कात्तिक ३, सर्लाही । सशस्त्र प्रहरीले सर्लाहीको बरहथवा नगरपालिका – ९, रवि चोक नजिकबाट शंकास्पद विलविजकसहित नास्पाती बोकेका दुई ट्रक नियन्त्रणमा लिएको छ । शनिबार सशस्त्र प्रहरी बल नेपालको विशेष अनुगमन टोलीले म.प्र.०३.००२ ख ३६४१ र प्र.१.०१.००१ ख ४४०१ नम्बरका ट्रकमा लोड गरिएको करिब ३२ लाख ८९ हजार रुपैयाँ बराबरको नास्पाती बरामद गरेको हो ।

प्रहरीका अनुसार उक्त नास्पाती भारततर्फ लैजाने तयारीमा रहेको सूचनाका आधारमा निगरानी बढाइएपछि ट्रकहरू पक्राउ गरिएको हो । विलविजक (बिल तथा विजक) शंकास्पद देखिएपछि चालक देव श्रेष्ठ र भिम बहादुर उप्रेतीलाई समेत पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ ।
पक्राउ परेका व्यक्ति, नास्पाती र ट्रकसहितको सम्पूर्ण सामग्री थप कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद दुई ट्रक र नास्पातीसहित वस्तुको कुल भन्सार मूल्य करिब ८२ लाख ८९ हजार रुपैयाँ निर्धारण गरिएको बताइएको छ ।