• २०८३ कार्तिक १५ गते शनिवार

टोखाको मुल सडकहरुमा स्मार्ट सडकबत्ती जडान गर्ने सम्झौता पत्रमा हस्ताक्षर

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पुष २७, काठमाडौं । टोखा नगरपालिकामा आयोजित एक औपचारिक कार्यक्रममा आज टोखाको मुख्य सडकहरुमा आधुनिक सडक बत्ती जडान हुने भएको छ । टोखा नगरपालिकाको ६५ प्रतिशत लगानी र नेपाल विद्युत प्राधिकरणको ३५ प्रतिशत लगानीमा सडक बत्ती जडान हुन् लागेको हो ।


हस्ताक्षर कार्यक्रममा टोखा नगरपालिकाको तर्फबाट नगर प्रमुख प्रकाश अधिकारी, प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसी र नेपाल विद्युत प्राधिकरणको तर्फबाट ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभागका निर्देशक टेकनाथ तिवारी, राष्ट्रिय सडक बत्ती प्रर्वद्धन आयोजनाका उप–प्रबन्धक प्रमोद रिजाल र नेपाल विद्युत प्राधिकरण महाराजगञ्ज वितरण केन्द्रका प्रमुख बाबुराम सुवेदीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

जसमा टोखा नगरपालिकाको २ करोड ८४ लाख ८३ हजार ९२३ लगानी गर्नेछ । त्यस्तै नेपाल विद्युत प्राधिकरणले १ करोड ५३ लाख ३७ हजार ४९७ गरी कुल लगानी ४ करोड ३८ लाख २१ हजार ४ सय २० रुपैयाँ लागतमा सडक बत्ती जडान हुनेछ ।

सम्झौतामा ६५ प्रतिशत लागत नगरपालिकाले अब नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गर्नुपर्नेछ । सडक बत्ती जडान कार्य नेपाल विद्युत प्राधिकरणले बोलपत्र आह्वान गरेर खरिद कार्य गर्नेछ । बत्तीको सुपरिवेक्षण विद्युत प्राधिकरणले गर्नेछ । सडक बत्ती निर्माण सम्पन्न भएको ५ वर्षसम्मको मर्मत सम्भारको कार्य निर्माण कम्पनीले गर्नुपर्नेछ । निर्माण व्यवसायीको दायित्वमा पर्ने वारेन्टी पिरियड भित्रका करेक्सन लगायत वार्षिक मर्मत सम्झौता भन्दा बाहिरका बत्तिहरु मर्मत, सम्भारका लागि नेपाल विद्युत प्राधिकरणको सहयोगमा नगरपालिकाले आफ्नो खर्चमा गराउन सक्नेछ ।

टोखा नगरका मुख्य सडकहरुमा प्रभावकारी यातायात व्यवस्था र शान्ति सुरक्षा कायम गर्न तथा सामाजिक सुरक्षा लगायतका सेवा सुविधाहरुलाई चुस्त दुरुस्त राख्न सडकबत्ती व्यवस्थापन गर्न अपरिहार्य रहेको छ । त्यस उद्देश्य प्राप्त गर्न र शहरी सौन्दर्य अभिवृद्धि गर्न नगरपालिका क्षेत्रभित्रका मुख्य सडकहरुमा सडकबत्ती जडान गर्न लागेको टोखा नगरपालिकाको नगर प्रमुख प्रकाश अधिकारीले बताएका छन् ।

टोखा नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को चौंथो कार्यपालिका बैठक असोज १८ गतेको कार्यपालिकाको बैठकले स्मार्ट सडक बत्ती जडानका लागि विद्युत प्राधिकरणलाई कुल लागतको ६५ प्रतिशत लगानी हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।

नेपाल विद्युत प्राधिकरण महाराजगञ्ज शाखाले सडक बत्तीको मिटर नगरपालिकाको नाममा प्रदान गर्नेछ । विद्युत महशुल नगरपालिकाले व्यहोर्ने छ । पुरानो तिर्नुपर्ने वक्यौता पनि नगरपालिकाले तिर्दै जाने उल्लेख गरिएको छ । त्यस्तै सडक बत्ती जडानको लागि HT/LT Line Shutdown को व्यवस्था गर्नेछ । त्यस्तै नगरपालिकाको स्वामित्वमा रहेका सोलार बत्ती भएका पोलहरुमा स्मार्ट सडकबत्ती जडान गर्नुपरेमा नगरपालिकाले पुराना बत्ती तथा तार हटाई खाली गरिदिनुपर्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस