पौष १७, काठमाडौं । पोखरा महानगरपालिकाले कास्की जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड लगातार चौथोपटक जितेको छ । पोखरा रङ्गशालामा आज सम्पन्न १६औँ संस्करणको प्रतियोगितामा सर्वाधिक पदक जितेर पोखरा शिल्ड जितेर च्याम्पियन बन्यो । ‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’ नारासहित विद्यालय तहबाटै खेलाडी उत्पादन र विकासका लागि राष्ट्रपति रनिङ शिल्ड आयोजना हुँदै आएको छ ।

पोखराले प्रतियोगितामा समावेश भएका चार खेलमा २० स्वर्ण, आठ रजत र ६ कास्य पदक जित्न सफल भयो । यस्तै माछापुच्छ«े गाउँपालिका दुई स्वर्ण, सात रजत र आठ कास्य जितेर दोस्रो तथा अन्नपूर्ण गाउँपालिका दुई स्वर्ण, पाँच रजत र सात कास्यसहित तृतीय भयो ।
यसैगरी रुपा गाउँपालिकाले दुई स्वर्ण, चार रजत र पाँच कास्य तथा मादी गाउँपालिकाले एक रजत र एक कास्य पदक प्राप्त गर््यो । प्रतियोगिताअन्तर्गत एथलेटिक्स, भलिबल र कबड्डीका स्पर्धा भएका थिए । पोखरा महानगर छात्रछात्रा भलिबलमा जित हात पार्दै च्याम्पियन हुँदा कबड्डीमासमेत छात्रछात्रातर्फ च्याम्पियन भयो । एथलेटिक्सतर्फ पोखराले १६ स्वर्ण, आठ रजत र छ कास्य पदक जित्दा, अन्नपूर्णले दुई स्वर्ण, पाँच रजत र चार कास्य जित्न सफल भयो । उपाधि बिजेता पोखरा महानगरको टिमलगायत अन्य टोली तथा खेलाडीलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरूङ, प्रतियोगिताका संयोजक रामचन्द्र गिरी, टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्मा, जिल्ला खेलकुदका कार्यालय प्रमुख डिबी नेपालीलगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभयो । प्रतियोगितामा जिल्लाका पाँच पालिकाका २७० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।