• २०८३ बैशाख १९ गते शनिवार

विगत बिर्सेर सकारात्मक सोचका साथ अघि बढ्न नेता आङदेम्बेको आग्रह

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

वैशाख १९, काठमाडौं ।नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विगतका घटनाबाट अब सबैले सकारात्मक सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन्। जिल्ला समन्वय समितिको आवश्यकता र स्थायित्वबारे आगामी कार्यदिशामा केन्द्रित छलफल गर्न आयोजित एकदिने कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सत्तामा रहेका शक्तिप्रति सकारात्मक सोच राख्नुपर्ने बताए ।

उनले भने, ‘हिजो नदेखिएको शक्ति आज सत्तामा हुनुहुन्छ, त्यो आजको चाहना हुन सक्छ । त्यसकारण हिजोका मितिका कुराहरू दोहोर्याउँदै बस्ने हो भने नयाँ सोचमा थप्न खोजिएको सकारात्मकता पनि टुंगोमा पुग्न सक्दैन । हिजो जे भयो, त्यहाँबाट निस्केर अगाडि बढ्नुपर्छ ।’ उनले राजनीतिक दलभित्र देखिएका नयाँ अनुहार र सोचलाई समान रूपमा मूल्यांकन गर्नुपर्ने धारणा राखे । सबैलाई एउटै नजरले हेरेर आक्रोश पोख्नु उपयुक्त नभएको उल्लेख गर्दै उनले भने, ‘पार्टी हिजोकै भएपनि इतिहास बदलिन्छ । नयाँ अनुहार र सोचले समयअनुकूल प्रतिस्पर्धामा आफूलाई प्रस्तुत गर्छन् भन्ने विश्वास गर्नुपर्छ ।’

नेता आङदेम्बेले आशा नै जीवनको प्रमुख आधार भएको उल्लेख गर्दै सकारात्मक सोचका साथ अगाडि बढ्न आग्रह गरेका छन् । उनले भने, ‘नयाँ अनुहार र सोचहरुले नयाँ ढंगबाट जाने आफ्ना प्रतिवद्धताहरु समयअनुकुल प्रतिस्पर्धामा आफूलाई होमाउँछन् पनि जान्छन् पनि यो विश्वास पनि गर्नुपर्छ । आशा भनेको सबैभन्दा ठूलो जीवन जीउने आधार हो ।’ यसैगरी नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले आफ्नो पार्टी जिल्ला समन्वय समिति चाहिन्छ भन्ने मान्यता राख्ने बताएका छन् । उनले समन्यायिक विकास र स्रोतको कार्यान्वयनको विषयको प्रभावकारी अनुगमन गर्ने निकायका रूपमा जिल्ला समन्वय समिति चाहिने बताए । उनले आफूले यसो भन्दा ‘सत्तामा हुँदा केही नगरेको’ भन्ने आरोप आएको पनि बताए ।

उनले भने, ‘जिल्ला समन्वय समिति चाहिन्छ कि चाहिँदैन भन्ने कुरामा दलका हिसाबले नेकपा एमाले यो चाहिन्छ र प्रभावकारी हुनुपर्दछ भन्ने ठान्छ, ‘स्थानीय सरकार सञ्चालन ऐन आकाशबाट त्यत्तिकै असिना बर्सेजस्तो झरेको हो ? संघ, प्रदेश र स्थानीय तह अन्तरसम्बन्ध र समन्वय ऐन त्यत्तिकै त आएन होला नि ?,’ उनले प्रश्न गर्दै भने, ‘पर्याप्त भएन भन्नुस् न । सत्तामा रहुञ्जेल सुतिरहनुभयो, अहिले आएर दुःख बिसाउनुभयो भन्ने किसिमको बहसले निष्कर्ष निस्किदैन ।’

Sharing

प्रतिक्रिया दिनुहोस