वैशाख २०, काठमाडौं । नेकपा एमालेले सम्पूर्ण सदस्यता प्रक्रिया अनलाइन प्रणालीमार्फत मात्र गर्ने भएको छ । आइतबार केन्द्रीय कार्यालयमा बसेको बैठकमा पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको हो ।

पार्टीका उपाध्यक्ष, महासचिव, प्रदेशका नेताहरू तथा जनसंगठनका प्रतिनिधिहरूको उपस्थितिमा संगठन विभागले प्रस्तुत गरेको सदस्यता व्यवस्थापनसम्बन्धी डेमो (प्रदर्शनात्मक) बैठकमा प्रस्तावित प्रणाली र कार्यान्वयन मोडेलबारे विस्तृत छलफल गरिएको थियो ।
बैठकमा अनलाइन प्रणालीमार्फत सदस्यता नवीकरण, नयाँ सदस्यता प्रवेश तथा सम्पूर्ण अभिलेख व्यवस्थापनलाई डिजिटल बनाउने प्रस्ताव अघि सारिएको हो। यसलाई सातै प्रदेश, सबै जिल्ला र ७५३ वटै पालिकामा एकैसाथ लागू गर्ने तयारी गरिएको छ।
बैठकलाई सम्बोधन गर्दै पार्टी उपाध्यक्ष विष्णु पौडेलले अनलाइन सदस्यता नवीकरण अभियान पार्टी जीवनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने महत्वपूर्ण कदम भएको बताए ।
संगठन विभागका संयोजक तथा पार्टी केन्द्रीय सचिव भानुभक्त ढकालले बैठकमा पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्य रहेको जानकारी दिए । उनले संगठनलाई केन्द्रीय तहदेखि वडा तहसम्म एकीकृत डिजिटल अभिलेखीकरण प्रणालीमा लैजानुपर्ने आवश्यकता औंल्याए ।
त्यसैगरी प्रत्येक पालिकामा भौतिक उपस्थितिमै सदस्यता सम्बन्धी सहजीकरण गरिने, पार्टीका कामसँग जोडेर सदस्यता नवीकरण गर्ने व्यवस्था मिलाइने बताइएको छ । अनलाइन प्रणालीमार्फत केन्द्रीय समितिदेखि वडा तहसम्म संगठनमा आबद्ध नेताहरूको बायोडाटा संकलन तथा अभिलेखीकरण गरिनेछ ।
यसअघि पार्टी महासचिवको उपस्थितिमा सातै प्रदेशका अध्यक्षहरूसहित संगठन विभागको बैठकले जेठ मसान्तलाई सदस्यता नवीकरणको अन्तिम मिति तोक्ने प्रस्तावसमेत अघि सारेको थियो । संगठन विभागका संयोजक ढकालका अनुसार तोकिएको समयभित्र सदस्यता नवीकरण नगर्ने सदस्यहरू स्वतः सम्बन्धित पार्टी समितिको जिम्मेवारीबाट मुक्त हुने व्यवस्था लागू गरिनेछ ।