य गर्दै गरिवी लुकाउन नसकिने टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै अभिनेता राईले सम्पत्ति लुकाउन सकिने भएपनि गरिवी लुकाउन सकिदोरहेनछ भनेका हुन् । उनले भनेका छन्- ‘जस्तो कि…यहाँ, सम्पति त लुकाउन सकिने रहेछ, गरिबी पो लुकाउन सकिदोरहेनछ !!!’ सरकार पूर्व तयारी बिना सुकुम्बासी बस्ति भत्काएको प्रति अभिनेता राईले व्यंग्य गरेका हुन् ।

९- राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट स्थानीय तह निर्वाचनमा उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूले क्याण्डिडेट क्लब र लिडरसीप एकेडमीबाट उतिर्ण हुनुपर्ने नियम बनाएको छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले आगामी स्थानीय तहको निर्वाचनका लागि योग्य र क्षमतावान उम्मेदवार तयार पार्ने सैद्धान्तिक र नीतिगत आधार तयार पारेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । रास्वपाको यसअघिको बैठकले क्याण्डिडेट क्लब र लिडरसीप एकेडमीलगायत उम्मेदवार छनोटको रूपरेखा तयार पार्न पार्टी सहमहामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा कार्यदल बनाएको थियो । सो कार्यदलले आइतबार सचिवालय बैठकअघि पार्टी सभापतिलाई रूपरेखाको मस्यौदा हस्तान्तरण गरेको थियो ।

१०- नेकपा एमालेले सम्पूर्ण सदस्यता प्रक्रिया अनलाइन प्रणालीमार्फत मात्र गर्ने भएको छ । आइतबार केन्द्रीय कार्यालयमा बसेको बैठकमा पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको हो । पार्टीका उपाध्यक्ष, महासचिव, प्रदेशका नेताहरू तथा जनसंगठनका प्रतिनिधिहरूको उपस्थितिमा संगठन विभागले प्रस्तुत गरेको सदस्यता व्यवस्थापनसम्बन्धी डेमो (प्रदर्शनात्मक) बैठकमा प्रस्तावित प्रणाली र कार्यान्वयन मोडेलबारे विस्तृत छलफल गरिएको थियो । बैठकमा अनलाइन प्रणालीमार्फत सदस्यता नवीकरण, नयाँ सदस्यता प्रवेश तथा सम्पूर्ण अभिलेख व्यवस्थापनलाई डिजिटल बनाउने प्रस्ताव अघि सारिएको हो। यसलाई सातै प्रदेश, सबै जिल्ला र ७५३ वटै पालिकामा एकैसाथ लागू गर्ने तयारी गरिएको छ । बैठकलाई सम्बोधन गर्दै पार्टी उपाध्यक्ष विष्णु पौडेलले अनलाइन सदस्यता नवीकरण अभियान पार्टी जीवनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने महत्वपूर्ण कदम भएको बताए । संगठन विभागका संयोजक तथा पार्टी केन्द्रीय सचिव भानुभक्त ढकालले बैठकमा पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्य रहेको जानकारी दिए । उनले संगठनलाई केन्द्रीय तहदेखि वडा तहसम्म एकीकृत डिजिटल अभिलेखीकरण प्रणालीमा लैजानुपर्ने आवश्यकता औंल्याए । त्यसैगरी प्रत्येक पालिकामा भौतिक उपस्थितिमै सदस्यता सम्बन्धी सहजीकरण गरिने, पार्टीका कामसँग जोडेर सदस्यता नवीकरण गर्ने व्यवस्था मिलाइने बताइएको छ । अनलाइन प्रणालीमार्फत केन्द्रीय समितिदेखि वडा तहसम्म संगठनमा आबद्ध नेताहरूको बायोडाटा संकलन तथा अभिलेखीकरण गरिनेछ । यसअघि पार्टी महासचिवको उपस्थितिमा सातै प्रदेशका अध्यक्षहरूसहित संगठन विभागको बैठकले जेठ मसान्तलाई सदस्यता नवीकरणको अन्तिम मिति तोक्ने प्रस्तावसमेत अघि सारेको थियो । संगठन विभागका संयोजक ढकालका अनुसार तोकिएको समयभित्र सदस्यता नवीकरण नगर्ने सदस्यहरू स्वतः सम्बन्धित पार्टी समितिको जिम्मेवारीबाट मुक्त हुने व्यवस्था लागू गरिनेछ ।

