पौष २, काठमाडौं । जिल्लाको ठूलो मेलाको रूपमा रहेको बागलुङ महोत्सव यही पुस ११ देखि २१ गतेसम्म सञ्चालन हुँदैछ । बागलुङ उद्योग वाणिज्य सङ्घले आयोजना गर्ने आठौँ बागलुङ महोत्सव नजिकिएसँगै प्रचारप्रसारलाई व्यापक बनाइएको छ ।

महोत्सव हुने स्थान बाङ्गेचौर खेल मैदानमा रमाइलो मेला, मञ्चलगायत सामग्री आइसकेका छन् भने बागलुङ बजार तुल तथा व्यानरले झिलिमिलि बनाउन थालिएको छ ।
‘पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार, समृद्व बागलुङ निर्माणको आधार’ भन्ने नारासहित गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि औद्योगिक व्यापार मेला तथा बागलुङ महोत्सव आयोजना गरिएको बताउँदै उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्यले यस पटकको महोत्सव पृथक हुने धारणा राख्नुभयो ।
अध्यक्ष शाक्यले महोत्सवलाई मौलिक र पृथक बनाउने प्रयास थालिएको बताउनुभयो । उहाँले महोत्सवमा यानीमाया, सोरठीलगायत नृत्य देखाइने छ भने नेवारी समुदायका विभिन्न झाँकी प्रदर्शन गरिने जानकारी दिनुभयो । सोही तयारीअन्तर्गत अहिले प्रचारप्रसालाई तीव्र बनाइएको उहाँको भनाइ छ ।
पर्यटन प्रवर्द्धनसँगै जिल्लाको विकास निर्माणमा महोत्सवले सहयोग पु¥याउने शाक्यको भनाइ छ । आठ लाखदेखि १० लाख दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको बताउँदै उहाँले रु १० करोड माथि आर्थिक कारोबार गर्ने लक्ष्य लिइएको जानकारी दिनुभयो ।
मुनाफाबाट कोसेली घर व्यवस्थित गर्ने, सडक मानवमुक्त बनाउने अभियानमा लागेको मानव सेवा आश्रमको कामलाई सफल बनाउन महोत्सवको टिकटबाट प्रतिटिकट रु १० सहयोग गर्ने, खेलकुदको विकासका लागि कोष स्थापना गर्ने, उद्योग वाणिज्य सङ्घबाट सञ्चालित सदस्य कल्याणकारी कोष सञ्चालनका लागि रु पाँच लाख जम्मालगायत सामाजिक उद्देश्यसहित महोत्सव आयोजना गरिएको अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।
महोत्सवलाई बागलुङको व्यवसाय र पर्यटन प्रवर्द्धनसँग जोडिने छ भने अवलोकन गर्न अउने पर्यटकलाई बागलुङ बजार नजिकका पर्यटकीयस्थल भ्रमणको व्यवस्था मिलाइने छ । जिल्ला र प्रदेशका पर्यटकीयस्थलको वृत्तचित्र प्रर्दशनी, टिकटक च्यालेन्ज, फोटो कन्टेन्ट प्रतियोगिता, हाइकिङ एण्ड टुर प्याकेज, ‘मेड इन बागलुङ’ कक्ष स्थापना गरी स्थानीय भागो, गुन्द्रुकलगायत उत्पादनको प्रचारप्रसार गर्ने गतिविधि सञ्चालन हुनेछन् ।
महोत्सवमा रैथाने बाली र पशुजन्य उत्पादनको बिक्री, मौलिक जातीय झाँकी प्रदर्शन, सूचना प्रविधिसम्बन्धी परामर्श र बिक्री, शैक्षिक परामर्श, जातीय खानाका परिकारको स्टल तथा ‘एक गाउँ एक उत्पादन’को सामग्री प्रर्दशनी राखिने छन् ।