• २०८३ मङ्सिर ६ गते शनिवार

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १७ मिनेट

माघ ३, काठमाडौं । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- आइतबारदेखि नेपालमा शुरु हुने आइसीसी महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायर प्रतियोगिताको ट्रफी सार्बजनिक गरिएको छ । ग्लोबल क्वालिफायरमा १० देशका कप्तानसहित ट्रफी शनिबार सार्बजनिक गरिएको हो । आइतबार प्रतियोगिताको पहिलो दिन चार खेल हुदैछन् । जस अनुसार नेपालले थाइल्याण्डको सामना गर्दै छ भने यो खेल टियु क्रिकेट मैदानमा हुदैछ । त्यस्तै अपर मुलपानी क्रिकेट मैदानमा अमेरिका र बंगलादेश खेल्दैछन् । त्यस्तै आजै अर्को खेल जिम्बाबे र नेदरल्याण्डस टियु क्रिकेट मैदानमा खेल्दैछन् भने अपर मुलपानी क्रिकेट मैदानमा आयरल्याण्ड र पीएनजी खेल्ने तालिका रहेको छ । क्यानले दर्शकका लागि नि: शुल्क प्रवेश हुने जानकारी दिएको छ । जनवरी १८ देखि फेब्रुअरी १ सम्म आयोजना हुन लागेको ग्लोबल क्वालिफायरमा १० देशले भाग लिदैछन् । १० मध्ये शिर्ष चार देश इङल्याण्डमा २०२६ को जुनमा हुने महिला टी-२० विश्वकपमा छनौट हुनेछन् । ग्लोबल क्वालिफायरमा समुह ए मा आयरल्याण्ड, स्कटल्याण्ड, थाइल्याण्ड, अमेरिका र जिम्बाबे रहेका छन् भने समुह बी मा बंगलादेश, नामिबिया, नेपाल, नेदरल्याण्डस र पिएनजी रहेका छन् ।

२- पोखरामा फोहोर व्यवस्थापनका लागि प्रस्ताव गरिएको ल्याण्डफिल साइटको विषयमा विवाद बढेपछि फोहोर व्यवस्थापन अवरुद्ध भएको छ । पोखरा महानगरपालिका–३३ मा फोहोर व्यबस्थापनका लागि प्रस्ताव गरिएको ल्याण्डफिल साइटको विषयमा भएको विवाद बढ्दै गएपछि स्थानीयले वडा कार्यालयमा तालावन्दी गरेका छन् । सो अवसरमा वडाध्यक्षले रामचन्द्र अधिकारीले खुकुरी देखाउँदै स्थानीयलाई तर्साउन खोजेपछि उनलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिकाले पोखरा–३३ पुँडिटारमा ल्याण्डफिल साइट बनाउने उद्देश्यले मंसिर २ गते टेरासोल्भ रिन्युवल नेपाल प्रालिसँग सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा सम्झौता गरेको थियो । सम्झौताअनुसार कम्पनीले ८० करोड लगानी गरी २१ वर्षसम्म ल्याण्डफिल साइट व्यवस्थापन तथा प्रशोधन केन्द्र निर्माण गर्ने बताइएको छ । २६ महिनाभित्र प्रशोधन केन्द्र निर्माण गरिसक्ने र महानगरले ३० दिनभित्र जग्गा उपलब्ध गराउने सम्झौतामा उल्लेख गरिएको छ । परियोजनाअन्तर्गत स्थानीय १७ परिवारको नाममा लालपूर्जा भएको करिब ९६ रोपनी जग्गा महानगरले रोक्का गरेको छ । तर स्थानीयबासीले आफूहरूसँग कुनै सरसल्लाह नगरी परियोजना अघि बढाइएको भन्दै विरोध गरिरहेका छन् । यसैबीच विवाद बढेपछि पोखरा महानगरपालिका भित्र उत्सर्जन हुने फोहोर मैला व्यवस्थापन रोकिएको छ । महानगरले पछिल्लो विकसित समस्याको निराकरणका लागि प्रयत्न गरिरहेको भन्दै समस्याको समाधान नभएसम्म आफ्नो घर, व्यावसायिक स्थल तथा अन्य क्षेत्रमा उत्पन्न हुने फोहोर सार्वजनिक स्थल, सडक, चोक, बसपार्क, ताल पोखरी तथा नदी किनारमा जथाभाबी नफ्याँक्नुहुन आग्रह गरेको छ । साथै सम्भव भएसम्म कुहिने र नकुहिने फोहोर घरमै छुट्टाएर नकुहिने फोहोरलाई जम्मा गर्ने एवं कुहिने फोहोरलाई अन्य वैकल्पिक प्रयोगको उपाय अवलम्बन गर्न अनुरोध गरेको छ । पछिल्लो केहि दिनपछि सडकको फोहोर समेत व्यवस्थापन हुन नसक्दा पोखराका सडकमा फोहोर थुप्रिन थालेको छ ।

३- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा आसन्न प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार नबन्ने भएपछि नयाँ उम्मेदवार सिफारिस गरिएको छ । काँग्रेसको झापा-१ क्षेत्रीय समितिले पाँच जनाको नाम सिफारिस गरेको हो । क्षेत्रीय समितिले अखिल नेपाल फूटबल सङ्घ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ, अधिवक्ता अशोककुमार पोखरेल, बिना तामाङ, गौतम मजुमदार र सुवेशकुमार पनेरूलाई सिफारिस गरेको छ । उपसभापति शर्माले २०७९ को निर्वाचनमा यसै क्षेत्रबाट चुनाव जितेका थिए । यसअघि क्षेत्रीय समितिले शर्मालाई एकल नाम सिफारिस गरेपनि उनले यस पटकको निर्वाचन नलड्ने घोषणा गरेका छन् ।

४- कपिलवस्तु काँग्रेसका नेता तथा पूर्वमन्त्री वीरेन्द्रकुमार कनौडिया एमालेमा प्रवेश गरेका छन् । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायतका नेताले कनौडियालाई पार्टीमा स्वागत गरेका हुन् । उनलाई कपिलवस्तु-३ बाट आगामी प्रतिनिधि सभामा एमालेबाट उम्मेदवार बन्ने गरी अध्यक्ष ओलीले टिकट प्रदान गरेका छन् । कनौडिया लुम्बिनी प्रदेशसभामा कांग्रेसका पूर्वसांसद हुन् । अघिल्लो संसदमा उनी प्रदेश संसदीय दल नेता समेत रहेका थिए । २०७४ मा उनी कपिलवस्तु-३ को प्रदेशसभा (ख) बाट विजयी भएका थिए भने २०७९ मा उनी सोहि क्षेत्रबाट पराजित भएका थिए । उनी चिनी मिल र नेपालगन्ज मेडिकल कलेजका सञ्चालक हुन् ।

५- गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीले १२ औँ महाधिवेशनको नयाँ मिति तय गरेको छ । कमिटीको सातौँ बैठकले यसअघि फेब्रुअरीका लागि तय गरिएको महाधिवेशनलाई सारेर आगामी मार्च १४ देखि १६, २०२६ सम्म आयोजना गर्ने अन्तिम निर्णय गरेको हो। महासचिव गौरीराज जोशीद्वारा सञ्चालित बैठकले महाधिवेशनको मिति मात्र नभई सदस्यता नवीकरण, मर्जर र व्यवस्थापनका विषयमा समेत महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकले १२ औँ महाधिवेशन काठमाडौँस्थित होटल सोल्टीमा आयोजना गर्ने निर्णय गरेको छ। यसअघि नै टेन्डर प्रक्रियाबाट छनोट भइसकेको ‘भोग एड एण्ड इभेन्ट म्यानेजमेन्ट’ कम्पनीले नै महाधिवेशनको व्यवस्थापन गर्नेछ। नयाँ मितिका लागि होटल र इभेन्ट कम्पनीसँग सचिवालयमार्फत पुनः सम्झौता प्रक्रिया अघि बढाइने भएको छ । संघले नयाँ सदस्यता लिन चाहने वा छुटेकाहरूका लागि आवेदन दिने म्याद जनवरी २५, २०२६ सम्म विस्तार गरेको छ । समानान्तर रूपमा रहेका एनसीसीहरूले अन्य पोर्टलमार्फत बनाएका सदस्यहरूको विवरण पनि सोही मितिभित्र बुझाइसक्नुपर्नेछ। यसको समन्वय महासचिव बी. आर. लामा र अध्यक्ष महेश कुमार श्रेष्ठले गर्नेछन्। मे २०२५ को एकता महाधिवेशनका सदस्य र नयाँ प्राप्त विवरणहरूलाई ‘मर्ज’ गरी डकुमेन्ट भेरिफिकेसनपश्चात् जनवरी ३१ भित्र अन्तिम सदस्यता नामावली सार्वजनिक गरिनेछ । बैठकले अझै पनि समानान्तर रूपमा रहेका एनसीसीहरूसँग स्टेरिङ कमिटीले सिधै संवाद गरी एकताको वातावरण बनाउने निर्णय गरेको छ। निर्वाचन प्रक्रियाका कानुनी जटिलता सुल्झाउन दुवै पक्षका कानुनी सल्लाहकारसहित परराष्ट्र मन्त्रालयसँग थप परामर्श गरिने संघले जनाएको छ ।

