• २०८३ जेष्ठ २० गते बुधवार

तीज पर्व महिला सशक्तीकरण र समाज रूपान्तरणसँग जोडिएको छ : मुख्यमन्त्री आचार्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ १०, लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरितालिका (तीज) पर्वलाई महिला सशक्तीकरण र समाज रूपान्तरणसँग जोडिएको महत्त्वपूर्ण सांस्कृतिक चाडका रूपमा लिनुपर्ने बताउनुभएको छ । उहाँले यस पर्वले महिलाको क्षमता, योग्यतालाई सम्मान गर्दै समाजमा हकअधिकार, स्वतन्त्रता र समानताको चेतना फैलाउने कार्य गर्दै आएको छ भन्नुभएको छ ।

“तीज पर्व विद्यमान लैङ्गिक विभेद, जातीय विभेदलगायत असमानताहरूको अन्त्य गर्दै न्याय, समानता र समतामूलक समाज निर्माणतर्फ प्रेरित गर्ने पर्वका रूपमा स्थापित छ”, तीज पर्वका अवसरमा आज यहाँ जारी शुभकामना सन्देशमा भनिएको छ, “त्यसैले तीजलाई अवसरका रूपमा उपयोग गर्नु हाम्रो साझा जिम्मेवारी हो ।”

महिलाले आफ्ना दुःख, पीडा र खुसी साझा गर्ने भएकाले तीजले सामूहिकता, आत्मबल र आपसी एकता बलियो बनाउने योगदान पुर्याउँदै आएको छ । मुख्यमन्त्री आचार्यले तीजलाई केवल धार्मिकमात्र नभई सामाजिक दृष्टिले समेत महत्त्वपूर्ण चाडका रूपमा व्याख्या गर्नुभएको छ । मौलिक पर्वको सांस्कृतिक गरिमा जगेर्ना गर्दै यसलाई पुस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले तीज मनाउने क्रममा देखिने भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै यसको मौलिकता र सांस्कृतिक महत्व जोगाउन आग्रह गर्नुभएको छ ।

तीजका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले समाज रूपान्तरणका लागि तीज पर्व प्रेरणादायी बन्नुपर्ने विश्वास व्यक्त गर्नुभयो । लुम्बिनी प्रदेश सरकारले तीज पर्वका अवसरमा प्रदेशमा आज सार्वजनिक बिदासमेत दिएको छ ।

May be an image of 1 person, dais and text

Sharing

प्रतिक्रिया दिनुहोस