साउन २६, काठमाडौं । राजधानी राष्ट्रिय दैनिकको ‘५० लाखको राजधानी ग्राहक योजना’अन्तर्गतको प्रथम बम्बर उपहार मनमैजु मिडिया प्रालिले जितेको छ । आइतबार घोषणा गरिएको अन्तिम बम्पर उपहार योजनाअन्तर्गत भएको गोलाप्रथाबाट मनमैजु मिडिया प्रालिले उपहार जित्दै ५० लाख रुपैयाँ जितेको हो ।

न्युज २४ टेलिभिजनमा आइतबार प्रत्यक्ष प्रसारणमा चर्चित हाँस्य कलाकार तथा अभिनेता हरिवंश आचार्यले ५० लाखको प्रथम बम्पर उपहारसहित ५ लाखको एक जना र १ लाख रुपैयाँका पाँच जना विजेताको गोलाप्रथाद्वारा नाम सार्वजनिक गरे । आचार्यले उपहार योजनामा सहभागीहरूमध्येबाट गोलाप्रथा गर्दा ५ लाखको दोस्रो बम्पर उपहार धनगढीका दीपक वलीलाई परेको छ । त्यसैगरी, १ लाख रुपैयाँको बम्पर उपहार शारदा शाक्य (भौचर नम्बर ११५७९०), पाश्र्व मिडिया प्रालि (भौचर नम्बर ३२२०८), भौचर नम्बर ४२०७९, ३४९५८ र ९५४८८ ले प्राप्त गरेका छन् । विजेता घोषणा गर्दै कलाकार आचार्यले राजधानी दैनिकको सबैभन्दा ठूलो बम्पर योजनाका सहभागीबाट भाग्यशाली ग्राहक छनोट गर्न पाएको भन्दै खुसी व्यक्त गरे । अन्तिम बम्पर योजनाअन्तर्गतका भाग्यशाली विजेता घोषणासँगै राजधानीले सुरु गरेको बम्पर ग्राहक योजना समापन भएको राजधानी दैनिकका वितरण प्रमुख सन्तोष शर्माले जानकारी दिए । राजधानी दैनिकले यो योजना १ चैत २०८१ बाट सुरु गरेको थियो । यस योजनाअन्तर्गत ५ हजार रुपैयाँको साप्ताहिक उपहार ३ सय ६० जना र ५० हजार रुपैयाँको मासिक उपहार ४० जनाले पाएका छन् ।
योजनाअन्तर्गतको बम्बर उपहारमा १ लाख रुपैयाँका दरले पाँच जनालाई ५ लाख रुपैयाँ एक जनालाई र ५० लाख रुपैयाँको बम्पर उपहार एक जनालाई प्रदान गरिएको हो । यस योजनाअन्तर्गत ४ सय ७ जना भाग्यशाली विजेताले पुरस्कार पाएका छन् । ‘५० लाखको ग्राहक योजना’मा २ लाख रुपैयाँभन्दा बढी ग्राहकले सहभागिता जनाएको वितरण प्रमुख शर्माले जानकारी दिए ।