पौष २, काठमाडौं । रूपन्देही उद्योग सङ्घको आयोजनामा बुटवलमा सुरु हुने १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ बिहीबारदेखि सुरु हुँदैछ ।

बुटवलस्थित बुटवल मण्डपमा निमार्णाधीन अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुन लागेको प्रदर्शनीमा विभिन्न प्रकृतिका पाँच सय वटा स्टल रहने छन् । प्रदर्शनीमा ३९ जिल्लाबाट सहभागिता रहेको छ । प्रदर्शनीको पूर्वसन्ध्यामा आज औद्योगिक जनचेतना र्याली निकालिएको छ । प्रदर्शनीस्थल बुटवल मण्डपबाट सुरु भएको र्यालीमा जातजाती, वेषभूषा, विद्यालय, धार्मिक, टोल विकास समिति, उद्योग आदि गरी ५२ सङ्घ संस्थाको सहभागिता रहेको थियो ।
र्यालीमा सहभागी र पुरस्कृतहरूलाई बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले प्रमाणपत्र वितरण गर्नुभएको थियो । उहाँले प्रदर्शनीलाई सबै मिलेर सफल बनाउनुपर्ने बताउनुभयो ।
प्रदर्शनीमा औद्योगिक प्रविधि, उद्योग प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, फ्लोरिकल्चर, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायतका गरी पाँच सय स्टल रहने प्रचारप्रसार संयोजक किरण खरेलले जानकारी दिनुभयो ।
प्रदर्शनीमा प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताको सोझो सम्पर्कको स्थापना गर्ने, उत्पादित वस्तुको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, उद्योगीका बीचमा समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया गर्ने, सूचना र प्रविधिको विकास, विस्तार र आदानप्रदान गर्ने, पर्यटन क्षेत्रको विकास, सान्दर्भिक गोष्ठी, अन्तरक्रिया र कार्यशालाको आयोजना गर्ने, अवलोकनकर्ता र उपभोक्ताको सुझावको सङ्कलन गरिने सचिव तथा परिचयपत्र उपसमिति संयोजक अशोक कुँवरले जानकारी दिनुभयो ।
स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन हुने १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ को तयारी पूरा भएको र प्रदर्शनीमा आठ लाख दर्शकले अवलोलकन गर्ने र रु ३० करोडको आर्थिक कारोबार हुने लक्ष्य राखिएको प्रदर्शनी प्रबन्धक यादव भण्डारीले जानकारी दिनुभयो ।