वैशाख १६, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका नदी किनार तथा जोखिमयुक्त क्षेत्रका अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट एकै समयमा खाली गर्ने जानकारी दिएको छ ।

बुधबार सूचना जारी गर्दै काठमाडौँ जिल्लाभित्रका विभिन्न स्थानीय तहमा नदी किनार, सरकारी, सार्वजनिक, पर्ति तथा निजी जग्गा समेत अतिक्रमण गरी वर्षौँदेखि बसोबास गर्दै आएका अनधिकृत बस्तीहरू हटाइने बताएको हो ।
यो अभियान वैशाख १८ गते बिहान ७ बजेबाट एकै पटक विभिन्न स्थानमा सुरु हुने प्रशासनले जनाएको छ । प्रशासनले वैशाख १७ गते साँझसम्म सबै घरटहरा खाली गर्न आग्रह गरेको छ ।
त्यस्तै जोखिमयुक्त बस्तीमा रहेका संरचना तत्काल खाली गर्न, साथै बिरामी, अशक्त, वृद्धवृद्धा, गर्भवती, सुत्केरी र साना बालबालिकालाई सुरक्षित स्थानमा सार्न विशेष ध्यान दिन भनिएको छ । आवश्यक परे नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नगर प्रहरीको सहयोग लिन सकिने उल्लेख छ । अस्पताल जानुपर्ने बिरामीका लागि एम्बुलेन्सको व्यवस्था रहने पनि जनाइएको छ ।
त्यस्तै व्यक्तिगत सामान, लत्ताकपडा तथा पशुचौपाया सुरक्षित स्थानमा सार्न आग्रह गरिएको छ । ढुवानी आवश्यक परे सुरक्षाकर्मी र स्थानीय निकायको सहयोग लिन सकिने प्रशासनले स्पष्ट पारेको छ ।
सरकारले वास्तविक रूपमा आश्रय आवश्यक पर्ने परिवारलाई वैकल्पिक स्थानमा बसोबासको व्यवस्था गर्ने र भूमिहीनहरूको दीर्घकालीन समाधानका लागि प्रक्रिया अघि बढाइने जनाएको छ ।
प्रशासनले अफवाह वा गलत हल्लामा नलाग्न आग्रह गर्दै मानवीय सहायता तथा उद्धार कार्य जारी रहने उल्लेख छ । साथै नक्कली भूमिहीन पहिचान भए कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ ।
सरकारले यो अभियान नागरिक सुरक्षा र विपद् जोखिम न्यूनीकरणका लागि भएको बताउँदै सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।