वैशाख २, कञ्चनपुर। कञ्चनपुर जिल्ला खेलकुद समितिको अध्यक्ष पदमा शुक्लाफाँटा नगरपालिका–७ का ज्ञानेन्द्रबहादुर सिंहलाई मनोनयन गरिएको छ । सुदूरपश्चिम खेलकुद परिषद्ले उहाँलाई आगामी चार वर्षका लागि उक्त जिम्मेवारी सुम्पिएको हो ।

सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्काका अनुसार, सुदूरपश्चिम खेलकुद नियमावली, २०७७ को नियम ५ (क) बमोजिम परिषद्को बैठकले सिंहलाई अध्यक्ष पदमा मनोनयन गर्ने निर्णय गरेको हो । जिल्लाको खेलकुद संरचनालाई चलायमान बनाउन र खेल क्षेत्रको नीतिगत व्यवस्थापनका लागि सिंहको नियुक्ति गरिएको जनाइएको छ ।
मनोनयनपछि नवनियुक्त अध्यक्ष सिंहले खेलकुद क्षेत्रको विकासका लागि आफू पूर्ण रूपमा समर्पित हुने बताउनुभयो । पदको गरिमालाई आत्मसात् गर्दै उहाँले प्रचलित ऐन, नियम र प्रदेश खेलकुद परिषद्को निर्देशन पालना गर्दै आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सिंहले आफ्नो कार्यकालमा कुनै पनि राजनीतिक वा अन्य प्रभावमा नपरी निष्पक्ष र तटस्थ रूपमा काम गर्ने उद्धोष गर्नुभएको छ । कञ्चनपुरमा रहेका खेल प्रतिभाहरूको पहिचान गर्ने र उनीहरूलाई उचित मञ्च प्रदान गर्न आफू सदैव तत्पर रहने उहाँको भनाइ छ । जिल्लाभरका खेलाडी र खेलप्रेमीहरूको हितमा काम गर्दै खेलकुदको समग्र विकासमा इँटा थप्नु नै आफ्नो मुख्य उद्देश्य रहेको उहाँले उल्लेख गर्नुभयो ।