६- अष्ट्रेलियाले १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्लेटफर्मको प्रयोगमा प्रतिबन्ध लगाएपछि, सामाजिक सञ्जाल कम्पनीहरूले बालबालिकाको रूपमा पहिचान गरिएका ४७ लाख खाताहरूमा पहुँच रोकेको छ । सरकारको ई-सुरक्षा आयुक्तद्वारा जारी गरिएको तथ्याङ्कले डिसेम्बर १० मा प्रतिबन्ध लागू भएपछि, १६ वर्ष मुनिका बालबालिकाका खाताहरू निष्क्रिय पारिएको थियो । सञ्चारमन्त्री अनिका वेल्सले अष्ट्रेलियाली अभिभावकहरू अब निश्चिन्त हुन सक्ने बताउदै उनीहरूका बच्चाहरूले आफ्नो बाल्यकाल फिर्ता पाउन सक्ने बताइन । उनले १० सामाजिक सञ्जाल प्लेटफर्महरूले सरकारलाई तथ्याङ्क दिको बताएकी छन् । प्रधानमन्त्री एन्थोनी अल्बानीजले कम्पनीहरूले प्रतिबन्ध पालना गरिरहेका छन् भन्ने कुरा उत्साहजनक रहेको बताएका छन् । तर परिवर्तन रातारात हुँदैन भन्दै उनले प्रारम्भिक संकेतहरूले सरकारले चालेका कदमहरू महत्त्वपूर्ण रहेको बताएका छन् । यसैबीच अस्ट्रेलियामा मेटाले हालै डिसेम्बर ११ सम्म फेसबुक, इन्स्टाग्राम र थ्रेडहरूमा ५.४४ लाख भन्दा बढी खाताहरू निष्क्रिय पारेको बताएको छ ।

७- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि झापा-५ बाट रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ । तामाङलाई नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा उम्मेदवारको टिकट दिएका हुन् । झापा-५ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । यस पटक यस क्षेत्रबाट रास्वपाका वरिष्ठ नेता बालेन शाह पनि उम्मेदवार बन्ने चर्चा चलिरहेको कारण यो क्षेत्र विशेष चर्चामा रहेको छ । तामाङ झापा-५ कै स्थानीय हुन भने उनले जन्मे हुर्केको र पढेको ठाउ भएकाले जनताको साथ पाउने विश्वास व्यक्त गरेका छन् ।

८- नेपाली काँग्रेसको देउवा समुह निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने भएको छ । शनिबार बिहान बसेको बैठकले माघ २ गते आयोगले गरेको निर्णय नेपालको संविधान, प्रचलित कानुन र कांग्रेसको विधान विपरीत रहेको ठहर गरेको प्रकाश शरण महतले जानकारी दिए । उनले आइतबार निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने बताएका छन् । उनले आयोगको निर्णयविरुद्ध कानुनी लडाइँसँगै राजनीतिक रूपमा पनि सशक्त प्रतिवाद गर्ने बताउदै आयोगले आफूलाई नबोलाइ कथित विशेष महाधिवेशनको वैधानिकता र उपस्थित सङ्ख्या समेत जाँच नगरी एकतर्फी निर्णय गरेको बताए ।शुक्रबार निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता प्रदान गरेको थियो ।

९- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले पार्टी एकता कायम राख्न अपिल गरेको छ । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिकता दिएपछि शनिबार बसेको केन्द्रीय समिति बैठकले पार्टी एकता कायम राख्न अपिल गरेको हो । प्रवक्ता देवराज चालिसेले पार्टीका एकता र सद्भावलाई कायम राख्दै उचाइमा पुर्‍याउन हार्दिक अपिल गर्ने निर्णय गरेको जानकारी दिएका छन् । पार्टीले निवर्तमान केन्द्रीय सदस्यहरूलाई पनि कांग्रेसलाई बलियो बनाउने भूमिकामा खेल्न आग्रह गरेको चालिसेले जानकारी दिए । साथै बैठकले निवर्तमान सभापति शेरबहादुर देउवालाई अभिभावकीय भूमिका रहन आग्रह समेत गरेको छ । सभापति देउवाले पार्टीलाई लामो समयसम्म दिएको योगदान र नेतृत्वलाई पनि पार्टीले उच्च मूल्यांकन गरेको प्रवक्ता चालिसेले जानकारी दिए ।

१०- आईसीसी पुरुष टी–२० विश्वकप २०२६ खेल्ने नेपाली क्रिकेट टिमको बिदाई गरिएको छ । शनिबार विशेष कार्यक्रम आयोजना गरेर क्यानले विश्वकप खेल्ने टिमको बिदाई गरेको हो । नेपाली टिमले विश्वकप अघि श्रीलंका र भारतमा अभ्यास खेलहरु खेल्ने तालिका छ । जस अनुसार श्रीलंका ए र कोल्ट्ससँग श्रीलंकामा जनवरी २०, जनवरी २२ र जनवरी २४ मा अभ्यास खेल खेल्ने छ । त्यस्तै नेपाली टिमले भारतमा मुम्बई क्रिकेट एसोसियसन प्रेसिडेन्ट एघारसँग जनवरी २९ मा अभ्यास खेल खेल्ने छ भने जनवरी ३१ मा सिसिआईसँग खेल्ने क्यानले जानकारी दिएको छ । क्यानले विश्वकप खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, करण केसी, शेर मल्ल र बसिर अहमदलाई छनौट गरेको छ । आईसीसी विश्वकप आगामी फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा हुनेछ । नेपालको समूह बंगलादेश, इङल्यान्ड, इटाली र वेष्ट इण्डिज रहेका छन् । नेपालले पहिलो खेल आगामी फेब्रुअरी ८ मा इङल्यान्डसँग, फेब्रुअरी १२ मा इटाली, १५ मा वेष्ट इण्डिज र १७ मा बंगलादेशसँग खेल्ने छ । नेपालले आफ्ना सबै खेल मुम्बईस्थित वाङखडे स्टेडियममा खेल्ने छ ।

११- धनगढीका स्वतन्त्र मेयर गोपाल हमालले कुनै पनि पार्टीमा आबद्ध नहुने बताएका छन् । सामाजिक सञ्जाल र मिडियामा हमाल रास्वपा जाने हल्ला चलेपछि उनले पाँच वर्षसम्म धनगढीको जनताको सेवा गर्ने स्पष्ट गर्दै कुनै पार्टीमा नजाने बताएका हुन् । उनले भनेका छन्- ‘मैलै कुनै पनि पार्टी प्रवेश गर्ने योजना बनाएको छैन । मलाई धनगढीका मतदाताले पाँच वर्षका लागि स्वतन्त्र मेयरका रुपमा निर्वाचित गराएका हुन् । म धनगढीबासीले दिएको जिम्मेवारी र विश्वासलाई इमानदार भएर पूरा गर्ने प्रयासमा छु । पाँच वर्ष पूरा नहुँदासम्म म कुनै पनि राजनीतिक दलमा लाग्ने छैन ।’ उनले निराधार समाचारमा विश्वास नगर्न अनुरोध गर्दै भनेका छन्- ‘मलाई जनताले स्वतन्त्र मेयर भनेर जिताएका हुन् । म जनाताको म्याण्डेडअनुसार २०८४ को स्थानीय चुनावसम्म स्वतन्त्र नै रहेर काम गर्छु । अहिले कुनै पनि पार्टी प्रवेश गर्ने योजना छैन । हल्ला र सामाजिक सञ्जालका पछि नलाग्न सबैमा मेरो अनुरोध छ ।’

१२- टेस्ला र एक्सका मालिक एलन मस्कका छोराछोरीकी आमा एशले सेन्ट क्लेयरले एक्स एआईविरुद्ध मुद्दा दायर गरेकी छिन् । उनले एक्सएआईको च्याटबट, ग्रोकले प्रयोगकर्ताहरूलाई उनको यौन शोषणकारी डिपफेक तस्बिरहरू सिर्जना गर्न अनुमति दिएको आरोप लगाएकी छिन्, जसले गर्दा उनको मानसिक पीडा र अपमान भएको छ । लेखक र राजनीतिक रणनीतिकार २७ वर्षीया एशले सेन्ट क्लेयरले न्यूयोर्कको राज्य अदालतमा मुद्दा दायर गरेकी हुन् । उनले ग्रोकले बनाएको तस्बिरले १४ वर्षको उमेरमा बिकिनी लगाएको उनको पुरानो तस्बिरलाई परिवर्तन गरेको आरोप लगाएकी छिन् । यसका साथै, अन्य तस्बिरहरूले उनलाई यौन स्थितिमा वयस्क महिलाको रूपमा र स्वस्तिक चिन्हले भरिएको बिकिनी लगाएको रूपमा चित्रण गरेको छ । यहूदी सेन्ट क्लेयरले यसलाई अझ अपमानजनक र डरलाग्दो रूपमा वर्णन गरेकी छिन् । एक्सएआईले मुद्दालाई न्यूयोर्क राज्य अदालतबाट म्यानहट्टन संघीय अदालतमा स्थानान्तरण गरेको छ । यसबाहेक, एक्सएआईले त्यही दिन टेक्सासको संघीय अदालतमा एशले सेन्ट क्लेयर विरुद्ध प्रतिवाद दायर गरेको छ । एक्सएआईले आरोप लगाएको छ, सेन्ट क्लेयरले एक्सएआई प्रयोगकर्ता सम्झौताको उल्लङ्घन गरेको छ, जसमा कम्पनीविरुद्ध मुद्दा टेक्सासको संघीय अदालतमा मात्र दायर गर्न सकिन्छ भनिएको छ । यस प्रतिवादमा, एक्सएआईले अनिर्दिष्ट क्षतिपूर्ति पनि खोजेको थियो । सेन्ट क्लेयरले यी डीपफेक तस्बिरहरूको बारेमा थाहा पाउने बित्तिकै, उनले गत वर्ष एक्सलाई गुनासो गरेकी थिइन् र तस्बिरहरू हटाउन माग गरेकी थिइन् । यद्यपि, आफ्नो प्रारम्भिक प्रतिक्रियामा, प्लेटफर्मले फोटोहरूले यसको नीतिहरू उल्लङ्घन नगरेको बताएको छ ।

१३- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डलाई गाभ्ने आफ्नो महत्वाकांक्षालाई समर्थन नगर्ने देशहरूमा कर लगाउने धम्की दिएका छन् । ह्वाइट हाउसमा भएको बैठकमा ट्रम्पले यदि ग्रीनल्याण्ड मुद्दामा उनीसँग सहयोग गरेन भने उनी अन्य देशहरूमा कर लगाउन सक्छन् । ट्रम्पले कुन देशहरू नयाँ करको अधीनमा हुन सक्छन् वा आफ्नो लक्ष्य हासिल गर्न उनले कुन अधिकार प्रयोग गर्नेछन् भनेर स्पष्ट बने गरेका छैनन् । ग्रीनल्याण्डको आफ्नै सरकार छ, यद्यपि यो डेनिश नियन्त्रणमा पर्दछ । डेनमार्क र ग्रीनल्याण्ड, साथै अन्य देशहरूले उनको योजनाको विरोध गरिरहेका छन्, र अमेरिकामा धेरैले विलयको बारेमा शंका व्यक्त गरेका छन् । ट्रम्पले यी टिप्पणीहरू गर्दा, द्विदलीय कंग्रेसनल प्रतिनिधिमण्डलले क्षेत्रको लागि समर्थन व्यक्त गर्न ग्रीनल्याण्डको भ्रमण गरिरहेको थियो । प्रतिनिधिमण्डलले डेनिस प्रधानमन्त्री मेट्टे फ्रेडरिकसेन र ग्रीनल्याण्ड प्रधानमन्त्री जेन्स-फ्रेडरिक निल्सनसँग भेट गरेको थियो ।

१४- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा युद्धविरामको लागि प्रस्तुत गरेको २० बुँदे प्रस्ताव कार्यान्वयन गर्न पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयर र उनका ज्वाइँ जारेड कुशनरलाई ‘शान्ति बोर्ड’ मा नियुक्त गरेका छन् । ह्वाइट हाउसले टोनी ब्लेयर बोर्डका संस्थापक सदस्यहरू मध्ये एक हुने घोषणा गरेको छ । अन्य संस्थापक सदस्यहरूमा जारेड कुशनर, अमेरिकी विदेशमन्त्री मार्को रुबियो र पश्चिम एसियाका लागि ट्रम्पका विशेष दूत स्टिभ विटकफ समावेश छन् । टोनी ब्लेयरले १९९७ देखि २००७ सम्म बेलायती प्रधानमन्त्रीको रूपमा काम गरेका थिए । उनको नेतृत्वमा बेलायत इराक युद्धमा सामेल भएको थियो । प्रधानमन्त्री पद छोडेपछि, टोनी ब्लेयरले संयुक्त राज्य अमेरिका, युरोपेली संघ, रूस र संयुक्त राष्ट्र संघ लगायत अन्तर्राष्ट्रिय शक्तिहरूका लागि पश्चिम एसियाका लागि विशेष दूतको रूपमा काम गरेका थिए । अन्य बोर्ड सदस्यहरूमा अपोलो ग्लोबल म्यानेजमेन्टका सीईओ मार्क रोवेन, विश्व बैंकका अध्यक्ष अजय बांगा र अमेरिकी उप-राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट गेब्रियल समावेश छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस बोर्डको अध्यक्षता गर्नेछन् । ह्वाइट हाउसले बोर्ड सदस्यहरूले गाजालाई स्थिर बनाउने र शासन क्षमता निर्माण, क्षेत्रीय सम्बन्ध, गाजामा पुनर्निर्माण, लगानी, वित्तपोषण र पूँजी परिचालन सहित दीर्घकालीन विकास योजना विकास गर्ने काम गर्ने बताएको छ । शान्ति बोर्डको अतिरिक्त, एक छुट्टै प्यालेस्टिनी टेक्नोक्रेटिक समिति पनि गठन गरिएको छ । राष्ट्रिय प्रशासन समिति भनिने यो १५ सदस्यीय समितिले गाजामा प्रशासनको निरीक्षण गर्नेछ । प्यालेस्टिनी प्राधिकरणका पूर्व उपप्रधानमन्त्री अली साथले यस बोर्डकोको अध्यक्षता गर्नेछन् । बुल्गेरियाका नेता र मध्य पूर्वका लागि युएईका पूर्व विशेष दूत निकोलाई म्लादेनोभ पनि यस समितिका सदस्य हुनेछन् । ट्रम्पले गाजामा अन्तर्राष्ट्रिय स्थिरीकरण बल तैनाथ गर्ने योजना पनि बनाएको छ । यो बलले प्यालेस्टिनी प्रहरी बललाई तालिम दिनेछ । अमेरिकी मेजर जनरल जास्पर जेफर्सले यो अन्तर्राष्ट्रिय स्थिरीकरण बलको नेतृत्व गर्नेछन् । अमेरिकी शान्ति योजना गत वर्ष अक्टोबरमा लागू गरिएको थियो, जसले गर्दा गाजामा इजरायल र हमास बीच युद्धविराम भयो। यद्यपि, गाजाको भविष्यको बारेमा अनिश्चितता कायम छ । यस शान्ति योजनाको दोस्रो चरणमा गाजाको पुनर्निर्माण र हमासको निशस्त्रीकरण समावेश हुनेछ ।

१५- नेपाल क्रिकेट संघ (क्यान) ले भोली देखि शुरु हुने काठमाडौँमा आयोजना हुने आइसीसी महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा नि: शुल्क प्रवेशको पाउने घोषणा गरेको छ । क्यानले दर्शकलाई टिकट लिन नपर्ने घोषणा गरेको हो । जनवरी १८ देखि फेब्रुअरी १ सम्म आयोजना हुन लागेको ग्लोबल क्वालिफायरमा १० देशले भाग लिदैछन् । १० मध्ये शिर्ष चार देश इङल्याण्डमा २०२६ को जुनमा हुने महिला टी-२० विश्वकपमा छनौट हुनेछन् । ग्लोबल क्वालिफायरमा समुह ए मा आयरल्याण्ड, स्कटल्याण्ड, थाइल्याण्ड, अमेरिका र जिम्बाबे रहेका छन् भने समुह बी मा बंगलादेश, नामिबिया, नेपाल, नेदरल्याण्डसर पिएनजी रहेका छन् । नेपालले पहिलो खेल थाइल्याण्डविरुद्ध जनवरी १८ मा खेल्ने छ भने दोस्रो खेल जनवरी २२ मा नेदरल्याण्डसविरुद्ध खेल्ने छ । त्यस्तै नेपालले तेस्रो खेल जनवरी २४ मा जिम्बाबेविरुद्ध र जनवरी २६ मा चौथो खेल स्कटल्याण्डविरुद्ध खेल्ने तालिका रहेको छ ।

१६- नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले महान्यायाधिवक्ताले संगठित अपराध र सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर अभियोग लागेका मानिसहरुको मुद्दा खारेज गर्ने निर्णय गरी युवाहरूको आवाजलाई कुल्चेको आरोप लगाएका छन् । नेता रावलले महान्यायाधिवक्ताको यो निर्णयले खैरो सूचीमा परि कालो सूचीमा पर्ने खतरामा रहेको देशलाई कुशासन र स्वेच्छाचारीतन्त्रमा धकेल्ने कुचेष्टा गरेको बताएका छन् । महान्यायाधिवक्ता सबिता भण्डारीले रास्वपा सभापति रवि लामिछानेसहित उनको मुद्धासँग जोडिएका व्यक्तिहरुको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्धा फिर्ता लिन अनुमति दिने निर्णय गरेपछि यसको चौतर्फी विरोध भइरहेको छ । यस निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्धा समेत दायर भएको छ ।

१७- निबर्तमान स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने भएका छन् । सिंहले माघ ५ गते जनकपुरमा हुने रास्वपाको सभाबाट नयाँ राजनितिक अध्यायको सुरुवात गर्ने बताएका छन् । सिंहले यसअघिनै बालेन शाहसँग छलफल गरेर आफ्नो सम्भावित कदम बारे संकेत दिएका थिए ।उनले भनेका छन्: यहि माघ ५ गते जगत जननी माता सिताको जन्मस्थल जनकपुरधाम मा हुने राष्ट्रिय स्वतन्त्र पार्टी को कार्यक्रम बाट आफ्नो नयाँ राजनितिक अध्यायको सुरुवात गर्दैछु । देश र मधेशमा रहेको भ्रष्टाचार कुशासन बिरुद हिजो स्वतन्त्र रहदा उठाएको आवाज अब अझ बुलन्द हुनेछ । साथै म लगायत देश र मधेशको हित चाहने मधेशमा शिक्षा स्वास्थ्य रोजगार र भौतिक पुर्वाधार को बिकास चाहने सम्पुर्ण आमाबुवा तथा दिदिबहिनीहरुलाई यसै कार्यक्रम मार्फत जुडन आव्हान गर्दछु ।

१८- भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) न्युजील्याण्डविरुद्धको पाँच खेलको टी-२० सिरिजको लागि टिमको घोषणा गरेको छ । भारतको टी-२० टिममा श्रेयस अय्यरले कमब्याक गरेका छन् । उनले पहिलो तीन खेलका लागि भारतीय टोलीमा तिलक वर्माको स्थानमा लिएका छन् । यसबाहेक, बोर्डले वाशिंगटन सुन्दरको स्थानमा रवि बिश्नोईलाई टिममा राखेको छ । अय्यरलाई पहिलो तीन खेलको लागि टी-२० टोलीमा समावेश गरिएको छ । उनले अन्तिम पटक २०२३ मा अस्ट्रेलिया विरुद्ध भारतको लागि टी-२० खेल खेलेका थिए । त्यसबेलादेखि उनी टी-२० टोलीको हिस्सा भएका छैनन् । उनी हाल न्युजील्याण्डविरुद्धको जारी एकदिवसीय सिरीजमा तरंग बनाइरहेका छन् । भारतीय अलराउन्डर वाशिंगटन सुन्दर चोटका कारण न्युजिल्याण्ड विरुद्धको आगामी टी-२० सिरिजबाट बाहिरिएका छन् । पहिलो खेल २१ जनवरीमा नागपुरमा, दोस्रो खेल जनवरी २३ मा रायपुरमा, तेस्रो जनवरी २५ मा गुवाहाटीमा, चौथो जनवरी २८ मा विशाखापट्टनममा र पाँचौं जनवरी ३१ मा तिरुवनन्तपुरममा खेलिनेछ । टी–२० सिरिजको भारतीय टीम: सूर्यकुमार यादव (कप्तान), अभिषेक शर्मा, सञ्जु सैमसन (विकेटकीपर), श्रेयस अय्यर (पहिलो तीन टी–२०), हार्दिक पाण्डेय, शिवम दुबे, अक्षर पटेल (उपकप्तान), रिंकु सिंह, जसप्रित बुमराह, हर्षित राणा, अर्शदीप सिंह, कुलदीप यादव, वरुण चक्रवर्ती, शान किशन (विकेटकिपर), रवि बिश्नोई ।

१९- पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवनिर्वाचित सभापति गगनकुमार थापा र टिमलाई शुभकामना दिदै कांग्रेसको यो विधिसम्मत नेतृत्व पुस्तान्तरणले अरू दलहरूमा पनि सकारात्मक प्रभाव पार्नुपर्ने टिप्पणी गरेका छन् । निर्वाचन आयोगले थापा नेतृत्वको काँग्रेसलाई आधिकारिक मान्यता दिएपछि टिप्पणी गर्दै डा. भट्टराईले दलहरूको नेतृत्व मात्र हैन विचार, नीति, कार्यक्रम, संगठनात्मक प्रणाली, आचरण समेतको पुनर्संरचना र रूपान्तरण समयको माग हो भन्ने सबै नयाँ पुराना पार्टीहरुले आत्मसात गर्नुपर्ने बताएका छन् । उनले भने- ‘निर्वाचन आयोगको यो निर्णय संगै नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा र टिमलाई हार्दिक बधाइ तथा सफलताको शुभकामना ! देशको उदारवादी लोकतान्त्रिक धारको पुरानो पार्टी कांग्रेसको यो विधिसम्मत नेतृत्व पुस्तान्तरणले अरू दलहरूमा पनि सकारात्मक प्रभाव पारोस् । बहुदलीय लोकतन्त्र भनेको दलहरू वीच प्रतिस्पर्धा र सहकार्य दुवैको उचित समन्वय हो भन्ने सबैमा हेक्का रहोस् । साथै दलहरूको नेतृत्व मात्र हैन विचार, नीति, कार्यक्रम, संगठनात्मक प्रणाली, आचरण समेतको पुनर्संरचना र रूपान्तरण समयको माग हो भन्ने सबै नयाँ पुराना पार्टीहरुले आत्मसात गरून् ।

