• २०८३ बैशाख २० गते आइतवार

गणेश भगवानको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस

खबर२४ नेपाल पढ्न लाग्ने समय : ४ मिनेट

आज वि.सं. २०८० मङ्सिर १२ गते मङ्गलवार तदनुसार ई. सं. २०२३ नोभेम्बर २८ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४४, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४५, चन्द्रास्त : बिहान ०७:०५ बजे र चन्द्रोदय : साँझ ०५:४३ बजे, सूर्योदय : बिहान ०६:३६ बजे र सूर्यास्त : साँझ ०५:०७ बजे, मार्गशीर्ष कृष्णपक्ष (कछलागा) प्रतिपदा÷परेवा तिथि, दिउँसो ०१:५३ बजेसम्म, त्यसपछि द्वितीया तिथि, रोहिणी नक्षत्र, दिउँसो ०२:१० बजेसम्म, त्यसपछि मृगशिरा नक्षत्र, चन्द्रमा बृष राशिमा, मध्यरात्रीपछि ०२:२५ बजेसम्म, त्यसपछि मिथुन राशिमा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सागसब्जी र चिसोजन्य कारोबारीहरूले राम्रो गर्न सक्नुहुन्छ, आम्दानीको पाटो सहज नै देखिन्छ, तर पनि फुइँ लाउने क्रममा मोटै रकम खर्च हुनेछ । निजी काम वा आन्तरिक खुसीका लागि केही धन खर्च गर्नुपर्ने हुन्छ, तर सोच्दै नसोचेको कुनै ठाउँबाट आकस्मिक लाभसमेत पाउन सक्नुहुन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आत्मबल बढ्ने छ, नयाँ ज्ञान प्राप्त गर्ने वा विगतको सिकाइ अनुभवको प्रयोग गरी अघि बढ्ने समय हो । धन वा प्रतिष्ठाको बृद्धिका लागि चालेका हरेक प्रयास सफल हुनेछन् । आफूलाई ऊर्जावान् र जीवन्त महसुस गर्ने दिन हो । व्यक्तित्व निर्माणका साथै शारीरिक सुगठन र रूप संरचनातर्फ ध्यान केन्द्रित हुनसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मौजमस्ती, आनन्द र रामरमाइलोमा केन्द्रित भइदिंदा आर्थिक सङ्कट बढ्नसक्ने समय छ, दानपुण्यका क्षेत्रमा समेत केही रकम खर्च गर्नुपर्ने हुन्छ । दौडधूप गर्नुपर्ने काम, ढुवानी÷यातायात वा मार्केटिङमा राम्रो छ, तर काममा आफू स्वयं उपस्थित भएमा मात्र लाभ पाइने दिन हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
लक्ष्य प्राप्तिका निमित्त थप परिश्रम गरी लाभ पाउने समय हो । विदेश जाने सपना सँगाल्नु भएको छ भने योजना बनाउँदा शुभ हुनेछ । बौद्धिक सामर्थ्यका आधारमा समान विचारधारा भएका व्यक्तिहरू आकर्षित बन्नेछन्, मित्रताका वा साझेदारीका लागि अनुकूल समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
व्यवसायिक र आन्तरिक जीवनमा तालमेल मिलाउन हम्मेहम्मे पर्नेछ, घरायसी कामको चापसमेत बढ्नेछ, समय निकालेर लवमेटसँग कुराकानी गर्नु बेस हुनेछ । दाजुभाइ, बन्धुबान्धव वा ससुराली पक्षमा सम्पर्क गरी खबर आदान÷प्रदान गर्ने दिन हो, कार्यक्षेत्रमा पनि सहकार्य र रामरमाइलो गर्ने अवसर मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
बौद्धिक र ज्ञानमूलक विषयमा रुचि बढ्ने एवं शुभचिन्तकहरूको साथ पाइने राम्रो दिन छ, सुखद समाचार सुन्न पाउँदा दिन प्रेरणास्पद बन्नेछ । व्यापारबट्टा र आर्थिक क्रियाकलापबाट सदा झैं फाइदा नै हुनेछ, नयाँ ठाउँमा लगानी गर्ने मनसाय छ भने अघि बढ्नु उचित हुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आवेग र रिसरागमा नियन्त्रण राखी खासगरी ड्राइभिङका क्रममा घुम्ती र मोडमा सावधानी अपनाउनु होला । आजको दिन आफूले गल्ती नगरे पनि अरुको लापरवाहीको सजाय व्यहोर्नुपर्ने समय छ । स्टाफहरूका माझमा समन्वयको कमी छ भने वैठक राखेर सुलह गरिहाल्नु राम्रो हुन्छ, नत्र गोपनीयता बाहिरिने वा प्रशासनिक समस्या उत्पन्न हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
कुशल नेतृत्व र व्यवस्थापकीय क्षमताको उपयोग हुनेछ, पारिवारिक जीवन र आत्मिक आनन्दका लागिसमेत उत्कृष्ट समय रहेको छ । पारिवारिक सुखमा कमी देखिंदैन, तथापि आजको कुनै समय वैवाहिक सम्बन्धका सुमधुर पलहरूको स्मृतिमा बित्ने तथा हृदय भावुक बन्नसक्ने दिन हो ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
अनावश्यक चिन्ता सलबलाउने दिन हो, नियमित कामधन्दामा पनि जाँगर लाग्दैन । हरेक काममा सफलता प्राप्त गर्न निकै खट्नुपर्ने समय छ । विवाद, प्रतियोगिता वा प्रतिस्पर्द्धामा सरिक हुँदा चुनौती झेलेर अघि बढ्ने समय हो, योजनाबद्ध तैयारी गरे विजय तपाईंको पोल्टामा हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कल्पना र भावनामा रुमल्लिन सकिन्छ, तर आज कामबाट फुर्सद निकालेर कुनै नजानेको विषयवस्तु र नयाँ ज्ञान सिक्न कोसिस गर्ने समय हो । प्रियजन र आफन्तलाई सरसहयोग गर्ने समय हो, आज पार्टनरलाई खुसी बनाउन संगीत, नृत्य वा कलाको प्रयोग गर्न अनुकूल समय देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सिनियर कर्मचारीको आदेशलाई बेवास्ता गर्नु हुँदैन । थकानको अनुभूति हुने अथवा घरायसी विषय वा प्रेमसम्बन्धको तनावले कार्यक्षेत्रमा प्रभाव पर्नसक्ने दिन हो । परिबन्द र बाध्यतामा खुम्चनु पर्दा मन निरस बन्नसक्छ, चाहँदाचाहँदै पनि पार्टनरको इच्छानुसार समय दिन नपाउँदा झन नरमाइलो लाग्नसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
पारिवारिक वातावरण सुखमय रहनेछ, सँगीसाथीसित भेटघाट गर्दै नयाँ योजना बनाउने समय हो, कहीं कतै भ्रमणमा निस्कने योगसमेत बनेको छ । खेलकुद वा शारीरिक तन्दुरुस्तीसम्बन्धी विषयमा रुचि जाग्नेछ, नजानेको कुनै कुरा छ भने पनि मित्र र शुभचिन्तकको साथ÷सहयोग प्राप्त हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस