• २०८३ मङ्सिर १ गते सोमवार

मदन भण्डारी कलेजमा रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार ९, काडमाडौं । मदन भण्डारी मेमोरियल कलेजले २४औँ वार्षिकोत्सवको अवसरमा आज निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कलेजअन्तर्गतको सामाजिक कल्याण उपसमितिको संयोजनमा आज (सोमबार) कलेज परिसरमा कार्यक्रमहरु आयोजना गरिएको हो ।

समुदायको आवश्यकतालाई मध्यनजर गर्दै उनीहरुको आवश्यक स्वास्थ्य सुविधा तथा आफ्नो संस्थागत उत्तरदायित्व अन्तर्गत यी कार्यक्रमहरु आयोजना गरिएको कलेज प्रमुख डा. बाबुराम अधिकारीले बताउनुभयो । कलेजको वार्षिक क्यालेन्डरमै पनि यस्ता विविध गतिविधीहरु समावेश गरिएको हुनाले २४औँ वार्षिकोत्सव कार्यक्रम भव्यताकासाथ मनाइरहेको उहाँको भनाइ छ ।

आज रक्तदान, आँखा परिक्षण, दन्त परिक्षण, पोषण, स्त्री रोग तथा सामान्य स्वास्थ्य परीक्षण र मनोसामाजिक परामर्श सेवा लगायतका कार्यक्रमहरु सञ्चालन गरिएको थियो ।

शिविरमा २५९ जनाले आँखा परिक्षण, १६१ जनाले दन्त परिक्षण, २०० भन्दा धेरैले स्त्री रोग तथा सामान्य स्वास्थ्य परीक्षण र मनोसामाजिक परामर्श सेवा परिक्षण गराएका छन् ।

विद्यार्थी, शिक्षक, कलेजका अन्य सदस्य, अभिभावक तथा जनसमुदायका विभिन्न व्यक्तिहरुले भौतिकरुपमै उपस्थिती जनाएर शल्यक्रियाकालागि परामर्श, सल्लाह र अन्य जाँच सेवाहरु लिएका छन् । शिविरमा समुदायस्तरबाट उल्लेख्यरुपमा सहभागीता रहेको थियो ।

त्यस्तै, ब्लड डोनर्स एशोसियसन नेपाल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा कलेजका शिक्षक, विद्यार्थी र कर्मचारीहरुले पनि स्वतस्फूर्त रुपमा रक्तदान गरेका थिए ।

आज नै स्थानीय सरकार एवम् समुदायका अगुवाबीच रेडियो संवाद कार्यक्रम र “सबैका लागि बौद्धिकता” विषयमा विज्ञहरुसंग अन्तरक्रिया पनि गरिएको थियो ।

मदन भण्डारी मेमोरियल कलेजले असार ८ गते देखि असार १४ गतेसम्म २४औँ वार्षिकोत्सवको अवसरमा साताव्यापी विभिन्न कार्यक्रमहरू मनाइरहेको छ । असार १० गते (मंगलबार) योग तथा ध्यान शिविर, “ज्येष्ठ नागरिक सम्मान तथा हजुर बा आमाका कथा सुन्ने” कार्यक्रम र सामुदायिक तथा निजी विद्यालयका नेतृत्वबीच रेडियो संवाद कार्यक्रम सञ्चालन गरिनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस