चैत २०, काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र गुजरात टाइटन्सका बीचमा खेल हुँदैछ । एम चेन्नास्वामी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ । लगातार दुई जित निकालेको बेंगलुरु सिजनमा घरेलु मैदानमा पहिलो खेल खेल्दैछ ।

बेंगलुरुले प्रतियोगिताको पहिलो खेलमा कोलकातालाई उसकै घरेलु मैदानमा पराजित गरेको थियो । दोस्रो खेलमा चेन्नईलाई १७ वर्ष पछि उसको घरेलु मैदान चेपकमा पराजित गरेको थियो । बेंगलुरु ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ ।
यस्तै, गुजरातले खेलेको २ खेल मध्ये १ मा जित र १ मा हारका साथ अंक तालिकाको चौथो स्थानमा छ । गुजरात पहिलो खेलमा पञ्जाब किंग्ससँग पराजित हुँदा दोस्रा खेलमा भने मुम्बई इण्डियन्सलाई हराएको थियो ।
बेंगलुरु र गुजरातबीच आइपिएलमा हालसम्म ५ खेल भएको छ । जसमा बेंगलुरु ३ खेलमा विजयी हुँदा २ खेलमा गुजरातले बाजी मारेको छ ।