मंसिर १८, काठमाडौं । नेपालमा सञ्चालित शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) र युनाइटेड अरब इमिरेट्स (यूएई)को ‘फ्रि जोन’मा स्थापित इन्स्टीच्युटहरूको मिलेमतोमा १३८ जना नेपाली विद्यार्थी ठगिएको खुलेको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागमा १३८ जना विद्यार्थीले नेपालमा सञ्चालित कन्सल्टेन्सी र यूएईको ‘फ्रि जोन’मा स्थापित इन्स्टीच्युटहरूबाट आफूहरू ठगिएको भन्दै आवेदन दिएका छन् ।

यूएईमा नेपाली विद्यार्थी ठगिएको समाचार सार्वजनिक भएपछि अबुधावीस्थत नेपाली दूतावासले सूचना जारी गर्दै कन्सुलर सेवा विभागको आधिकारिक वेबसाइटमा आवेदन दर्ता गर्न पीडित विद्यार्थीलाई अनुरोध गरेको थियो ।
दूतावासले १५ दिनको समय दिँदै यही मंसिर ११ गते आवेदन दिन अनुरोध गरेको थियो ।
“आवेदन दिन अनुरोध गरेको ७ दिनमा कन्सुलर सेवा विभागको वेबसाइटमा १३८ विद्यार्थीले आफूहरू ठगिएको भन्दै आवेदन दर्ता गराएका छन्,” परराष्ट्र मन्त्रालय स्रोतले बाह्रखरीसँग भन्यो, “आवेदनका लागि अझै ८ दिन बाँकी छ । आवेदन आउने क्रम जारी छ । यो संख्या अझै बढ्छ ।”
यूएईको ‘फ्रि जोन’मा इन्स्टिच्युट दर्ता गरी नेपाली विद्यार्थीहरू ठगी गरेको समाचार बाह्रखरीले गत कात्तिक २७ गते प्रकाशित गरेको थियो । नेपालमा सञ्चालित डेढ दर्जनभन्दा बढी कन्सल्टेन्सीले मोटो रकम लिएर ती इन्स्टिच्युटमा नेपाली विद्यार्थी पठाउने र त्यहाँ अलपत्र पार्ने गरेको पाइएको थियो ।
पीडित विद्यार्थीहरूले यूएईको दुबईस्थित नेपाली महावाणिज्य दूतावासमा आफू ठगिएको भन्दै कन्सल्टेन्सीमाथि कारवाहीको माग गर्दै उजुरी दिएका थिए । महावाणिज्य दूतावासले ती उजुरी परराष्ट्र मन्त्रालयलाई पठाएको थियो । त्यसपछि परराष्ट्रले उजुरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाएको थियो ।
परराष्ट्रले सूचना दिएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, “नेपालीका केही कन्सल्टेन्सीहरूले यूएईको फ्रि जोनमा इन्स्टीच्युट दर्ता गरी नेपालबाट बिभिन्न नक्कली कलेज पढ्न विद्यार्थीहरू दिन दिनै पठाई रहेको कुराको उजुरी आएको छ । त्यस्ता विद्यार्थीहरूले यूएईमा दुःख पाइरहेको कुराको जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ । सो कुराको गहन छानविन हुँदैछ । कोही पनि नफस्नु होला ।”
कन्सेल्टेन्सीबाट ठगिएका चारजना विद्यार्थी गत कात्तिक २७ गते परराष्ट्र मन्त्रालय पुगेका थिए । परराष्ट्रले तिनका गुनासो सुनेपछि आवेदन लिएको थियो । त्यसपछि उनीहरूलाई शिक्षासँग सम्बन्धित विषय शिक्षा मन्त्रालयले हेर्ने भन्दै त्यतैतिर पठाएको थियो ।
यूएईको फ्रि जोनमा दर्ता भएका शैक्षिक इन्स्टिच्युटहरूले नेपाली विद्यार्थीसँग मोटो रकम लिएपछि सम्पर्क तोड्ने गरेको गुनासो पीडितहरूको छ । दुबईस्थित नेपाली महावाणिज्यदूत हरिप्रसाद ओडारीले यसरी ठगिएका ३५ जना नेपाली सम्पर्कमा आएको गत कात्तिक २७ गते बाह्रखरीलाई बताएका थिए ।
यूएईको फ्रि जोनमा ‘ट्रेनिङ इन्स्टिच्युट’को रुपमा दर्ता भई आफूलाई युनिभर्सिटी दाबी गर्ने इन्स्टिच्युटहरू र नेपालका कन्सल्टेन्सी मिलेर ठगी गरेको जानकारी पीडितहरूले महावाणिज्य दूतावासलाई दिएका थिए ।
सबैभन्दा बढी ठगिने नेपाली यूएईको फ्रि जोनमा खोलिएका ब्रिटिस युनिभर्सिटी कलेज इन्टरनेसनल– एफ्जेड (बीआईसीयु) र सेन्ट्रल एकेडेमी फर म्यानेजमेन्ट स्टडिज् (सीएएमएस) इन्स्टिच्युटमा जानेहरू छन् । बीआईसीयूले पेरिस–अमेरिकन इन्टरनेसनल इन्स्टीचुटबाट सम्बन्धन लिएको दाबी गरेपनि उसँग सम्बन्धन नभएको जनाइएको छ ।
फ्रि जोनमा सजिलै इन्स्टिच्युट खोल्न र बन्द गर्न सकिने हुँदा यस्ता केही इन्स्टिच्युट बन्द पनि भएका छन् । यस्ता इन्स्टिच्युटमा क्लास नहुने, शैक्षिक प्रमाण नदिने र सम्बन्धन पनि प्राप्त नगरेको पाइएपछि पीडितहरूले आफूहरूले ठगीमा परेको चाल पाएका थिए ।
