आज वि.सं. २०८१ आषाढ २३ गते आइतवार तदनुसार ई. सं. २०२४ जुलाई ०७ तारिख, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२५, शाके १९४६, नेपाल सं. ११४४, किरातवर्ष ५०८४, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४५, चन्द्रोदय : बिहान ०६:१४ बजे र चन्द्रास्त : साँझ ०७:२६ बजे, सूर्योदय : बिहान ०५:१६ बजे र सूर्यास्त : साँझ ०७:०१ बजे, आषाढ शुक्लपक्ष (दिल्लाथ्व) द्वितीया तिथि, भोलि बिहान ०४:३१ बजेसम्म, त्यसपछि तृतीया तिथि, पुष्य (तिष्य) नक्षत्र, (अहोरात्र व्याप्त) चन्द्रमा कर्कट राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कुरा काट्ने र खुट्टा तान्नेहरू सक्रिय हुनेछन्, स्वास्थ्यस्थितिमा पनि असर पर्नसक्छ, त्यसैले आज शारीरिक तन्दुरुस्ती र आहारविहारमा ध्यान दिनुहोला । घरजग्गा, रियलस्टेट, सेयर कारोबार वा कुनै अचल सम्पत्तिको कारोबारमा लगानी गर्ने समय हो, साथै बन्दव्यापारको विकास र विस्तारमा पनि धनव्यय हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
खेलकुद वा शारीरिक तन्दुरुस्तीसम्बन्धी विषयमा रुचि जाग्नेछ, नजानेको कुनै कुरा छ भने पनि मित्र र शुभचिन्तकको साथ/सहयोग प्राप्त हुनेछ । धनधान्य र प्रतिष्ठाका दृष्टिले राम्रो दिन छ, साझेदारीमा कुनै व्यवसाय गर्दै हुनुहुन्छ वा कुनै यात्रामा सँगै निस्कँदै हुनुहुन्छ भने साझेदारलाई आफ्ना विचार, इच्छा र आनीबानीका बारेमा खुलेर बताउनु होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आन्तरिक सम्बन्धका लागि राम्रै दिन छ, तर भेट भएको मौकामा सामान्य कुरामा पनि तर्क वा बहस नगर्नु होला । नौलो विषयमा चासो देखाउनु तथा नयाँ ठाउँमा धन लगानी गर्नु उचित समय छैन, दैनिकी सञ्चालनमा समेत बाधा झेल्नुपर्ने समय छ । नाफाका दृष्टिले राम्रै समय देखिन्छ, तर वाचा पूरा गर्न नसक्नाले सेवाग्राहीको आलोचना खेप्नुपर्ने हुन्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
प्रायः सबै काममा तपाईंकै संयोजकत्व र भूमिका रहने देखिन्छ, तर पनि केही समय व्यक्तिगत खुसी र आन्तरिक आवश्यकताका लागि छुट्याउनु पर्ने हुन्छ । आत्मविश्वास जाग्नेछ, नयाँ कुरो जान्ने उत्सुकता बढ्नेछ, आलस्य नगरी लक्षप्रति उन्मुख भएमा उच्च सफलता हासिल गर्ने दिन हो । महत्त्वाकाङ्क्षा र अदम्य उत्साह जाग्ने दिन हो । अल्छीपन बढ्न सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कुनै काम गर्दै जाँदा कुनै त्रुटि वा कमजोरी पनि हुनसक्छ, अनाहकमा नगरेको कामको अवगालसमेत खेप्नुपर्ने परिस्थिति देखिन्छ । तालमेल र पारदर्शिता राखेर सम्बन्ध राख्नु ठीक हुनेछ, ससाना कुरा पनि लुकाउने वा छल्ने काम गर्नु हुँदैन, नत्र विश्वासको सङ्कट हुनसक्छ । मन उदासीन हुने र जीवनीशक्तिमा कमी भएको अनुभव हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
