फागुन १२, मुगु । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालय मुगुले मंगलबार जिल्ला स्थित सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । अन्तरक्रिया कार्यक्रममा मुगु जिल्लाको अद्यावधिक मतदाता तथ्याङ्क, मतदानस्थल तथा मतदान केन्द्रको अवस्था र निर्वाचन तयारीको समग्र बारे जानकारी गराईएको थियो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार पछिल्लो अद्यावधिकमा तीन हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । १८ वर्ष पूरा गर्ने मतदातालाई समेट्दा मुगु जिल्लाको कुल मतदाता संख्या ३६ हजार ३१ रहेको छ । यसमध्ये महिला १७ हजार ४ सय ३३ र १८ हजार ५ सय ९८ जना पुरुष रहेका छन् । गत वर्षको २०७९ सालको निर्वाचनमा ३५ हजार ४ सय ८५ रहेको थियो भने यो वर्ष ५ सय ४६ जनाको मतदाताको सख्या बढेको जानकारी गराइर्एको थियो । निर्वाचन कार्यालयले यो निर्वाचनलाई लोकतान्त्रिक प्रक्रियाप्रतिको जनचासो र मतदाता नामावली अद्यावधिकको सकारात्मक प्रभावका रूपमा व्याख्या गरेको छ ।
मतदान व्यवस्थापनका लागि ४ सय १७ जना कर्मचारी खटाइसकिएको जिल्ला निर्वाचन कार्यालय मुगुका कार्यालय प्रमुख कमल उपाध्यायले बताउनु भयो । कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत मीनबहादुर कुँवरका अनुसार पछिल्ला वर्षहरूमा निर्वाचन आयोगले प्रविधिमैत्री निर्वाचन प्रणाली र डिजिटल मतदाता शिक्षामा जोड दिएको बताए । तथ्यपरक र उपयोगी जानकारी प्रदान गरी जिम्मेवार र सचेत मतदान संस्कृतिको विकास गर्नु मतदाता शिक्षाको मूल उद्देश्य रहेको बताए । दुर्गम क्षेत्रमा नयाँ मतदाता थपिनु लोकतान्त्रिक अभ्यासप्रतिको सकारात्मक संकेत भएको उल्लेख गर्दै सबै योग्य नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गरी निर्वाचन प्रक्रियामा सक्रिय सहभागी हुन आग्रह गरेका छन् । निर्वाचनका बेला सञ्चारकर्मीहरुले सत्य तथ्य र सन्देश मुलक समाचार सामग्री प्रशारण गर्न आग्रह गरेका छन् । भ्रमित सुचना लाई आधार मानेर समाचार संकलन , प्रकाशित, प्रशारण नगर्न र आधिकारिक ब्यक्ति सँग समन्वय गरेर समाचार संकलन गर्न अनुरोध गरेका छन् । अन्तरक्रिया कार्यक्रममा बोल्दै सञ्चारकर्मीहरुले सहि सुचना र समयमै सुचना प्रवाह गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मिडिया डेस्क स्थापना गर्न समेत सुझाव दिएका छन् । मिडिया डेस्क स्थापना गरे पश्चात मिडिया लाई आवश्यक सुचनाहरु आदानप्रदान गर्न सहज र विश्वसनिय हुने नेपाल पत्रकार महासंघ मुगुका उपाध्यक्ष जीवन सेजुवालले बताए ।
सुरक्षाको पक्षमा प्रशासन पूर्ण रूपमा तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले बताए । निर्वाचनलाई सुरक्षित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सुरक्षा, समन्वय र व्यवस्थापनका सबै पाटाहरु प्रशासन सजग र सक्रिय भएको बताए । मतदाताले निर्भय वातावरणमा मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गरिनेछ । निर्वाचन अन्तिम चरणमा प्रवेश गरेसँगै जिल्लाका विभिन्न मतदानस्थलको स्थलगत अनुगमन गरिएको छ । आचारसंहिता उल्लंघन नियन्त्रणका लागि विशेष अधिकृत खटाइएको, सुरक्षा संयन्त्र सक्रिय बनाइएको र संवेदनशील क्षेत्रहरूमा थप निगरानी बढाइएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयले आगामी निर्वाचनलाई व्यवस्थित, पारदर्शी र निष्पक्ष बनाउन आवश्यक तयारी तीव्र रूपमा अघि बढाइएको जनाएको छ । कार्यालयले पुनः सबै योग्य नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गरी लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ । निर्वाचनका लागि मुगुमा मतपत्र आइपुगेको छ ।