२०- गुगलले आधिकारिक रूपमा जेमिनी एआईसँग जिमेल अपग्रेड गर्न सुरु गरेको छ । प्रयोगकर्ताहरूले अब हेल्प मी राइट, एआई सजेस्टेड रिप्लाई, स्मार्ट सर्च र भविष्यमा एआई इनबक्स जस्ता सुविधाहरूबाट लाभ उठाउन सक्नेछन् । कम्पनीका अनुसार, यी अपग्रेडहरूले इमेल व्यवस्थापनलाई छिटो र स्मार्ट बनाउनेछन् । गुगलको यो नि:शुल्क प्रस्तावले जिमलेलाई पूर्ण रूपमा स्मार्ट बनाउने लक्ष्य राखेको छ । प्रयोगकर्ताहरूले एआई मार्फत इमेलहरू ड्राफ्ट गर्न र पुराना इमेलहरू अझ प्रभावकारी रूपमा सम्पादन गर्न सक्षम हुनेछन् । एआईले एक क्लिक जवाफहरू सुझाव दिनेछ, लामो इमेल थ्रेडहरू पढ्न र जवाफ दिन बिताउने समय घटाउनेछ । थप रूपमा, स्मार्ट खोज र इमेल सारांश सुविधाहरूले तपाईंलाई केही लाइनहरूमा लामो इमेलहरू बुझ्न मद्दत गर्नेछ । आगामी एआई इनबक्सले तपाईंको इनबक्सलाई स्वचालित रूपमा व्यवस्थित गर्नेछ, महत्त्वपूर्ण इमेलहरू र गर्नुपर्ने कामहरूको सूची शीर्षमा देखा पर्नेछ । गुगलले यी एआई सुविधाहरूले प्रयोगकर्ताहरूको समय उल्लेखनीय रूपमा बचत गर्नेछ र इमेल ओभरलोडको समस्यालाई उल्लेखनीय रूपमा कम गर्नेछ । गुगलले यी सबै सुधारहरू जेमिनी ३ एआई मोडेलको कारण सम्भव छ । यो रोलआउट हाल अमेरिकाका जिमेल प्रयोगकर्ताहरू र गुगल एआई प्रो र अल्ट्रा सदस्यहरूमा रोल आउट भइरहेको छ । यी सुविधाहरू हाल अंग्रेजीमा उपलब्ध छन्, तर चाँडै नै अन्य भाषाहरू र देशहरूमा विस्तार हुनेछन् । गुगलले यसलाई प्रयोगकर्ता अनुभवमा ठूलो सुधारको रूपमा प्रचार गरिरहेको छ, द रजिस्टर र बोइङबोइङ जस्ता वेबसाइटहरूले चेतावनी दिइरहेका छन् कि क्लाउड-आधारित एआई प्रशोधनले गोपनीयता जोखिम बढाउन सक्छ । एआई सुविधाहरू राम्रोसँग काम गर्नको लागि, जीमेल इनबक्सहरू गुगलको सर्भरहरूमा प्रशोधन गरिनेछ । यद्यपि गुगलले यो सुविधा पूर्वनिर्धारित रूपमा सक्रिय हुने बताएको छ, प्रयोगकर्ताहरूले चाहेमा यसलाई असक्षम गर्न सक्छन् । यो गर्न, तिनीहरूले पहिले सेटिङहरूमा जानुपर्छ, त्यसपछि जर्नल र स्मार्ट सुविधाहरूमा जानुपर्छ र तिनीहरूलाई बन्द गर्नुपर्छ । यो ध्यान दिन लायक छ, एआई असक्षम गर्नाले तिनीहरूलाई धेरै नयाँ, उन्नत सुविधाहरू पहुँच गर्नबाट पनि रोक्नेछ । यदि तपाईं इमेलमा व्यापक रूपमा काम गर्नुहुन्छ र स्मार्ट सहायता चाहनुहुन्छ भने, यो अपग्रेड लाभदायक हुन सक्छ । तर यदि गोपनीयता तपाईंको शीर्ष प्राथमिकता हो भने, आफ्नो सेटिङहरू जाँच गर्न वा वैकल्पिक इमेल क्लाइन्ट प्रयोग गर्न निश्चित गर्नुपर्ने हुन्छ । रिपोर्टका अनुसार जिमेलको नयाँ एआइ इनबक्सले परम्परागत इमेल सूचीलाई व्यक्तिगत ब्रीफिंगले प्रतिस्थापन गर्नेछ । यसमा गर्नुपर्ने कामको सूची, इमेलहरूको एआई आधारित सारांश र शीर्षमा देखिने सबैभन्दा महत्त्वपूर्ण इमेलहरू जस्ता सुविधाहरू समावेश हुनेछन् । यो सुविधा हाल अमेरिकामा चुनिएका विश्वसनीय परीक्षकहरूको लागि परीक्षण भइरहेको बताइएको छ ।अब गुगलले आफ्नो कार्यक्षेत्र इकोसिस्टममा जेमिनी एआईलाई गहिरो रूपमा इम्बेड गर्न चाहेको छ । बढ्दो इमेल ओभरलोडको समयमा एआई सहायक धेरै प्रयोगकर्ताहरूको लागि राहत हुन सक्छ, यसले डेटा नियन्त्रण र गोपनीयताको बारेमा पनि प्रश्नहरू उठाउनेछ । यसबाहेक, द रजिस्टरले अझै पनि बाहिर निस्कने बाटो रहेको बताएको छ। यदि प्रयोगकर्ताहरू जिमेलमा जबरजस्ती एआई चाहँदैनन् भने, तिनीहरूले थण्डरबर्ड जस्ता स्ट्यान्डअलोन इमेल क्लाइन्टहरू वा अपरेटिङ सिस्टममा निर्मित इमेल एपहरू प्रयोग गर्न सक्छन्, जसले जिमेललाई समर्थन गर्दछ तर वेब आधारित एआई इन्टरफेसमा भर पर्दैन ।

Sharing

प्रतिक्रिया दिनुहोस