असार २७, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आइतवार न्यू जर्सीमा हुने फिफा क्लब विश्वकप फाइनलमा उपस्थित हुने भएका छन् ।विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ट्रम्प टावर, न्यूयोर्कमा आफ्नो कार्यालय खोलेको घोषणा गरेको एक दिन पछि ट्रम्प क्लब विश्व कपको फाइनलमा उपस्थिति हुने पक्का भएको हो ।

अब आइतवार चेल्सी र पेरिस सेन्ट जर्मेन (पिएसजी) बिच मेटलाइफ स्टेडियममा फाइनल खेल हुदैँछ । जुन रंगशालामा अर्को वर्ष विश्व कपको फाइनल आयोजना पनि हुनेछ। संयुक्त राज्य अमेरिका हालै विस्तार गरिएको क्लब विश्वकपको पहिलो संस्करणको आयोजक मुलुक हो । त्यस्तै आगामी वर्षको विश्व कपका लागि क्यानडा र मेक्सिकोसँगै सह–आयोजक पनि हो। फिफाको पहिले नै मियामीमा कार्यालय रहेको छ तर ट्रम्प टावरमा कार्यालय खोल्नु अमेरिकाको सरकारसँगको फिफाको सम्बन्ध अझै बलियो बनाउने विश्वास गरिएको छ। फिफा अध्यक्ष जियानी इनफान्टिनोले भने, ‘हामीले क्लब विश्वकप र आगामी विश्वकपका लागि अमेरिकी सरकार र राष्ट्रपति विशेषतः व्हाइट हाउस टास्क फोर्सबाट निकै ठूलो सहयोग प्राप्त गरेका छौं।’ उनी क्लब विश्वकप र पुरूष विश्वकपको फाइनल अमेरिकामा हुन लागेकोमा खुसी पनि ब्यक्त गरेका छन् ।