माघ १७, काठमाडौं । ओपनर आसिफ शेखको शतकका बावजुद प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लब कर्णाली प्रदेशसँग पराजित भएको छ । कर्णालीले राष्ट्रिय प्रतियोगितामा पहिलो पटक विभागीय टोलीलाई हराएको हो ।

जितको लागि २०७ रनको विजयी लक्ष्य पछ्याएको एपीएफ ४४ ओभरमा १८५ रनमा अल आउट भयो । एपीएफलाई जितको लागि ४२ बलमा २२ रन चाहिएको थियो । तीव्र गतिका बलर प्रकाश जैसीले ४ बलमा तीन विकेट लिँदै रोमाञ्चक जित दिलाए । तेस्रो बलमा चन्दन रामलाई १ रनमा क्याच आउट गराए । अर्को बलमा मौशम ढकाल बोल्ड भए । अन्तिम बलमा रमेश कुर्मीलाई बोल्ड गर्दै ऐतिहासिक जित दिलाए ।
एपीएफका ओपनर आसिफ शेखले ११६ बलमा १० चौका र २ छक्कासहित १ सय ८ रनको शतकीय इनिङ खेले पनि जितको लागि पर्याप्त हुन सकेन । उनको प्रधानमन्त्री कपमा दोस्रो शतक हो । यसअघि २०२२ मा कर्णालीविरुद्ध नै १३० रन बनाएका थिए ।
एक समय ९२–६ को अवस्थामा पुगेको एपीएफलाई आसिफ र अमर राउटेलाले ८७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । अमर ७१ बलमा १ छक्कासहित २८ रनमा नट आउट रहे । लोकेश बम ११, सुमित मजर्हन ९, रोहित पौडेल १४, सन्दीप जोरा २ र भुवन कार्की ३ रनमा आउट भए ।
कर्णालीका प्रकाश जैसीले ३ ओभरमा २ मेडनसहित ९ रन खर्चेर ४ विकेट लिए । दीपेन्द्र रावत र युनिस सिंहले २-२ विकेट लिए । दीनेश अधिकारी र दिवान पुनले १-१ विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णली ४४.१ ओभरमा २०६ रनमा अल आउट भएको थियो ।
कर्णालीको जितमा मध्यक्रमका ब्याटर हिमान्शु शाहीले ५० बलमा २ चौका र ७ छक्कासहित ६२ रनको एक आक्रामक इनिङ खेले । अर्जुन घर्ती ७४ बलमा १ चौका र ३ छक्कासहित ५३ रनमा आउट भए । रविन्द्रजंग शाही ३० बलमा ३ चौका र १ छक्कासहित २२ रनमा आउट भएका थिए । दीपेन्द्र रावत २४ बलमा १ चौका र ३ छक्कासहित २७ रनमा आउट भए । दीनेश अधिकारी १९ बलमा ४ चौकासहित १९ र प्रकाश जैसी १० रनमा आउट भए । कर्णालीबाट हिमान्शु ७, रविन्द्र १, अर्जुन र दीपेन्द्रले ३–३ गरि कुल १४ छक्का हानेका थिए ।
एपीएफका मौशम ढकालले ९ ओभरमा २ मेडनसहित ३२ रन खर्चेर ३ विकेट लिए । अमर राउटेलाले ७.१ ओभरमा ४० रन खर्चेर २, भुवन कार्की र रमेश कुर्मीले १–१ विकेट लिए ।