आजको पञ्चाङ्ग : वि.सं. २०८१ आषाढ २० गते बिहीवार तदनुसार ई. सं. २०२४ जुलाई ०४ तारिख, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२५, शाके १९४६, नेपाल सं. ११४४, किरातवर्ष ५०८४, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४५, चन्द्रास्त : साँझ ०५:१० बजे र चन्द्रोदय : भोलि बिहान ०३:३४ बजे, सूर्योदय : बिहान ०५:१५ बजे र सूर्यास्त : साँझ ०७:०१ बजे, आषाढ कृष्णपक्ष (तछलागा) त्रयोदशी तिथि, बिहान ०५:३२ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि, भोलि बिहान ०४:३६ बजेसम्म, अन्तिममा अमावस्या/औंसी तिथि (तिथि टुटेको दिन) , मृगशिरा नक्षत्र, भोलि बिहान ०४:१९ बजेसम्म, त्यसपछि आर्द्रा नक्षत्र, चन्द्रमा बृष राशिमा, दिउँसो ०४:२४ बजेसम्म, त्यसपछि मिथुन राशिमा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मानसिक सबलता र आन्तरिक क्षमतामा बृद्धि हुनाले घरपरिवारमा प्रभुत्व जमाउन सकिने छ, तर कुनैकुनै कुराले तपाईंलाई एक्लो र खिन्न बनाउन सक्छ । अभिव्यक्ति, कला र मनोरञ्जनसम्बद्ध विषयमा रुचि जाग्ने समय हो, अझ स्पष्टसँग मानसिक धारणा व्यक्त गरेमा आफ्नो सही पहिचान कायम गर्न सकिने छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आफूलाई ऊर्जावान् र जीवन्त महसुस गर्ने दिन हो । व्यक्तित्व निर्माणका साथै शारीरिक सुगठन र रूप संरचनातर्फ ध्यान केन्द्रित हुनसक्छ । चिन्ता र शङ्कालाई त्यागेर अब नयाँ ढंगले अघि बढ्ने प्रयास गर्नुहोस्, ब्रेक नै भएको छ भने पनि पुनः सम्बन्ध कायम हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
लगानी गर्दा जोखिम र सङ्कटका बारेमा चिन्तन गर्नुहोला, व्यवसाय तर्फ मार्केटिङ, यातायात व्यवसायी र ढुवानीको क्षेत्रमा लाभ लिन सक्नुहुन्छ । व्यस्तता र दौडधूपमा समय बित्नेछ, उता व्ययभार बढ्ने दिन भएकाले तालसाँचो र राखनधरनमा पनि सावधानी र सतर्कता अपनाउने समय हो ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
लगनशीलता र मिहिनेतको पुरस्कार हातपार्ने तथा आत्मविश्वास र सुदृढ लक्ष्यका कारण सफलतातर्फ अग्रसर भइने सुन्दर समय छ । रचनात्मक र सिर्जनात्मक सोचका कारण कार्यक्षेत्रमा अद्भूत परिणाम प्राप्त हुनेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सिनियर्सलाई खुशी बनाउन सकिने छ, कारोबारबाट फाइदा हुने अथवा नोकरीमा प्रशंसा पाउने समय हो, अचानक हातमा धन आइपुग्न सक्छ । लेखन/प्रकाशनको काम, परामर्श सेवा, लेखा सेवा, कन्सल्टेन्सी, वकालत, शेयर मार्केट, कम्प्यूटरसम्बद्ध काम वा वाणीप्रधान कामबाट फाइदा लिने दिन हो ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
धार्मिक/सामाजिक काममा समय दिनुपर्दा बाहिर अलमलिने दिन हो, तर पनि आफ्नो कामप्रतिको लगनशीलताका कारण कारोबारमा कुनै प्रभाव पर्नेछैन । धर्मकर्म वा परोपकारी काममा खट्नु पर्नेछ । समाज र छरछिमेकका काम गर्दा मानसम्मान पाइएला, तर घरपरिवारमा समय दिन नपाउनाले ठास्सठुस्स बढ्ने समय हो ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
स्टाफहरूका माझमा समन्वयको कमी छ भने वैठक राखेर सुलह गरिहाल्नु राम्रो हुन्छ, नत्र गोपनीयता बाहिरिने वा प्रशासनिक समस्या उत्पन्न हुनेछ । मनमा चिन्ता र निराशा बढ्ने दिन हो, त्यस्ता चालचलन र व्यवहारप्रति आफूलाई सजग राख्नुपर्छ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
प्रयास गरेमा मन पिरोल्ने समस्यालाई हल गरी मनको बोझ कम गर्न सकिन्छ । जीवनसाथीले पनि मनको कुरो बुझिदिंदा सन्तुष्टि मिल्नेछ । नयाँ साथी बनाउन पाइने तथा नौलो विषयको जानकारी बटुल्ने दिन हो, मित्रवर्ग र सँगीसाथीको सहयोगमा नजानेको कुनै विषयको ज्ञानसमेत पाउन सकिन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
विवाद, प्रतियोगिता वा प्रतिस्पर्द्धामा सरिक हुँदा चुनौती झेलेर अघि बढ्ने समय हो, योजनाबद्ध तैयारी गरे विजय तपाईंको पोल्टामा हुनेछ । परिवारमा चलिरहेको कुनै असमझदारी वा भ्रमको निवारण हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कल्पना र भावना साकार हुने दिन हो । आफ्ना कुरा थोपर्नेमात्र होइन, लवमेटका कुरा सुनेमा पनि सन्तुष्टि लिन सकिने छ । बुद्धि र विवेकको सन्तुलन कायम राख्न नसकिने पेचिलो समय छ, कुनै कुरामा दुविधा उत्पन्न भएमा सिनियर स्टाफको सल्लाह लिनु बेस हुन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
विश्वासको सङ्कट देखापर्न सक्छ, ससाना कुरामा विवाद हुने भय छ । एकआपसमा कुनै पनि कुरा नलुकाउनु होला । असम्भव आशामा वा जोखिममूलक काममा धन लगानी गर्नु हुँदैन । उता घर/परिवारको बारम्बार याद आउनाले मानसिक तनावसमेत बढ्नसक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
खेलकुद वा शारीरिक तन्दुरुस्तीसम्बन्धी विषयमा रुचि जाग्नेछ, नजानेको कुनै कुरा छ भने पनि मित्र र शुभचिन्तकको साथ/सहयोग प्राप्त हुनेछ । बन्धुवान्धव र छरछिमेकका काममा सघाउनुपर्ने परिस्थिति छ, त्यस्तै खाँचो परेमा उनीहरूबाट सहयोग लिन पनि सकिने छ ।