• २०८३ असार १० गते बुधवार

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत १५, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८१ का अवसरमा नेपाली सेनाद्वारा आज टुँडिखेलमा आयोजित समारोहको अवलोकन गर्नुभएको छ । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, उपप्रधानमन्त्री, मन्त्री, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधिलगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो ।

काठमाडौँ, १६ चैतः राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानसेनापति अशोकराज सिग्देललगायत शनिबार सैनिक मञ्चमा आयोजना गरेको घोडाजात्रा पर्वको अवसरमा सहभागी हुनुहुँदैै । तस्बिरः किरणराज विष्ट÷रासस

त्यस अवसरमा राष्ट्रपति पौडेलले नेपाली सेनाद्वारा प्रदर्शन गरिएको अश्वकलाको अवलोकन गर्नुभयो । समारोहमा घोडा दौड, घोडा जम्पलगायत विभिन्न रोचक कला प्रदर्शन गरिएका थिए । घोडाले गर्ने सामान ओसारपसार, यात्राको साधन, कृषि, शिकार, लडाइँ, उत्सव, खेलका झलक पनि कार्यक्रममा देखाइएका थिए । त्यस अवसरमा कुकुरबाट पनि विभिन्न कला प्रदर्शन गराइएका थिए । प्रदर्शनमा उत्कृष्ट हुनेलाई राष्ट्रपति पौडेलले पुरस्कार प्रदान गर्नुभयो ।

प्रत्येक वर्ष चैत्र कृष्ण औँसी तिथिमा काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमसहित मनाउने गरिन्छ । किंवदन्तीअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा रहेको जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस