आज वि.सं. २०८१ ज्येष्ठ ११ गते शुक्रवार तदनुसार ई. सं. २०२४ मई २४ तारिख, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२५, शाके १९४६, नेपाल सं. ११४४, किरातवर्ष ५०८४, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४५. चन्द्रास्त : बिहान ०५:३६ बजे र चन्द्रोदय : साँझ ०७:०६ बजे. सूर्योदय : बिहान ०५:१३ बजे र सूर्यास्त : साँझ ०६:५० बजे. ज्येष्ठ कृष्णपक्ष (वछलागा) प्रतिपदा÷परेवा तिथि, बेलुका ०७:१४ बजेसम्म, त्यसपछि द्वितीया तिथि, अनुराधा नक्षत्र, बिहान १०:२० बजेसम्म, त्यसपछि ज्येष्ठा नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
पार्टनरको चासो र चिन्तामा मात्र केन्द्रित हुने समय होइन, केही समय आफ्नो मनको खुसी र सुस्वास्थ्यका निम्ति छुट्याएको राम्रो हुन्छ । मनमा अनावश्यक शङ्का र भ्रमको निवास हुने तथा कलहको योग बनेको समय छ, आफैंभित्रका शत्रुलाई चिनेर व्यवहार गर्नु राम्रो हुन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आन्तरिक तिर्सनाको परिपूर्ति हुने दिन हो । पतिपत्नीका बीचमा समझदारी बढ्नेछ । आज कुनै भनुँ भनुँ लागेको कुरा बताउने दिन हो । कला, साहित्य र अभिनयका क्षेत्रमा रुचि बढ्ने दिन हो, तथापि अहिले बाह्य विषयवस्तुमा भन्दा पनि निर्धारित पाठ्यक्रममा ध्यानकेन्द्रित गर्नुपर्ने समय हो । रामरमाइलो र रमझमप्रति मनको आकर्षण रहने सुन्दर दिन छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
स्वार्थका लागि सम्बन्ध गाँसी काम फुत्काउनेहरूसँग सतर्कता अपनाउनु होला, किनभने आज विवादास्पद जिम्मेबारी वहन गर्ने दिन हो । आडम्बर देखाउनु हुँदैन, नत्र सामान्य मानेको विषयलाई प्रमाणित गर्न गाह्रो हुन्छ र बेकारको तर्कबितर्कमा दिन बित्ने परिस्थिति बन्नेछ । सज्जन, विद्वान् र भद्रभलादमीको सङ्गत हुने राम्रो दिन छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आत्मविश्वासमा बृद्धि हुनाले थप सफलता प्राप्त हुनेछ । शिक्षाक्षेत्र, आर्थिक कारोबार, सुनचाँदी जस्ता गहनागुरियाका व्यापारीका लागि राम्रो दिन देखिन्छ । मन कल्पना र भावनामा अलमलिन सक्छ । हरेक समय आत्मिक आनन्द र मानसिक शान्तिका लागि प्रयास गर्ने समय हो । लगनशीलता र परिश्रमको प्रतिफल पाउने समय हो।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
यो जीवनको त्यस्तो चरण हो, जसमा कार्यक्षेत्र र पारिवारिक समस्यालाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्छ । दूरदराजको यात्रा वा वैदेशिक प्रयोजनको कामका लागि प्रयास गर्न अनुकूल समय रहेको छ । मनोरञ्जन र खेलवाडले लक्ष्यप्राप्तिमा कठिनाइ उत्पन्न गर्नेछ, आफ्ना विषयवस्तुमा अरुले अधिकार जमाउन सक्छन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सामाजिक क्षेत्र वा फाल्तु विषयमा केन्द्रित हुँदा कार्यक्षेत्र प्रभावित बन्नसक्छ, तथापि कूटनीतिक बुद्धिको उपयोग गर्दा हाँके÷ताकेका काममा सफल भइने छ । सामूहिक काम वा सामाजिक क्रियाकलापमा संलग्न हुँदा फुर्सद पाइँदैन र लवमेटलाई छुट्टै समय दिन नपाउनाले वैचारिक मतभेद हुनसक्छ । पारिवारिक सुखको पूर्ण अनुभूति हुने दिन हो ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कुरा काट्ने र खिसीट्युरी गर्नेको कमी हुनेछैन, चेलीबेटीको चित्त बुझाउन धौधौ हुनेछ, तर पनि घरपरिवारका सदस्यहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ । परीक्षा वा प्रतियोगिताका दृष्टिकोणले अनुकूल दिन छ । कुनै नौलो विषयको जानकारी लिएमा भविष्यमा राम्रो उपलब्धि लिन सकिने छ । अचानक कुनै मित्रसँग भेटघाट हुने अथवा कुनै नयाँ अवसरको उपयोग गर्ने दिन हो।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मानसिक शान्तिको आभास हुनेछ, पार्टनरले तपाईंको भावना बुझ्नेछन्, कतै एकान्त स्थलमा बसेर भावना साटासाट गर्न र रमाउन पाइने छ । गम्भीर स्वभावको उदय हुने समय छ । एक्लै बस्न र रमाउन मनपर्छ । पारिवारिक जीवन सुखद हुनेछैन । आशावादी हुनु निराशावादी हुनुभन्दा राम्रो हुन्छ । कार्यस्थल र घरपरिवारमा खुसी र उमङ्गको वातारवरण रहेको छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
अल्छीलाग्दो समय छ, तर पनि आज अकर्मण्य र लक्ष्यहीन बन्नु हुँदैन, नत्र सामान्य गल्तीले पनि ठूलो नोक्सानी व्यहोर्ने परिस्थिति बन्नेछ । लगानी गर्दा जोखिम र सङ्कटका बारेमा चिन्तन गर्नुहोला, व्यवसाय तर्फ मार्केटिङ, यातायात व्यवसायी र ढुवानीको क्षेत्रमा लाभ लिन सक्नुहुन्छ । तालमेलमा केही कमी रहने दिन हो ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कमीकमजोरी र असफलताहरू पन्छाउँदै क्षमताअनुरूप परिश्रम गर्नुहोस्, लक्ष्यप्रति केन्द्रित भएर लागी परेमा ठूलो सफलता पाउने दिन हो । नयाँ योजना कार्यान्वयन गर्ने दिन हो, दीर्घ प्रयोजनको लाभमूलक काम अघि सार्ने हो भने योजना बनाउने, साझेदार र मतियारका बीचमा छलफल गर्ने र प्रशासनिक तौरतरिका बुझ्ने समय आएको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कुनै नयाँ विषयवस्तु वा प्राविधिक ज्ञानले आकर्षण गरेको समय छ, परिश्रम गर्ने छात्रछात्राले उत्कृष्ट परिणाम प्राप्त गर्नेछन् । व्यक्तिगत प्रतिष्ठा र वर्चस्व स्थापना गर्न सकिने राम्रो समय छ । राजनीति वा समाजसेवा नै तपाईंको कार्यक्षेत्र हो भने त पदप्रतिष्ठा र सम्मानले तपाईंको प्रतीक्षा गरिरहेको परिस्थिति देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
परहीत र सामाजिक काममा दौडधूप हुनसक्छ । सेवाभावना र धार्मिक स्वभावको उदय हुनेछ । भोगविलास र सांसारिकता प्रतिको मोह घट्न सक्छ । धार्मिक÷सामाजिक काममा समय दिनुपर्दा बाहिर अलमलिने दिन हो, तर पनि आफ्नो कामप्रतिको लगनशीलताका कारण कारोबारमा कुनै प्रभाव पर्नेछैन ।