व्यक्तिगत खुसी, आनन्द र मौजमस्तीका लागि केही समय छुट्याएको राम्रो हुन्छ, लवमेटसँग सम्पर्क राखी बढिरहेको ग्यापलाई हटाउने प्रयास गर्नुपर्छ । नयाँ ठाउँको यात्रा वा नयाँ मित्रको सङ्गतबाट आनन्द लिने समय हो । प्रतिष्ठित व्यक्तिलाई मित्र बनाउन पाउँदा दङ्ग पर्न सक्नुहुन्छ । थालेको काम बीचमा नै अवरुद्ध भएको छ भने फेरि पनि प्रयास गर्ने समय हो।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मिहिनेतले भविष्य सुध्रनेछ, करियर र व्यवसायप्रतिको चासो बढ्नेछ, उच्च शिक्षाका छात्रछात्राले भावी कार्यक्षेत्रका बारेमा जानकारी बटुल्ने दिन हो । प्रतिष्ठा बढ्ने दिन हो, वंश, कुल र पितृपक्षका विषयमा आकर्षण देखिने छ, कार्यक्षेत्रमा पनि वरिष्ठ कर्मचारी प्रसन्न रहनेछन् । अझ बृद्धबृद्धा वा मान्यजनको सेवाचाकरी गरेमा भाग्यबल बढाउन सकिने छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
हाकिम वा सिनियर कर्मचारीबाट स्यावासी पाउने दिन हो । आज घरमा सम्पर्क राखी मातापिताको आशीर्वाद लिएको जाती हुन्छ । साझेदारीको कामबाट फाइदा हुनेछ । धार्मिक र आध्यात्मिक चेतना बढ्नेछ, इमानजमानको ख्याल राख्नु तथा नियमकानूनको पालना गर्नु उचित हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
अस्वस्थ हुनुहुन्छ भने समय निकालेर आराम गर्नु ठीक हुन्छ । खनिज पदार्थ र पुरातात्त्विक चिजबीजको व्यवसायमा फाइदा देखिन्छ । मनोबल र आँतमा कमजोरी देखा पर्नसक्छ, कामधाम र जिम्मेबारीमा मात्र होइन, आफ्नो तन्दुरुस्ती र स्वास्थ्यपक्षको पनि ख्याल राख्नुपर्छ । मनोरञ्जनमा केन्द्रित भइदिनाले पढाइ बिथोलिने दिन हो।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सबैको सहयोग प्राप्त हुनाले ताकेको कामबाट छिट्टै फुर्सद पाइने छ र नयाँ काममा हात हाल्ने मानसिकतासमेत बन्नसक्छ । यो रचनात्मक उर्जाले भरिपूणर् समय हो, प्रियजनसँगको भेटघाटले वातावरण रमाइलो बन्नेछ । भावनामा वहने समय छ, बिर्सने बानीले पनि कतिपय काममा बिलम्ब हुनसक्छ, कामप्रतिको लगावमा कमी आउनाले वरिष्ठ कर्मचारी रिसाउन सक्छन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
घमण्ड र अहङ्कारको उदय हुने समय भएकाले आज आत्मसंयमी र गम्भीर बन्ने प्रयास गर्नुहोला, सोचेजस्तै लाभ प्राप्त गर्न केही समय कुर्नुपर्ने हुन्छ, तर बहस, वादविवाद र तर्कवितर्कमा जीत हुनेछ । शत्रु र प्रतिद्वन्द्वी वरिपरि छन् भन्ने हेक्का राखी काम गर्नुहोला, कुनै विशेष काम गर्नुछ भने तौरतरिका र योजनालाई गोप्य राख्ने प्रयास गर्नुपर्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सन्तान वा सहयोगी कामदारको सहयोग लिएर व्यवस्थापन पक्षको लथालिङ्गलाई मिलाउन प्रयास गरिने छ, बुद्धिकौशल तथा समझदारीले कमीकमजोरी हटाउन सकिने छ । छोराछोरीको क्रियाकलाप र उन्नति/प्रगति देखेर दंग पर्ने तथा सुखानुभूति हुने दिन हो । परिवारजनको सहमति जुट्नाले नचिताएको काम सम्पन्न गर्न सकिने छ ।