पौष २६, काठमाडौं । नेपाली सेनाको श्रीजङ्ग गण पर्साले ३०४औँ पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा ऐतिहासिक युद्धस्थल पर्सागढीमा दौड प्रतियोगिता गरेको छ । गणले राष्ट्रपिता पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्दै ऐतिहासिक युद्धस्थल पर्सागढीमा आज १० किलोमिटर खुला दौड तथा छात्र–छात्राको ५००० मिटर छुट्टाछुटै दौड प्रतियोगिता आयोजना गरेको हो ।

श्रीजङ्ग गणका गणपति तथा प्रमुख सेनानी लोकेन्द्र कार्कीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई सम्मान स्वरुप विभिन्न कार्यक्रम गरेर मनाउन लागेको जानकारी दिनुभयो । “राष्ट्र निर्माणमा उहाँको भूमिका अतुलनीय र महत्वपूर्ण भएकाले उहाँको जन्मदिनको अवसर पारेर यहाँ दौड तथा हाजिरीजवाफ कार्यक्रम गरेर मनाउन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “पृथ्वीनारायण शाह नेपाली सेनाको संस्थापक भएकाले उहाँलाई उच्च सम्मान गर्दै कार्यक्रम गरेका हौँ ।”
आज ऐतिहासिक युद्धस्थल पर्सागढीमा आयोजना गरेको १० किलोमिटरको खुल्ला दौड प्रतियोगितामा श्रीजङ्ग गणका सिपाही लिलाराम वलीले प्रथम हुनुभएको छ । द्वितीय र तृतीय सोही गणका सिपाहीद्वय सर्जन राउत र पुष्प अछामी हुनुभयो । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, पर्सागढी नगरपालिकाका प्रमुख गोर्कण पाठक, श्रीजङ्ग गणका गणपति कार्की र सशस्त्र प्रहरी बल पर्साका गणपति पुरनचन्द्र भट्ट लगायतले विजेता खेलाडीलाई मेडल, प्रमाणपत्र र नगद पुरस्कार वितरण गर्नुभयो ।
पाँच हजार मिटरको छात्रतर्फको दौड प्रतियोगितामा प्रथम नेपाल राष्ट्रिय मावि बर्डेवाका नीरज चौधरी हुुनुभयो । द्वितीय भने नेपाल राष्ट्रिय मावि बरुवा छटौलीका गोलु सहनी हुनुभयो । तृतीय सोही विद्यालयका अंकेश सहनी हुनुभयो । छात्रातर्फको पाँच हजार मिटरको दौड प्रतियोगिताको प्रथम भने नेपाल राष्ट्रिय मावि बरुवा छटौलीका काजल सहनी हुनुभयो । छात्रा दौडमा द्वितीय भने सोही विद्यालयकी छात्रा नन्दनीकुमारी पटेल हुनुभयो । त्यस्तै तृतीय भने सिद्धार्थ मावि वीरगञ्जकी छात्रा अञ्जुकुमारी पटेल हुुनभयो ।
विजेता छात्र र छात्रालाई पदक, प्रमाणपत्र र नगदपुरकारले पुरस्कृत गरिएको थियो । त्यस्तै गरी पाँच हजार मिटरको वाकाथान प्रतियोगिता समेत गरिएको थियो । जसमा पर्साका विभिन्न सरकारी कार्यालय तथा सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
ब्रिटिस इष्ट इण्डिया कम्पनीको फौजलाई गोर्खाली सेनाले हराएको ऐतिहासिक युद्धस्थलको रुपमा पर्सागढीलाई चिनिन्छ । विसं १८७१ पुस १८ र १९ गते नेपाल र ब्रिटिस इष्ट इण्डिया कम्पनी फौज पर्सागढीमा युद्ध भएको थियो । अङ्ग्रे्रेज फौजको नेतृत्व मेजर जनरल मार्लेअन्तर्गतका कप्तान सिब्लीले गरेका थिए भने नेपाली फौजको नेतृत्व भने रञ्जित चौधरीले गरेको बताइन्छ ।