वैशाख ३, काठमाडौं । आइसीसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत लिग चरणको तेस्रो खेलमा नेपालले हङकङबाट १ सय १६ रनको सामान्य लक्ष्य पाएको छ । टस जितेर बलिङ रोजेको नेपालका स्पिनरले उत्कृष्ट बलिङ गर्दा हङकङ सामान्य स्कोरमा सिमित भएको हो । हङकङले ४७ औं ओभरमा अलआउट हुनुअघि १ सय १५ रन जोड्यो । कप्तान शिव माथुरले अर्धशतक बनाउनुबाहेक अन्य ब्याटरले ठूलो स्कोर बनाउन सकेनन् ।

नेपालका लागि खेलको पहिलो ओभर अभिषेक तिवारीले गर्नुबाहेक अन्य सबै ओभर स्पिनरले गरेका थिए । हङकङका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान शिवले १ सय १६ बलमा ६३ रन जोडे । उनले ४ चौका र १ छक्का प्रहार गरेका थिए ।
शिवले दोस्रो विकेटका लागि आर्या पन्ज्वानीसँग ५० रनको साझेदारी गर्दै विकेट खस्न दिएका थिएनन् । दोस्रो ओभरमा विपिन शर्माले जुड लि थोमसलाई शून्यमा आउट गरेपछि शिव क्रिजमा आएका थिए । शिव ४२ औं ओभरमा युवराज खत्रीको बलमा छैटौं विकेटको रुपमा आउट भएका थिए ।
हङकङका लागि आर्यले १३ रन जोड्दा ह्यारी थोमसले १० रनको योगदान दिए । वीर मथुर १२ रन जोड्दै विपिन शर्माको बलमा उनकै हातबाट समातिए ।
युवराजले १० ओभरमा मात्र १८ रन खर्चेर ४ विकेट लिए थिए । विपिन शर्माले ३, सन्तोष यादवले २ तथा अशोक धामीले एक सफलता प्राप्त गरे ।