• २०८३ बैशाख १९ गते शनिवार

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी ३२ वर्षपछि पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ४, काठमाडौं । मानव बेचबिखन मुद्दामा फरार रहेका प्रतिवादी ३२ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङ मेत्रावती गाउँपालिका-२ का ५७ वर्षीय वीरबहादुर तामाङ रहेका छन्।

उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले बुधबार ललितपुर महानगरपालिका-१४ तिखेदेवलबाट पक्राउ गरेको हो। उनले एक महिलालाई ब्रुनाइ पठाइदिन्छु भन्दै झुक्याएर २०४७ चैत ३ गते भारतको पश्चिम बंगाल पुर्‍याएको आरोप छ। काठमाडौंबाट लगेर काकडभिट्टा हुँदै पश्चिम बंगालको बागडोरामा पुर्‍याएर बेचेको ब्युरोले जनाएको छ। तामाङले भारतीय नागरिकसँग १० हजार भारतीय रुपैयाँ लिएर ती महिलालाई बेचेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

भारतीय नागरिकले रिक्सामा राखेर लग्दै गरेको बेलामा ती महिला हामफालेर भागेकी थिइन्। भागेर उनी भारतीय प्रहरीको सम्पर्कमा पुगेकी थिइन्। भारतीय प्रहरीले उनलाई काकडभिट्टासम्म पुर्‍याएपछि उनी घर फर्किएकी हुन्।

उनले स्वदेश फर्किनसाथ प्रहरीमा जाहेरी दिएपनि प्रतिवादी तामाङ पक्राउ पर्न सकेका थिएनन्। लामो समयको निगरानी र खोजतलास गर्दा बुधबार पक्राउ परेको प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए।

Sharing

प्रतिक्रिया दिनुहोस