असोज १८ ,रामेछाप । दशैंको मौका छोपेर यात्रीहरुलाई दुःख दिने सवारी साधनमाथि स्थानीय प्रशासनले कारबाही सुरु गरेको छ ।
रामेछापका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख आफैं अनुगमनमा निस्किएका हुन् । सवारी साधनले बढि भाडा लिएको वा यात्रीलाई दुःख दिएको छ छैन भनि बुझ्न आफैं सडकमा निस्किएको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसीले बताइन् ।
होटल व्यवसायीहरुप्रति भने यात्रीहरुको गुनासो थियो । पहिला नै पैसा तिरेर लाइन लागेर खाना लिनुपर्ने तर थप खाना नदिने गरेको, खानाको गुणस्तर नभएको यात्रीहरुको गुनासो थियो । यात्रीहरुको गुनसो सुनेपछि होटलमै पुग्दा पनि त्यस्तै अवस्था देखिएको प्रजिअ केसीले बताइन् । त्यस्ता व्यवसायीहरुलाई तत्काल सचेत गराइएको र सेवामा सुधार नगरे कारबाही गरिने प्रजिअ केसीले बताइन् ।
दशै मान्न रामेछापका साथै ओखलढुंगा, दोलखा र सोलुको ओल्लो भागमा जाने यातायात साधनहरु रामेछापकै बाटो प्रयोग गरी जाने भएकोले यातायतको चाप निक्कै बढेको छ ।