११- इजरायली सेनाले दक्षिणी लेबनानका सहर तथा गाउँका बासिन्दालाई तत्काल घर खाली गर्न निर्देशन दिएको छ । सर्वसाधारणलाई कम्तीमा एक हजार मिटर टाढा खुला स्थानमा जान चेतावनी दिइएको छ । रिपोर्टका अनुसार सेनाले दक्षिणी लेबनानका ११ सहर र गाउँमा आक्रमण गर्ने जनाएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’का अनुसार यो कारबाही हिजबुल्लाहविरुद्ध लक्षित गरिएको दाबी गरिएको छ । इजरायली सेनाले हिजबुल्लाहले युद्धविराम सम्झौता उल्लंघन गरेकाले यस्तो कदम चालिएको बताएको छ । साथै, हिजबुल्लाहका लडाकु वा तिनका संरचनानजिक रहेका जो कोहीलाई जोखिम हुन सक्ने चेतावनी पनि दिएको छ । इजरायलले पछिल्लो समय दक्षिणी लेबनानमा लगातार हवाई आक्रमण गरिरहेको छ भने त्यहाँको दक्षिणी भूभागमा सैनिक उपस्थिति कायम राखेको छ । सेनाले हिजबुल्लाहसँग सम्बन्धित भन्दै धेरै भवनहरू ध्वस्त पारेको जनाएको छ । इरान समर्थित उक्त सशस्त्र समूहले पनि लेबनान र उत्तरी इजरायल क्षेत्रमा इजरायली सेनामाथि ड्रोन र क्षेप्यास्त्र आक्रमण गरिरहेको बताइएको छ ।

१२- सरकारले नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन आह्वान गरेको छ । शहरी विकास मन्त्रालयले सहायता आवश्यक भएका तथा हाल सडकमा अलमलमा परेका नागरिकहरूलाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको दशरथ रंगशालामा उपस्थित भई दर्ता गर्न अनुरोध गरेको हो । वास्तविक भूमिहीन नागरिकहरूको डिजिटल लगत संकलन तथा होल्डिङ सेन्टरमार्फत व्यवस्थापन गर्ने प्रबन्ध सरकारले मिलाएको भन्दै होल्डिङ सेन्टरमा आवास, भोजन, स्वास्थ्य सेवा, बालबालिकाको शिक्षा तथा मनोवैज्ञानिक परामर्श लगायतका आधारभूत सेवाहरू उपलब्ध गराईएको छ । वास्तविक भूमिहीन तथा आर्थिक अवस्थाका कारण स्व व्यवस्थापन गर्न असमर्थ नागरिकलाई दशरथ रंगशालास्थित प्राथमिक दर्ता केन्द्रमा उपस्थित भई सरकारद्वारा उपलब्ध गराइने सेवा सुविधाको लाभ लिन अनुरोध गरिएको छ । सरकार नागरिकहरूको सुरक्षित, व्यवस्थित तथा दीर्घकालीन पुनर्स्थापनाका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएको छ ।

१३- सांसद आशिका तामाङले किर्तिपुरस्थित सुकुम्बासीको होल्डिङ सेन्टरको अनुगमन गरेपछि बालबालिकाले पढ्न पाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । कीर्तिपुरको सुकुम्बासी होल्डिङ सेल्टरमा सबै कुरा व्यवस्थापन गरियता पनि बालबच्चाहरूको विद्यालय छुटेको र धेरै बालबालिकाहरूको नयाँ भर्ना सेसन छुटेको गुनासो गरेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएकी हुन् । उनीहरुले भर्ना हुन नपाएको भन्दै आशिकासँग गुनासो गरेका थिए । होल्डिङ सेन्टरमा १५ बर्षभन्दा मुनीका ६१ जना बालबालिका रहेको उनले बताएकी छन् । उनले सुकुम्बासीको व्यवस्थापन गर्न कति समय लाग्छ भन्ने निश्चित नभएको भन्दै बालबालिकाको विद्यालय छिटोभन्दा छिटो जान व्यवस्था मिलाउनु हुन सरकारको ध्यानआकर्षण गराएकी छन् ।

१४- सरकारले विद्यालय क्षेत्रको सुधारका लागि सङ्घ र स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने भएको । उक्त प्रयोजनका निम्ति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयले विद्यार्थी भर्ना र शुल्क विवादका सम्बन्धमा स्थानीय सरकार एवं सरोकारवालासँग छलफल गर्न लागेको हो । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार काठमाडौँ उपत्यकाका महानगरपालिकाका प्रमुखहरु तथा सरकारका उच्च अधिकारीसँग छलफल गर्न लागिएको मन्त्रालयले जनाएको छ । शैक्षिक सत्र प्रारम्भ हुने संघारमा विद्यार्थी भर्ना र मापदण्ड विपरित शुल्कबारे देखिएको अन्यौलता,वार्षिक शैक्षिक क्यालेन्डर र आगामी रणनीति बनाउन छलफल आयोजना गरिएको हो । विद्यार्थी भर्ना शुल्कमा अनियमितता र निजी विद्यालयबाट भइरहेको पछिल्लो गतिविधिलगायत विषयमा छलफल गरी अगाडिको बाटो पहिल्याउन जनप्रतिधिलाई एकै ठाउँमा बोलाईएको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलको उपस्थितिमा हुने छलफलमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक नगर प्रमुख सुनिता ढंगोल, ललितपुर महानगरपालिकाकानगर प्रमुख चिरिबाबु महर्जन, नेपाल नगरपालिका सङ्घका अध्यक्ष र गाउँपालिका राष्ट्रिय महासङ्का अध्यक्ष सहभागी हुनुहुनेछ भने गृहमन्त्राल र शिक्षा मन्त्रालयका उच्चअधिकारीको उपस्थिति रहनेछ । केही संस्थागत विद्यालयहरुले कानुन विपरित शैक्षिक सत्र २०८३ प्रारम्भ हुनु पूर्व नै विद्यार्थी भर्ना गर्ने र स्वीकृत मापदण्डभन्दा बढी शुल्क लिएको गुनासो बढेपछि गैरकानुनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयले हालै निर्देशन दिएको थियो । सङ्घीय सरकारले विद्यालयहरुलाई वैशाख १५ बाट विद्यालय भर्ना थाल्न र वैशाख २१ गतेबाट पठनपाठन सुरु गराउन निर्देशन दिएको थियो । तर काठमाडौँ उपत्यकाका स्थानीय तहहरुले वैशाख ११ गतेदेखि नयाँ भर्ना अभियान सुरु गर्न र वैशाख १५ गतेदेखि नियमित रुपमा पठनपाठन सञ्चालन गराउन निर्देशन दिएका थिए ।

१५- नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको पछिल्लो भूमिसम्बन्धी कदमबारे प्रश्न उठाएका छन् । के यी तथ्यलाई वालेन सरकारले हेरेको छ ? भन्दै महासचिव पोखरेलले काठमाडौँ महानगरपालिकासहित देशभर भूमिसम्बन्धी समस्या झन् जटिल बन्दै गएको उल्लेख गर्दै भूमि आयोगमा परेका निवेदनअनुसार देशभर ९८ हजार ५०२ दलित भूमिहीन सुकुम्बासी, १ लाख ८० हजार २९३ भूमिहीन सुकुम्बासी तथा ९ लाख ३० हजार ७९० अव्यवस्थित बसोबासी गरी जम्मा १२ लाख ९ हजार ५८५ जनाले निवेदन दिएको उल्लेख गरेका छन् । यसबाहेक केही हजार वास्तविक भूमिहीन अझै सूचीबाहिर हुन सक्ने अनुमान गरिएको उल्लेख गर्दै उनले केवल काठमाडौँ उपत्यकामा मात्रै करिब एक लाख सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको अनुमान रहेको बताएका छन् । पोखरेलले संसदले यसअघि नै यी समस्याको समाधानका लागि कानुनी व्यवस्था गरिसकेको उल्लेख गर्दै ९ लाखभन्दा बढी अव्यवस्थित बसोबासीले बनाएका संरचना हटाउने निर्णयले अर्बौँ रुपैयाँ बराबरको क्षति हुने चेतावनी दिएका छन् । उनका अनुसार यो केवल संरचना भत्काउने विषय मात्र नभई पहाडबाट शहरतर्फ बसाइँ सरेका नागरिकहरूको जीवन, रोजगारी र अस्तित्वसँग जोडिएको जटिल सामाजिक–आर्थिक प्रश्न भएको उनको जिकिर छ । उनले लालपुर्जा नभएका सबै नागरिकलाई हटाउने नीति लागू गरिए करिब ५० लाख जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गरिबीको चक्रमा फस्ने खतरा रहेको बताउदै यसले राज्यको अर्थतन्त्र र सामाजिक स्थायित्वमा गम्भीर असर पार्न सक्ने र यस्तो कदम संसदले बनाएको कानुनको मर्मविपरीत हुन सक्ने उनको दाबी छ । काठमाडौँ महानगरपालिका र भूमि आयोगबीच सहकार्य गर्ने सहमति भए पनि हालसम्म पूर्ण तथ्यांक उपलब्ध नभएकाले समस्या थप जटिल बनेको पोखरेलको भनाइ छ । उनले यस्तो संवेदनशील विषयमा नीतिगत निर्णय लिनुअघि विद्यमान कानुन, तथ्यांक र जनजीवनको वास्तविक अवस्थाको गहिरो अध्ययन गर्नुपर्नेमा जोड दिएका छन् ।

१६- नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको एक हजारले घटेर तोलाको २ लाख ९५ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९६ हजार १ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६५ रुपैयाँले बढेर ५०१० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४९४५ मा कारोबार भएको थियो ।