पीडितहरूले दिएको सूचनाअनुसार यूएईको फ्रि जोनमा खुलेका इन्स्टिच्युटमा नेपालबाट विद्यार्थी पठाउन १८ वटा कन्सल्टेन्सी सक्रिय छन् ।
बाह्रखरीलाई प्राप्त सूचीअनुसार नेपालबाट यूएईको फ्रि जोनमा खुलेका इन्स्टिच्युटमा विद्यार्थी पठाउनमा प्रो एभिएसन् प्रा.लि., सटक्शी एजुकेशन फाउन्डेशन, एजुपोर्ट एजुकेशन कन्सल्टेन्सी, शिव ह्युम एजुकेशन कन्सल्टेन्सी, अक्सब्रिज इन्टरनेसनल कन्सल्टेन्सी, मेरिट्स इन्टरनेशनल कन्सल्टेन्सी र ब्राइटपथ एजुकेशन कन्सल्टेन्सी सक्रिय छन् ।
यस्तै, सिटीहव एजुकेशन नेटवर्क, एस्पायर ग्लोबल एजुकेशन, कान्तिपुर अब्रोड कन्सल्टेन्ट, सिटी पार्क एजुकेशन कन्सल्टेन्सी, मेनटोरा एजुकेशन कन्सल्टेन्सी, एक्सेल इन्टरनेशनल एजुकेशन प्रा.लि., सरम आई, एनटीइआर इन्टरसेशनल, ए.एस. एजुकेशन, सकुरा नेपाल कन्सल्टेन्सी प्रा.लि. र एजुगेट कन्सल्टेन्सी पनि सक्रिय रहेको जनाइएको छ ।
यही मंसिर ५ गते परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै यूएई अध्ययन गर्न जाने र जान चाहनेलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको थियो ।
“संयुक्त अरब इमिरेट्सका खास गरी फ्रि जोनमा रहेका विश्वविद्यालय/कलेज/व्यवसायिक तालिम केन्द्रमा उच्च शिक्षा अध्ययनका लागि जानुपूर्व आवश्यक सत्यतथ्य बुझी त्यस्ता शैक्षिक संस्थाहरू आधिकारिक भए/नभएको र सूचीकृत भएको/नभएको यकीन गर्न, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट वैदेशिक अध्ययन स्वीकृति प्राप्त गरेर मात्र जान र यथासमयमै सम्भावित ठगीबाट बच्ने उपाय अवलम्बन गर्नु हुन सम्बन्धित सबैमा अनुरोध छ,” परराष्ट्रले विज्ञप्तिमा भनेको थियो ।
पीडित विद्यार्थीले परराष्ट्रलाई दिएको जानकारीअनुसार, यूएईको फ्रि जोनमा स्थापित तथा सञ्चालित त्यस्ता शैक्षिक संस्थाहरू मापदण्ड अनुरुप संचालन नभएको र विदेशी विश्वविद्यालयसँग आवद्ध पनि नभएको हुने गरेका छन् । कलेज तथा व्यवसायिक तालिम केन्द्रहरूको आफ्नै भवन नभएको गुनासो पीडितहरूको छ ।
पीडित विद्यार्थीले केही महिना मात्र भाडामा लिएको अपार्टमेन्टमा भौतिक कक्षा संचालन गरी त्यसपछि अनलाइन कक्षा हुने गरेको र त्यस्तो कक्षा पनि नियमित नहुने गरेको जनाएका छन् ।
विद्यार्थी त्यहाँ पुगेपश्चात् विश्वविद्यालय/कलेज/ व्यवसायिक तालिम केन्द्रले रोजगारीको व्यवस्था गरिदिने प्रतिबद्धता गरेकामा प्रायःजसो सबै विद्यार्थी आफैँले काम खोज्नुपर्ने अवस्था रहेको गुनासा पीडित विद्यार्थीबाट प्राप्त भएको परराष्ट्रले जनाएको छ ।
विगत केही वर्षदेखि यूएई नेपाली विद्यार्थीका निम्ति उच्च शिक्षा अध्ययन, रोजाइँ गन्तव्य बन्दै गइरहेको छ ।
नेपाली विद्यार्थी उक्त मुलुकको केन्द्र सरकारद्वारा संचालित विश्वविद्यालय, कलेज तथा व्यवसायिक तालिम केन्द्र, प्रदेशको रुपमा रहेका ७ वटा इमिरेट्सहरूका शिक्षा मन्त्रालयमा दर्ता भई संचालित विश्वविद्यालय, कलेज तथा व्यवसायिक तालिम केन्द्रहरू र त्यहाँको फ्रि जोनमा स्थापित तथा सञ्चालित विश्वविद्यालय, कलेज तथा व्यवसायिक तालिम केन्द्रहरूमा जाने गरेको पाइएको छ ।
खासगरी यूएईको फ्रि जोनमा स्थापित इन्स्टिच्युटहरूमा जाने नेपाली विद्यार्थी ठगिने गरेका छन् । यस्ता इन्स्टिच्युटमा जाने र ठगिने क्रम नरोकिएपछि यूएईको अबुधावीस्थित नेपाली दूतावासले पनि यही मंसिर ११ गते एक सूचना जारी गर्दै विद्यार्थीलाई सावधान गराएको थियो ।
दूतावासले पीडित विद्यार्थीलाई कन्सुलर सेवा विभागको वेब साइटमा आवेदन दिन अनुरोध गरेको थियो । त्यसपछिका सात दिनमा १३८ जना नेपाली विद्यार्थीहरूले आफूहरू ठगिएको भन्दै अनलाइन आवेदन दिएका हुन् ।