• २०८३ बैशाख १७ गते बिहिवार

विभिन्न जिल्लाबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज ६, काठमाडौं । प्रहरीले विभिन्न जिल्लाबाट अवैध लागूऔषध सहित ६ जना पक्राउ गरेको छ ।

जसमा रूपन्देही, मायादेवी गाउँपालिका-६ बेथरीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५० एम्पुल, बुप्रेनोर्फिन ५० एम्पुल र प्रोमेथाजाइन ५० एम्पुल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ भिलरहवा बस्ने २३ वर्षीय अक्ष्य कुमार हरिजन र सोही गाउँपालिका-२ पकडी बस्ने २२ वर्षीय गुलाब हरिजन रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरीले भैरहवाबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु.१० प ५८४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कञ्चनपुर, भीमदत्त नगरपालिका-१० गड्डाचौकीबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ७२ एम्पुल र प्रोमेथाजाइन ९० एम्पुल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१८ जानकी टोल बस्ने २३ वर्षीय आशिष नेपाली र २४ वर्षीय अर्जुन दमाई रहेका छन् । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

त्यस्तै कैलाली, लम्कीचुहा नगरपालिका-४ कौवापुर पूर्णिमा सामुदायिक वन नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय खडक सिजाली मगरलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यसैगरी नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-२ दुर्गा टोल बस्ने १९ वर्षीय शाहरूख कुरैसीलाई नियन्त्रित लागूऔषध नाइट्राभेट ६ सय ३० ट्याब्लेट र स्पास्मो ३ हजार ९ सय ४२ ट्याब्लेट सहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस