असार १०, काठमाडौं । टि २० विश्वकप क्रिकेटमा भारतले अस्ट्रेलियासामु २ सय ६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ५ रन बनाएको हो ।
रोहित शर्माले मात्र ४१ बलमा ९२ रन जोडे । मिचेल स्टार्कको बलमा बोल्ड हुनुअघि उनले ७ चौका र ८ छक्का प्रहार गरे । दोस्रो ओभरमा विराट कोहली शून्य रन बनाएर पभिलियन फर्किएका थिए । त्यसपछि ऋषभ पन्त १५ रन बनाएर आउट भए । सूर्यकुमार यादवले १६ बलमा ३१ रन बनाउँदै आउट भए । उनले ३ चौका र २ छक्का प्रहार गरे । शिवम दुवेले २२ बलमा २८ रनको योगदान दिए । उनले २ चौका र १ छक्का हिर्काए । हार्दिक पाण्ड्याले नटआउट रहँदै १७ बलमा २७ रन बनाए । उनले १ चौका र २ छक्का प्रहार गरे ।
अस्ट्रेलियाका लागि मिचेल स्टार्कले ४ ओभर बलिङ गर्दै ४५ रन खर्चेर २ विकेट लिए । मार्कस स्टोइनिसले पनि २ विकेट लिए । तर, उनले आफ्नो चार ओभरमा ५६ रन खर्चिए । जोस हेजलवुडले एक विकेट हात पारे ।
सुपर ८ को समूह १ अन्तरगतको आजको खेलले सेमिफाइनलमा पुग्ने टोलीको सुनिश्चितता गर्नेछ । भारत समूहको शीर्ष स्थानमा रहँदै बलियो स्थितिमा छ । स्थान सुनिश्चित गर्नका लागि अस्ट्रेलियाले भने आजको खेल जित्नै पर्ने दबाबमा छ ।