१७- नेपाल राष्ट्र बैंकका गभर्नर र सरकारी बैंकमा नियुक्ति भएका पदाधिकारीहरु पदमुक्त नहुने भएका छन् । सरकारले अध्यादेशमार्फत ११० वटा कानून संशोधन हुनेगरी जारी गरेको अध्यादेशमा नेपाल राष्ट्र बैंक ऐनलाई समावेश नगरेका कारण गभर्नर विश्वनाथ पौडेलको पद कायम नै हुने भएको हो । यसअघि गभर्नर पनि हटाउने भनिएपनि अध्यादेशमा समावेश नभएका कारण गभर्नर पौडेलसहित तीन बैंक नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्य र प्रमुख कार्यकारी अधिकृत(सीईओ) लगायतका पदाधिकारीहरु पदमुक्त नहुने भएका हुन् ।

१८- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल १५ सय ९४ जना पदाधिकारीहरू एकमुष्ट रूपमा पदमुक्त हुने भएका छन् । पदमुक्त हुनेमा आयोग, प्राधिकरण, संस्थानमा यसअघि गरिएका राजनीतिक नियुक्तिका पदहरु रहेका छन् ।

१९- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने विषयमा आएको नयाँ प्रस्तावको समीक्षा गर्ने बताएका छन् । ट्रम्पले उक्त प्रस्तावबारे अध्ययन गरिरहेको र यसबारे पछि थप जानकारी दिने बताएका हुन् । इरानका अर्ध-सरकारी सञ्चार माध्यम तस्नीम र फार्सका अनुसार इरानले अमेरिकाको नौ बुँदे प्रस्तावको जवाफमा पाकिस्तानमार्फत १४ बुँदे प्रस्ताव पठाएको छ । यसअघि ट्रम्पले इरानको पुरानो प्रस्ताव अस्वीकार गरेका थिए। यद्यपि, दुवै देशबीच वार्ता जारी रहेको छ र तीन सातादेखिको युद्धविराम कायम छ । तस्नीम समाचार एजेन्सीका अनुसार इरानले पठाएको १४ बुँदे प्रस्तावमा भविष्यमा हुने सैन्य आक्रमणविरुद्ध सुरक्षा सुनिश्चितता माग गरिएको छ । त्यस्तै, इरान वरपर रहेका अमेरिकी सेना फिर्ता गर्नुपर्ने, समुद्री नाकाबन्दी अन्त्य गर्नुपर्ने, रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने, क्षतिपूर्ति दिनुपर्ने र सबै प्रकारका प्रतिबन्ध हटाउनुपर्ने माग समावेश छन् । यसैगरी, लेबनानसहित सबै मोर्चामा भइरहेको युद्ध अन्त्य गर्नुपर्ने, होर्मुज जलडमरूका लागि नयाँ व्यवस्था लागू गर्नुपर्ने जस्ता बुँदाहरू पनि प्रस्तावमा राखिएका छन् । अमेरिकाले दुई महिनाको युद्धविराम प्रस्ताव गरे पनि इरानले सबै विषय ३० दिनभित्र समाधान हुनुपर्ने अडान राखेको छ । उसले अस्थायी युद्धविरामभन्दा पूर्ण रूपमा युद्ध अन्त्य गर्न जोड दिएको छ । यसबीच ट्रम्पले शुक्रबार उक्त प्रस्तावप्रति असन्तुष्टि जनाउँदै कूटनीतिक माध्यमबाट मात्र समस्या समाधान हुनेमा आफू विश्वस्त नभएको बताएका थिए । हाल इरान आफ्नो प्रस्तावबारे अमेरिकाको औपचारिक जवाफको प्रतीक्षामा रहेको जनाएको छ ।

२०- चेन्नई सुपर किंग्सले जारी आइपिएलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेन्नईले मुम्बईलाई ८ विकेटले पराजित गरेको हो । मुम्बईले दिएको १६० रनको लक्ष्य पछाएको चेन्नईले १८.१ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । चेन्नईका लागि कप्तान रुतुराज गायकवाडले अविजित ६७ रन बनाएका थिए भने कार्तिक शर्माले अविजित ५४ रन बनाएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको मुम्बई इण्डियन्सले २० ओभरमा ७ विकेट गुमाएर १५९ रन बनाएको थियो । मुम्बईका लागि नमन धिरले ५७ रन बनाएका थिए भने रयान रिकेलटनले ३७ रन बनाएका थिए । यो जितपछि चेन्नईको ९ खेलमा ८ अंक भएको छ र छैटौं स्थानमा रहेको छ । त्यस्तै मुम्बईले भने सातौं हार बेहोरेको छ । मुम्बईको ९ खेलमा ४ अंक रहेको छ । जारी आइपिएल अन्तर्गत आज दुई खेल हुदैछन् । आज पहिलो खेल सनराइजर्स हैदरावाद र कोलकोताबीच हुदैछ भने दोस्रो खेल गुजरात र पञ्जावबीच हुदैछ ।

Sharing

प्रतिक्रिया दिनुहोस